राजनीति


काठमाडौं ८ का ‘स्वतन्त्र’ उम्मेदवार सुमन सायमीलाई लौरो

काठमाडौं ८ का ‘स्वतन्त्र’ उम्मेदवार सुमन सायमीलाई लौरो

नेपालखबर
असोज २६, २०७९ बुधबार २०:१४, काठमाडौँ

काठमाडौं क्षेत्र नम्बर ८ का उम्मेदवार सुमन सायमीले लौरो चुनाव चिन्ह पाएका छन्।

स्वतन्त्र उम्मेदवारका रुपमा मैदानमा खडा भएका सायमीले हाम्रो नेपाली पार्टीसँग सम्झौता गरेर लौरो चिन्ह लिएका हुन्।

गत वैशाखमा सम्पन्न स्थानीय चुनावमा सायमीले काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारका रुपमा उठेर मत प्राप्त गरेका थिए।

यसपटक उनले प्रतिनिधिसभा सदस्यका लागि दाबी गरेका छन्।

स्थानीय चुनावमा बालेन्द्र शाहसँग प्रतिस्पर्धा गरेका सायमीले निर्वाचनको नतिजा आएलगत्तै बालेन्द्रको विजय जुलुसमा सहभागिता जनाएर उनलाई बधाई दिएका थिए।

अहिले उनी बालेन्द्रले पाएकै लौरो लिएर चुनावी मैदानमा खडा हुन आएपुगेका छन्। 

पछिल्लो समयमा काठमाडौंका अवैध संरचना भत्काउने बालेन्द्रको अभियानलाई भने सुमनले आलोचना गर्दै आएका छन्।  सडक विस्तारलाई समर्थन जनाएउ पनि निजी सम्पत्ति भत्काउँदा क्षतिपूर्ति दिइनुपर्ने सायमीको मत छ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा महानगरपालिकाका १३, १५, १९, २०, २३ र २४ नम्बर गरी  ६ वटा वडाहरु समेटिएका छन्। साथै नागार्जुुन नगरपालिकाका वडा नम्बर ४ र ५ पनि यस निर्वाचन क्षेत्रमा समेटिएका छन्।

गत स्थानीय चुनावमा यस निर्वाचन क्षेत्रबाट कांग्रेसले ७ हजार ४६७ मत पाएको थियो भने एमालेले ७ हजार ४४५ मत पाएको थियो। यस क्षेत्रबाट बालेन्द्रको लौरोमा ६ हजार १४५ मत खसेको थियो। 

स्थानीय चुनावमा सुमन सायमीले यस क्षेत्रका ६ वटा वडाहरुबाट सायमीले ४ हजार ८४६ मत पाएका थिए।

बालेन्द्र र सुमनले पाएको मत जोड्दा १० हजार ९९१ पुग्छ। स्थानीय चुनावको यो आँकडा हेर्दा काठमाडौं ८ मा लौरो पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो स्थानमा देखिन्छन्। 

काठमाडौं क्षेत्र नम्बर ८ मा सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका नेता एवं बहालवाला मन्त्री जीवनराम श्रेष्ठ उठेका छन्।

त्यस्तै, नेकपा एमालेका तर्फबाट शिव सुन्दर राज वैद्य उठेका छन्। यहाँ राप्रपाले प्रकाश रिमाललाई उठाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad