आफ्नो टिकट खोसिदिएपछि एमाले नेता भीम रावल अध्यक्ष केपी शर्मा ओलीमाथि खन्निएका छन्।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता रावलले ओलीमाथि आक्रोश पोखेका हुन्।
अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएको अवस्थामा आफूलाई रोक्ने नियतसहित ओलीले टिकट खोसिदिएको भन्दै रावलले आक्रोश पोखेका हुन्।
‘मेरो टिकट षड्यन्त्रपूर्वक खोसियो। यदि सिफारिस हुँदा पनि मैले टिकट पाउँदिन भने पार्टी अध्यक्षलाई किन टिकट दिने? संसदमा अत्यन्त संवेदनशील विषयमा छलफल हुँदा कहिले सहभागी नहुने तर आफूलाई बोल्न मन लाग्दा हामीलाई उपस्थित हुन उर्दी जारी गरिन्थ्यो। करिब दुईतिहाइको प्रधानमन्त्री हुँदा आधा धेरै समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताउनेले उम्मेदवार हुने तर, निरन्तर देशका लागि आवाज उठाउँदै संसदमा सक्रिय हुनेले किन उम्मेदवार हुन नपाउने? किन टिकट खोसिने?’
उनले ओलीले एमालेका दशौँ वर्ष योगदान दिएका नेताहरुलाई गुटका आधारमा टिकटबाट बञ्चित गरिएको बताए। १० भाइका नाममा टिकट नदिएर कत्लेआम गर्न खोजिएको आरोप पनि रावलले लगाएका छन्।
Shares

प्रतिक्रिया