ad ad

राजनीति


प्रधानमन्त्री हुँदा ओलीले कालापानी, लिम्पियाधुरा समेटिएको पाठ्यक्रम रोके : पोखरेल

प्रधानमन्त्री हुँदा ओलीले कालापानी, लिम्पियाधुरा समेटिएको पाठ्यक्रम रोके : पोखरेल

नेपालखबर
असोज १, २०७९ शनिबार ९:३, धनुषा

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले आफू शिक्षामन्त्री हुँदा ल्याउन खोजेको सार्वजनिक शिक्षा नीतिलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेको आरोप लगाएका छन्।

धनुषाका स्वास्थ्यकर्मी रामकुमार महतोद्वारा लिखित संस्मरणात्मक पुस्तक ‘भूमिगत डाक्टर’ शुक्रबार ढल्केबरमा सार्वजनिक गर्दै उनले एमाले अध्यक्ष ओलीको आलोचना गरेका हुन्।

‘त्यतिबेला कालापानी, लिपुलेक लुम्पियाधुरालाई समेटेर शिक्षा मन्त्रालयले पाठ्यक्रम तयार गरेको थियो’, पोखरेलले भने, त्यसलाई पनि प्रधानमन्त्री ओलीले रोक्ने काम गर्नुभयो।’

उनले अबको २५ वर्षसम्मको नेपालको लागि कस्तो जनशक्ति चाहिन्छ भनेर शिक्षा मन्त्रालयले तयार गरेको रिपोर्ट पनि ओलीले सार्वजनिक गर्नै नदिएको गुनासो गरे।

आगामी मंसिर ४ को निर्वाचन केपी ओलीले सुरु गरेको प्रतिगमनविरोधी संघर्षको महत्त्वपूर्ण चरण भएको दाबी उनले गरे। 

माधव नेपाल र झलनाथ खनालले साहस नगर्दा त्यतिबेला नेकपालाई जोगाउन नसकिएको पनि पोखरेलले बताए। 

‘तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनविरुद्धको संघर्षमा नेता नेपाल र खनालले साहस नगर्दा  नेकपालाई जोगाउन सकिएन। सर्वोच्च अदालतले नेकपा विघटन गर्‍यो’, पोखरेलले भने।

सहिद मुंगालाल (मोहन महतो प्रतिष्ठानले जनयुद्धका सहिद गणेशबहादुर जर्घाको १९औं स्मृति दिवसको अवसरमा कार्यक्रम गरेको हो। 

त्यस क्रममा विभिन्न वक्ताहरूले स्वास्थ्यकर्मी महतोले लेखेको पुस्तक ‘भूमिगत डाक्टर’बारे टिप्पणी गर्दै त्यसको महत्त्वमा प्रकाश पारेका थिए।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य हरिनारायण महतो, साहित्यकार तथा वाम विश्लेषक रोशन जनकपुरी, भूमिगत डाक्टर पुस्तक सम्पादन गर्ने पत्रकार जनार्दन पोखरेल, कांग्रेसका नेता राजलाल महतो, माओवादी केन्द्रका केन्द्रीय सदस्य तारा महतो, धनुषा इन्चार्ज दीपक यादव लगायतले पुस्तकको महत्त्वमाथि चर्चा गरेका थिए।

१० वर्षे माओवादी जनयुद्धको क्रममा देखे भोगेका घटनालाई महतोले पुस्तकमा समेटेका छन्।

राजनीतिसँगै चिकित्सा पेसामा समेत रहेका महतो जनयुद्धको उत्तरार्द्धमा अढाई वर्ष भूमिगत जीवन बिताएका थिए। त्यस क्रममा उनले माओवादीका घाइते लडाकुहरु उपचार गर्ने काम गरेका थिए।

तत्कालिन नेकपा (एकताकेन्द्र) का कार्यकर्ता भएर पनि जनयुद्धमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिन पुगेका महतोले पुस्तकमा जनयुद्धलाई उचाइमा पुर्याउन आफूले निर्वाह गरेको भूमिका, बेहोरेको दुःख (पीडासहितका अनुभूति समेटेका छन्।

पुस्तकमा प्रचण्डलाई भारतको बिहारबाट मोटरसाइकलमा राखेर सर्लाही पुर्याएको, युद्ध चलिरहँदा घाइते लडाकुहरुलाई घटनास्थलमै पुगेर उपचार गरेको जस्ता प्रसंग समेटिएको छ।

तीन सय २० पेज लामो पुस्तक पत्रकार जनार्दन पोखरेलले सम्पादन गरेका हुन् सहिद मुंगालाल मोहन प्रतिष्ठान ढल्केबरले प्रकाशन गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .