राजनीति


कांग्रेस असन्तुष्ट पक्षको छुट्टै भेला, कार्यसमिति बैठक अन्याैलमा

कांग्रेस असन्तुष्ट पक्षको छुट्टै भेला, कार्यसमिति बैठक अन्याैलमा

सागर न्यौपाने
मंसिर २९, २०७६ आइतबार १०:२४,

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेर वरिष्ठ नेता रामचन्द्र पौडेल समूह छुट्टै भेलामा जुटेपछि कार्यसमितिको बैठकबारे अन्यौल भएको छ।

यसअघिको बैठकसमेत बहिस्कार गरेको पौडेल पक्षलाई आइतबारको बैठकमा सहभागी गराउने सभापति शेरबहादुर देउवाको प्रयासबाट पनि सहमति हुन नसकेपछि आइतबार १ बजेका लागि बोलाइएको बैठक बस्न सकेको छैन।

देउवा निकट नेताहरुले साँझसम्म बस्ने बताएपनि साँझ नै पौडेल पक्षको छुट्टै भेला बोलाइसकिएको छ।

१४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक नभएसम्म बैठकमा सहभागी नहुने अडान लिएको पौडेल समूहले आइतबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक पनि बहिस्कार गरेर भेलाकाे तयारी गरेको हो।

स्रोतका अनुसार आइतबार साँझ शशांक कोइराला निवास महाराजगंजमा पौडेल पक्षको गोप्य भेला राखिएको छ। भेलामा आफू पक्षका सबैलाई उपस्थित हुन आग्रह गरिएको स्रोतले नेपालखबरलाई जानकारी दियो ।

विराटनगर गएका पौडेल भेलाकै लागि आइतबार साँझको उडानबाट काठमाडौं फर्कने तयारीमा छन्। यसअघि मंसिर २५ गते पनि पौडेल समूहको गोप्य भेला महामन्त्री शशांक कोइराला निवास धुम्बाराहीमा बसेको थियो।

सभापति शेरबहादुर देउवाले केन्द्रीय विभागहरुको संरचनात्मक र संख्यात्मक परिमार्जन सम्बन्धी प्रस्ताव अघि सारेर २८ विभागबाट ४१ वटा बनाउने तयारी गरेपछि पौडेल समूहले विहीबार बसेको कांग्रेसको कार्यसमिति बैठक पनि बहिस्कार गरेको थियो।

पौडेल समूहले १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने विषय पहिलो एजेण्डामा समावेश नगरेसम्म सभापतिले डाकेको कुनैपनि बैठकमा सहभागी नहुने निर्णय गरेको केन्द्रीय सदस्य कल्याण गुरुङले बताए।

पौडेल समूहमा महामन्त्री शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौला, पुर्वमहामन्त्री प्रकाशमान सिंह, सुजाता कोइराला, केन्द्रीय सदस्यहरु अर्जुनरसिंह केसी, शेखर कोइराला, रामशरण महत लगायत छन्।

बैठक अनिश्चित

आइतबार १ बजेका लागि तय भएको बैठक बस्न ढिलाइ भएकाे कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए। सभापति देउवा निकट लेखकले भने, ‘असन्तुष्ट समूह (पौडेल पक्ष) सँग वार्ता भइरहेकोले केन्द्रीय कार्यसमिति बैठक बस्न ढिलाई भएको हो, आजै बैठक बस्नेछ।’

आइतबार बस्ने तय भएको कार्यसमिति बैठक सहमतिकै आधारमा बस्ने कांग्रेस सहमहामन्त्री प्रकाश शरण महतले बताए ।

सभापति पक्षीय केन्द्रीय सदस्यहरु निर्धारित समयमैं पार्टी कार्यालय सानेपा पुगिसकेका थिए।

यता असन्तुष्ट समूहसँग वार्ता गरेर निर्णय गर्ने अधिकार पाएका कांग्रेस उपसभापति विमलेन्द्र निधिले सहमतिको प्रयास भइरहेको जानकारी दिए।

बिहीबारको सचिवालय बैठक बहिस्कार गरेपछि पार्टी सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्षसँग वार्ता गर्नको लागि निधिलाई जिम्मेवारी दिएका थिए।

उनले आइतबार विहान महामन्त्री शशांक कोइरालासँग छलफल गरेको बताए । ‘कुरा भएका छन्, गतिरोध हटाउने कुरामा उहाँ पनि सहमत हुनुहुन्छ, निधिले भने, सबै कुरा टुंगो भने लागेको छैन ।’

नेपालखबरसँग कुरा गर्दै निधिले असन्तुष्ट पक्षसँग आफूले पटकपटक छलफल गरेको र सहमति नजिक रहेको बताए। उनले भने, ‘सहमतिको प्रयास अहिले पनि जारी छ, हामी नजिकै पुगेका छौं।’

कार्यसमिति बैठक बहिस्कार गरेपछि कांग्रेस सभापति देउवाले वरिष्ठ नेता पौडेलसँग आफैले भेटवार्ता गरेका थिए भने उपसभापति निधिले प्रकाशमान सिंहसँग भेटवार्ता गरेका थिए ।
शनिबार विहान पौडेललाई भेट्न सभापति देउवा उनको निवास बोहराटार पुगेका थिए। देउवासँगको भेटमा पौडेलले तत्काल महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ।

देउवासँग भेट गरेर पौडेल शनिबार नै विराटनगर गएका थिए। यसअघि सहमतिबिना पार्टी विभागको संख्या बढाउने गरी प्रस्ताव ल्याएपछि पौडेल पक्ष सभापतिसँग असन्तुष्ट रहँदै आएको छ।

निर्धारित मितिमै गर्नुपर्ने महाधिवेशनको प्रक्रिया समेत सुरुवात नगरेकोमा पौडेल पक्ष देउवासँग रुष्ट छ । कांग्रेसको महाधिवेशन यही वर्षको फागुनमा गर्नुपर्ने थियो। तर, त्यसको तयारी नै नगरी सभापति देउवाले मिति पर धकेलेको उनीहरुको आरोप छ ।

महाधिवेशन गर्न ३ महिना मात्रै वाँकी हुँदा विभागको संख्या थप्ने, भातृ संस्थाको अधिवेशन ६ महिनामा सुनिश्चित गर्न नसकेको, पार्टी महाधिवेशनको कार्ययोजना नल्याएको भन्दै पौडेल समूहले नयाँ रणनीति तय गर्न गोप्य भेला गरिरहेका छन्।

मंसिर २५ गतेपनि सभापति देउवाले कार्यसमिति बैठकमा पेश गर्ने एजेण्डा र त्यसबारेको रणनीति बनाउन पौडेल, सिटौला र कोइराला समूहको भेला महामन्त्री शशांक कोइराला निवास धुम्बाराहीमा बसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad