समाज


छोराछोरी सरह बिरुवा हुर्काउँदै नेपाली सेना

छोराछोरी सरह बिरुवा हुर्काउँदै नेपाली सेना

रमेश लम्साल
पुस १, २०७६ मंगलबार १४:३६,

‘छोराछोरी हुर्काउनभन्दा यसलाई धेरै मेहनत लागेको छ। यो त अझै सानो छ, ठूलो बनाउन त अझै धेरै समय लाग्छ’, नेपाली सेनाका हवल्दार यमबहादुर गिरी बताउँछन्। नेपाली सेनाको मकवानपुरस्थित राजदमार बेसक्याम्पमा गिरीलगायतको समूह हरेक बिहान तिनै साना बिरुवा हुर्काउन जुट्छ।

‘देशको सेवामा जुट्दा घर परिवार हेर्न पाइएन भन्ने कुनै गुनासो छैन, यी पनि आफ्नै छोराछोरीजस्तै लाग्छन्। यी साना बिरुवाले पानी पाएनन् कि, ओइलाएकी भन्ने चिन्ता लागिरहन्छ। किराले खालान् भन्ने उस्तै डर पनि छ’, पानी छरिरहेका हवल्दार गिरीले भने, ‘आफैँले ल्याएर उमारेका यी बिरुवा राम्रोसँग हुर्के भने मेरा लागि त्यो नै सबैभन्दा ठूलो खुशी लाग्ने विषय बन्न सक्छ।’

नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्गको सडक क्षेत्रमा पर्ने रुख तथा बिरुवा काटिएका छन्। त्यही काटिएका रुखको सट्टामा रोप्नुपर्ने बिरुवा हुर्काउने काममा नेपाली सेनाका प्रमुख सेनानी सुशीलकुमार कार्कीको नेतृत्वमा एउटा टोली नै परिचालित छ।

सेनाको ८ नं बेस क्याम्प राजदमार र १० नं निजगढमा नर्सरी नै तयार गरिएको छ। नर्सरीमा केही भर्खर उम्रिएका बिरुवा छन् भने केही अन्यत्र सार्न लैजान ठिक्क भएका छन्। ती बिरुवा हुर्काउन खटिएका सेनाका प्रमुख सेनानीदेखि सिपाहीसम्मले आफूले रोपेको, पानी छिटेको र स्याहारसुसार गरेका बिरुवालाई आफ्ना सन्तानभन्दा बढ्ता माया गरेका छन्।

‘हाम्रा लागि यी बिरुवा छोराछोरीभन्दा कुन अर्थमा कम छन्। यी हुर्कदै जाँदा लाग्छ, मेरो घरमा पनि मेरा सन्तान यसैगरी बढिरहेका छन्’, नर्सरीमा काम गरिरहेका गिरीले रासससँको कुराकानीमा भने, ‘मेरा लागि त यी प्राणभन्दा प्रिय छन्।’ ठूला विकास निर्माणको काम अगाडि बढाउँदा निश्चितै रुपमा रुख बिरुवा काटिन्छन्। त्यसको सट्टामा बिरुवा रोप्नैपर्छ, वातावरणीय सन्तुलनका लागि।

देशकै पहिलो र महत्वाकांक्षी परियोजनाको रुपमा रहेको द्रुतमार्गमा हालसम्म १७ हजार ९४९ र भविष्यमा पुल तथा सुरुङ निर्माणको क्रममासमेत हटाउनुपर्ने रुख सङ्ख्या दुई हजार ७० रहेका छन्। ती बिरुवा काटिएपछि एक रुख बराबर २५ बिरुवा रोप्नुपर्ने वन तथा भूसंरक्षण विभागबीच समझदारी भएको छ। सोही समझदारीलाई कार्यान्वयन गर्ने लक्ष्यसाथ सेनाले ७ नं बेसक्याम्प अर्थात राजदमार बेसक्याम्प र निजगढ बेसक्याम्पभित्र दुई वटा नर्सरीमा बिरुवा हुर्काइरहेको छ।

राजदमारमा मात्रै खयर ४० हजार ५९५ वटा , इपिलइपिल १५ हजार ३५५ वटा, सिमल सात हजार ८९५, सिसौ चार हजार ५२०, अमला ५५, अन्य एक हजार ५०० गरी कूल ७० हजार ४२० बिरुवा तयार पारिएको छ। सो बेसक्याम्पमा मात्रै कूल ७० हजार ४२० बिरुवा हुकर्ने चरणमा छन्।

यस्तै निजगढ बेसक्याम्पको नर्सरीमा मात्रै टिक ४९ हजार ४००, खयर ३६ हजार, सिमल चार हजार ५००, सिसौ दुई हजार २००, अमला एक हजार ५००, निम ६००, बेल ५०० र अन्य एक हजार गरी कूल एक लाख १० हजार ७०० वटा बिरुवा नर्सरीमा हुर्कने क्रममा छन्। सेनाले दुई वटा बेसक्याम्पमा गरी कूल एक लाख ८१ हजार १२० बिरुवा अन्यत्र सार्न तयार हुने क्रममा छन्।

सेनाको अनुशासन पनि छँदै छ, त्यसमाथि अपनत्व भएपछि छोटै समयमा विभिन्न प्रजातिका बिरुवा हुर्काउन सकिँदो रहेछ भन्ने पुष्टि सेनाले स्वयं गरेको छ। राजदमार क्याम्पमा नै कार्यरत सिपाही रञ्जित विकले पनि अन्य सहकर्मीसँगै बिरुवाको स्याहारसुसारमा थिए। कतिको गाह्रो छ बिरुवा हुर्काउन राससको प्रश्नमा उनले भने, गाह्रोभन्दा पनि हामी सबैको मेहनत परेको छ। यी बिरुवा बढ्दै गएका छन्, मलाई पनि खुशी दिएको छ।’ मानिसका मात्रै नभई हरेक जीवजन्तुका पनि साना बच्चा धेरैलाई राम्रा लाग्छन्। सेनाको रेखदेखमा उमारिएका विभिन्न प्रजातिका बिरुवा पनि त्यस्तै राम्रा र आकर्षक छन्।

निजगढ बेसक्याम्पमा साना बिरुवामा पानी हाल्दै गर्नुभएका हुद्दा नवराज अर्याललाई पनि नर्सरीमा काम गर्दा खुशी लाग्छ। ‘हरेक दिन बिहानैदेखि हामी यही बिरुवालाई पानी हाल्न खटिन्छौँ, कर साप (प्रमुख सेनानी) पनि हामीसँगै खटिनुहुन्छ, मेहनत परेको हरेक काम आफ्नै हुन्छ नि होइन र?’ अर्यालले भने। सेनाले इपिल, मलेसियन साल, बेल अमला, खयर, सिमल र छिटो बढ्ने बिरुवा हुर्काइरहेको छ। आवश्यकताअनुसार थप बिरुवा पनि उत्पादन गर्ने लक्ष्य राखिएको प्रमुख सेनानी कार्कीले जानकारी दिए।

सेनाले डिभिजन वन कार्यालयबाट उपलब्ध हुने ३१५ हेक्टर सरकारी खाली जग्गाका प्लटलाई आवश्यक फेन्सिङ, सिँचाइ तथा संरक्षणको व्यवस्था गरी आगामी पाँच वर्षभित्र बिरुवा हुर्काइ सम्बन्धित वन डिभिजनलाई हस्तान्तरण गर्ने योजना बनाएको छ। सेनाले त्यसका लागि आवश्यक तयारीस्वरुप नर्सरीमा बिरुवा हुर्काइरहेको हो।

केही समय पहिले सेनाले बारा जिल्लाको कोल्हवी नगरपालिका–८ मा रहेको सहजनाथ साझेदारी वन क्षेत्रमा रहेको ५।६१ हेक्टर खाली क्षेत्रमा पाँच हजार वटा सिमल, शिरीष तथा जामुनको बिरुवा रोपी रेखदेख गरिरहेको छ। गत असोजमा सरकारले सञ्चालनमा गरेको वृक्षरोपण अभियान कै क्रममा ती बिरुवा रोपिएको थियो। यस्तै यही पुस महिनामा पनि बाराकै निजगढ नगरपालिको नागमणि र कछडिया सामुदायिक वन क्षेत्रको ७० हजार खाली जग्गामा एक लाख १० हजार बिरुवा रोप्नका लागि प्रक्रिया शुरु भएको प्रमुख सेनानी कार्कीको भनाइ छ। सेनाले सरकारको आग्रहमा फलफूलका बिरुवासमेत रोप्ने योजना बनाएको छ।

नेपाली सेनाका प्रमुख सेनानी विश्वबन्धु पहाडीका अनुसार द्रुतमार्ग आयोजनामा बिरुवा काट्ने मात्रै नभई संरक्षणमा समेत सेना लागेको छ। ‘हामीले सरकारले तय गरेको नीतिअनुसार नै एक रुख काट्दा २५ बिरुवा रोप्ने लक्ष्यका साथ काम गरिरहेका छौँ’, सोही लक्ष्य पूरा गर्न नर्सरी नै तयार पारेर बिरुवा हुर्काइएको छ।’ नेपाली सेनाको नेतृत्वमा निर्माण भइरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्गमा सडकखण्डको काम चालू आवको अन्त्यसम्म कालोपत्र गर्न सकिने बनाइने छ। यस्तै पुल तथा सुरुङमार्ग निर्माणका लागि प्राविधिक तयारी भइरहेको प्रमुख सेनानी पहाडीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad