कास्की क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका नेता तथा पूर्व पर्यटन राज्यमन्त्री महादेव गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
गुरुङ २०५६ सालमा कास्की क्षेत्र नम्बर ३ बाट विजयी बनेका थिए। अहिले कास्की क्षेत्र नम्बर २ का अधिकांश भूभाग त्यो बेलाको कास्की क्षेत्र नम्बर ३ मा रहेको थियो।
‘कांग्रेसीले आफ्नो चुनाव चिन्हमा भोट हाल्न पाएनन्, आफ्नो मूल्य र मान्यता सबै बिर्सियो, बीपीको आदर्शलाई लत्यायो’, उनले भने, ‘मेरो उम्मेदवारी कांग्रेसलाई सही बाटोमा ल्याउन र आम कार्यकर्ताको रुखमै भोट हाल्ने चाहनाबाट निर्देशित छ।’
नेपाल विदेशीको क्रिडास्थल बनेको बताउने उनी हिन्दुराष्ट्रका पक्षपाती हुन्। कास्की क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता श्रीनाथ बराल उम्मेदवार छन्। एमालेले सो क्षेत्रबाट विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ।
महादेव कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार थिए। तर, उनी पराजित भए। कुनै समय बीपी र कोइराला परिवारको निकट मानिने महादेव पछिल्लो समय राजनीतिबाट किनारा पारिएका नेताहरुमध्ये पर्छन्।
Shares

प्रतिक्रिया