नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा १४औं महाधिवेशन कार्यतालिका सार्वजनिक गर्ने जनाउ दिएका छन्।
तत्काल कार्यतालिका सार्वजनिक गर्न माग गरेर वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहले निरन्तर बैठक बहिस्कार गरेपछि देउवाले कार्यतालिका सार्वजनिक गरेर जाने रणनीति बनाएका हुन्।
देउवा समूहका केन्द्रीय सदस्य रमेश रिजालले १४औं महाधिवेशनको मोटामोटी कार्यतालिका बनाउने विषयमा सभापति तयार हुनुभएको जानकारी दिए। ‘पार्टीभित्र देखिएका विवादलाई समाधान गर्न सभापति तयार हुनुभएको छ। पार्टीका सबै विषयलाई मिलाएर लैजाने र कार्यतालिका पनि बनाउने उहाँको तयारी छ,’ उनले भने।
कांग्रेसको मंसिर २६ र २९ गते राखिएका कार्यसमिति बैठक पौडेल समूहले बहिस्कार गरेपछि प्रमुख विषयमा प्रवेश नै नगरी टुंगिएका थिए। ‘अब फेरि बैठक स्थगित गर्ने कुरा हुँदैन, समस्यालाई निकास दिनुपर्छ’, देउवाको भनाई उद्धृत गर्दै रिजालले नेपालखबरसँग भने । अब बुधबार बैठक बस्नुअघि पौडेल समूहका नेताहरुसँग फेरि वार्ता गर्ने र सहमतिको प्रयास गर्ने देउवा समूहको तयारी छ।
तर, मंगलबार दिनभर भएका वार्तामा कुनै निष्कर्ष नआएको भन्दै पौडेल समूहले बुधबारको केन्द्रीय कार्यसमिति बैठकमा पनि उपस्थित नभए अब चाहिँ सभापति देउवाले पेलेरै जाने तयारी गरेका छन्।
देउवापक्षीय एक केन्द्रीय सदस्यका अनुसार पौडेल समूहलाई मनाउने अन्तिम उपाय गर्ने र नमाने बैठक सञ्चालन गरेर जाने तयारी छ।
"सिटौलाले सहयोग गर्ने"
यसैबीच पौडेल समूहसँग निकट रहँदै आएका नेता कृष्णप्रसाद सिटौलाले मंगलबार दिनभर देउवा र पौडेल समूहका दुवैतर्फका नेताहरुसँग सहमतिको प्रयास गरेका थिए।
उनले बुधबारको बैठकमा पौडेल समूह सहभागी हुने र यदि सहमति नभए आफू भने बैठकमा उपस्थित हुने जनाउ दिएको नेता रिजालले दाबी गरे। ‘पौडेल समूहसँग निर्णायक छलफल भएर सहमतिको नजिक पुगेको र उनीहरु सहभागी नभए आफू भने बुधबारको कार्यसमिति बैठकमा उपस्थित हुने भनी सिटौलाले सभापति देउवालाई सन्देश पठाउनुभएको छ,’ रिजालले भने।
तर, पौडेल समूहका केन्द्रीय सदस्य गुरु घिमिरेले सहमति गर्ने विषयमा सभापतिले अडान लिएकोमा आपत्ति जनाए। नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘सभापति जस्तो व्यक्तिले अडान लिने होइन, पार्टीलाई मिलाएर लैजाने हो, असन्तुष्ट पक्षलाई मिलाउने हो तर सभापतिको अडानले कांग्रेसभित्र समस्या बढ्दै गयो।’ नेता घिमिरेका अनुसार सहमतिको प्रयत्न जारी छ। ‘पौडेल समूह पनि मिलनविन्दूको खोजीमा छ सहमति नभई बैठकमा सहभागी हुने कुरा हुँदैन,’ घिमिरेले थपे।
सिटौलाले मंगलबार दिनभर देउवा समूहका नेताहरु र पौडेल समूहका नेताहरुसँग छलफल गरेर समझदारी कायम गर्ने प्रयास गरेपनि सहमति नै भने जुटिसकेको छैन।
यसैबीच रामचन्द्र पौडेल समूहनिकट नेपाल विद्यार्थी संघले आफ्नो समूहलाई ४६ प्रतिशतको भागवण्डा सुनिश्चित नगरे समानान्तर समिति चलाउने चेतावनी दिएको छ।
मंगलबार मध्यबानेश्वरमा बसेको पौडेल समूहको नेविसंघ नेताहरुको भेलाले सभापति शेरबहादुर देउवासँग नेविसंघ सभापतिसहित ४६ प्रतिशत पाउनुपर्ने अडान लिने निर्णय गरेको एक नेताले जानकारी दिए।
भेलामा केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, बद्री पाण्डे र कल्याण गुरुङसहित नेविसंघका पुर्व पदाधिकारी सहभागी थिए। ‘सभापति देउवासँग नेविसंघको कार्यकाल थप गर्दा आफ्नो तर्फबाट ४६ प्रतिशत माग गर्ने र त्यसमा पदाधिकारी समेत पाउनुपर्ने अडान लिने निर्णय गरिएको छ’, भेलामा सहभागी एक सदस्यले भने, ‘यो माग पुरा नभएसम्म अडान कायम राख्ने नभए समानान्तर समिति बनाउनेबारे भेलामा उपस्थित सबैको एकमत रह्यो।’
यसैगरी मंगलबार दिउँसो नै पौडेल समूहनिकट तरुण दलको भेला गरिएको थियो। महामन्त्री शशांक कोइराला निवास महाराजगन्जमा बसेको भेलाले पनि भागवण्डामा सहमति नजनाए समानान्तर समिति निर्माण गरेर जाने निर्णय गरेको तरुण दलका निवर्तमान महासचिव भूपेन्द्रजंग शाहीले जानकारी दिए।
१४औं महाधिवेशनको कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्ने माग राख्दै आएको पौडेल समूहले सोमबारदेखि भने सहमतीय आधारमा क्रियाशील सदस्यता थप गर्नुपर्ने, पार्टी विभागको संख्या बढाउन नहुने लगायतका अन्य मागमा पनि अघि सारेको छ। सभापति देउवा पक्षीय नेताहरुले भने पौडेल समूह भागवण्डा खोजेका कारण कुनै सहमति नभएको आरोप लगाएका छन्।

प्रतिक्रिया