पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुष्पलालले पाँच जनाबाट शुरु गरेको कम्युनिस्ट पार्टी अहिले लोकप्रिय र विश्वासिलो शक्तिका रुपमा स्थापित भएको बताएका छन्।
‘पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी अनेक उकाली–ओराली छिचोल्दै पुनः एकीकृत भएकाले यसको महत्व तथा जिम्मेवारी थप बढेको छ,’ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका नाममा स्थापित पुष्पलाल स्मृति प्रतिष्ठानको शुक्रबार सम्पन्न २५ औँ साधारणसभालाई सम्बोधन गर्दै उनले भने।
कीर्तिपुर नगरपालिका– ४, चम्पादेवी स्मृति प्रतिष्ठानको केन्द्रीय कार्यालयमा आयोजित साधारणभामा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुका साथै प्रदेश तथा जिल्ला शाखाका प्रतिनिधिहरुको सहभागिता थियो । पूर्वप्रधानमन्त्री नेपाल पुष्पलाल प्रतिष्ठानका अध्यक्ष हुन्।
‘जनताको बढ्दो अपेक्षा र भरोसालाई पूरा गर्नका लागि सबै तहका सरकारहरुले पार्टीको घोषणापत्र अनुसार काम गर्नुपर्दछ। सरकार सञ्चालनसम्बन्धी विगतका अनुभवहरुलाई ध्यानमा राख्दै परिवर्तनको अनुभूति गराउने गरी काम गर्न सक्दा हामी जनताका बीचमा लोकप्रिय भइरहन्छौँ,’ नेपालले भने। ‘गुट, टुटफुट र एकताका अनेक श्रृंखला भोग्दै नेपाल कम्युनिस्ट पार्टी आजको अवस्थामा आइपुगेकाले विगतबाट शिक्षा लिँदै र भविष्यका लागि आशावादी बन्दै अघि बढ्नुपर्छ।
साधारणसभामा प्रतिष्ठानका महासचिव गंगालाल तुलाधारले हालसम्म भएका कामहरुको विवरण पेस गर्नुका साथै आगामी बर्षका लागि कार्यक्रमहरु प्रस्ताव गरेका थिए।
उनका अनुसार प्रतिष्ठानले आगामी बर्ष संस्थापक महासचिव पुष्पलालको आधिकारिक जीवनी प्रकाशन गर्ने, पार्टी स्थापनादेखि सबै महाधिवेशनहरुलाई समेत समेटेर ऐतिहासिक तस्वीर संग्रह प्रकाशन गर्ने, निर्माणाधीन पुस्तकालय भवनलाई पूर्णता दिने, रामेछापको भँगेरीमा पुष्पलालको पूर्ण कदको शालिक स्थापना गर्ने, कम्युनिस्ट आन्दोलनका दस्तावेजहरुको छैटौँ संग्रह प्रकाशन गर्ने, मुखपत्रका रुपमा नयाँ जनवाद प्रकाशन गर्ने जस्ता कार्यक्रम तय गरेको छ।
प्रतिष्ठानका सचिव विष्णु रिजालका अनुसार, तीन बर्षमा नेतृत्व चयन हुने प्रतिष्ठानमा साधारणसभा चाहिँ हरेक बर्ष हुने गर्दछ । ०५१ सालमा स्थापित प्रतिष्ठानमा अहिले २३ सदस्यीय कार्यसमिति छ।

प्रतिक्रिया