NepalKhabar NepalKhabar

ब्लग


प्रचण्डलाई मेरो रेनकोट दिएँ, मोटरसाइकलमा चढाएर अघि बढेँ

प्रचण्डलाई मेरो रेनकोट दिएँ, मोटरसाइकलमा चढाएर अघि बढेँ

रामकुमार महतो


रामकुमार महतो
भदौ २५ ,

२०६० असार २७ गते मातृका यादवले फोन गरेर हामीलाई भारतको जयनगर बोलाउनुभयो। बेंगाडाबर गाविसका तत्कालीन अध्यक्ष गणेशबहादुर जर्घा र मलाई अलग–अलग फोन गरेर उहाँले ‘५–६ वटा मोटरसाइकलसहित भोलि जयनगर आउनू है’ भन्नुभयो।

आधा दर्जन मोटरसाइकल लिएर जयनगर आउनु भनेपछि हामीलाई किन बोलाउनुभएको होला मातृकाजीले भन्ने कौतुहल भयो। गणेशबहादुर जर्घाले मातृकालाई जयनगर आउनु पर्नाको कारण सोध्नुभएछ। उहाँले ‘मधेसको कुनै ठाउँमा मधेसी राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेला राखिएको छ। त्यो भेलालाई चर्चित भारतीय एक विद्वानले पनि सम्बोधन गर्ने कार्यक्रम छ। ती भारतीय विद्वानलाई लिन नै जयनगर जानुपर्ने भएको हो’ भन्ने जवाफ दिनुभएछ। 

युद्धविरामको बेला थियो। आवतजावतमा समस्या थिएन। अघिल्लै दिन भएको सल्लाहअनुसार असार २८ गते बिहान ढल्केवरबाट गणेशबहादुर जर्घा, जागेश्वर महतो, फुलगेन साह र म मोटरसाइकल लिएर जयनगरतिर प्रस्थान गर्यौं। सिरहाको माडर हुँदै जयनगर जाने सल्लाह भएको थियो।

सिरहा पुगेपछि मोटरसाइकल भएका दुईजना पार्टीका साथी पनि हाम्रो टोलीमा थपिए। मोटरसाइकल भएका हामी छ जना भयौँ। सिरहाबाट थपिएका दुईजना जनमोर्चाका कार्यकर्ता थिए।

बाटोमा हामीले को होला मधेसी मोर्चाको भेलालाई सम्बोधन गर्ने भारतीय विद्वान् भनेर छलफल गर्दै गयौँ। गणेशजीले ‘नेपालका माओवादीको कार्यक्रमलाई सम्बोधन गर्न आउने भनेपछि भारतका ठूलै विद्वान होलान् नि’ भन्नुभयो। भारतीय विद्वानले मधेसी मोर्चाको भेलालाई सम्बोधन गरेपछि त्यसले नेपालमा ठूलै तरङ्ग सिर्जना गर्ला भन्ने धारणा गणेशजीले व्यक्त गर्नुभयो।

तर मलाई भने मधेसी मोर्चाको कार्यक्रममा भारतीय विद्वान् आउँदैछन् भन्ने कुरामा विश्वास लागेन। मैले गणेशजीलाई भारतीय विद्वान् आउने हैनन् होला भनेँ। तर गणेशजीले ‘मातृकाजीले भन्नु भएको त्यही हो, पक्का पनि भारतीय विद्वान् नै आउँछन्’ भन्नुभयो। मैले गणेशलाई ‘मामा कतै प्रचण्ड, बाबुराम लगायतका नेता त मधेसमा आउन लागेका हैनन्’ भनेर आफ्नो मनमा लागेको कुरा गरेँ तर उहाँले मेरो अनुमान सही नभएको बताउनुभयो।

हामी दिउँसो ४ बजेतिर जयनगर पुग्यौँ। मातृकाले हामीलाई दिएको सम्पर्क स्थानमा पुग्दा कसैसँग भेट भएन। हामीले चिनेजानेका कोही त्यहाँ थिएनन्। एक/डेढ घण्टा पर्खिंदा पनि कोही सम्पर्कमा आएनन्। मातृकासँग टेलिफोन सम्पर्क पनि भएन। दोस्रो वार्ताका क्रममा म मातृकालाई लिन जयनगर गएको थिएँ। त्यतिबेला उहाँका आफन्तसँग पनि भेट भएको थियो।

निकैबेर बस्दा पनि कोही सम्पर्कमा नआएपछि मातृकाका आफन्तलाई भेटेर खास कुरा के हो बुझ्नुपर्याे भनेर म जयनगरदेखि तीन/चार किलोमिटर दक्षिण सिलानाथबरही भन्ने गाउँमा गएँ। पहिला पनि म त्यहाँ गएको थिएँ। त्यहाँ मातृकाजीका आफन्त पान पसल चलाएर बस्थे। उहाँलाई गएर सोधेँ। उहाँले आफूलाई मातृकाजी यता भए/नभएको आफूलाई केही जानकारी नभएको बताउनुभयो। केहीबेर कुरा गरेपछि म त्यहाँबाट फेरि जयनगर नै फर्किएँ।

त्यसपछि निकैबेर जयनगरमा हामीले पर्खियौँ। त्यहीँ अलमल गरेर बस्यौँ। साँझ पर्नै लागेको थियो, एउटा भारतीय स्कर्पियो जिप हामी नजिक आएर रोकियो। हामी सबैका आँखा जिपतिर सोझिए। जिपमा धेरै जना थिए। मातृका यादव र श्रवण यादवलाई मैले चिनिहालेँ। उहाँहरूसँगै प्रचण्ड, बाबुराम जस्ता देखिने नेता पनि गाडीबाट झर्नुभयो।

त्यतिबेला युद्धविरामको अवस्था थियो तर पनि प्रचण्ड, बाबुराम लगायतका ठूला नेता सार्वजनिक हुनु भएको थिएन। गाडीबाट झर्नेबित्तिकै प्रचण्डले हाँस्दै गणेश जर्घालाई ‘के छ कामरेड हालखबर? धेरै दिनपछि भेटिनुभयो’ भन्नुभयो।

डाक्टर बाबुराम भट्टराई पनि मुस्कुराउँदै गाडीबाट झर्नुभयो। त्यहाँ कोही भारतीय विद्वान् थिएनन्। गाडीबाट झर्ने सबै नेपालका माओवादी नेता थिए। त्यहाँ प्रचण्ड, मोहन वैद्य, बाबुराम, मातृका, श्रवण यादव लगायतका नेता हुनुहुन्थ्यो। उहाँहरू सबैले भारतीय बाहुनले लगाउने दौरासुरुवाल लगाउनु भएको थियो। काँधमा गम्छा भिर्नुभएको थियो। झट्ट हेर्दा उहाँहरू भारतीय जस्तै देखिनुहुन्थ्यो। मातृका त अनुहार पनि मिल्ने भएकाले त्यो पोसाकमा झन् उहाँ ठ्याक्कै भारतीय जस्तै देखिनुहुन्थ्यो।

सुरुमै मधेसी मोर्चाको सम्मेलनमा भारतीय विद्वान् आउनेभन्दा मैले पत्याएको थिइनँ। आफ्नो अनुमान सही ठहरिएपछि म मनमनै धेरै खुसी थिएँ। ठूला नेतालाई एकै ठाउँमा भेट्न पाउँदा खुसी लागेको थियो। मातृका यादवले हाँस्दै मलाई ‘रामकुमारजी तपाईंले भारतीय ठूला विद्वानलाई चिन्नुभएको छ?’ भनेर सोध्नुभयो। मैले पनि चिनेको छु भनेँ। उहाँले उहाँहरू को–को हुनुहुन्छ? ल भन्नुस् त भन्नुभयो। मैले ‘प्रचण्ड, बाबुराम, मोहन वैद्य लगायतका नेता हुनुहुन्छ उहाँहरू’ भनेँ।

मैले मोहन वैद्य र बाबुरामलाई त्यसअघि नै भेटेको थिएँ। उहाँहरूलाई चिन्न समस्या भएन। मातृकाले ‘अहिले पनि उहाँहरू भूमिगत नै हुनुहुन्छ। हामी अहिले पनि गोप्यता कायम राख्छौँ। उहाँहरूलाई अहिले पनि सुरक्षा खतरा छ। त्यसैले यो विषयमा धेरै चर्चा/परिचर्चा गर्नुहुँदैन। उहाँहरू प्रचण्ड, बाबुराम हो भन्ने कुरा कसैले थाहा नपाऊन् है’ भन्नुभयो।

‘युद्धविरामको बेला ठूला नेताको हत्या गरेर आन्दोलन नै तुहाइएका विश्वमा धेरै उदाहरण छन्। त्यसैले यो विषयमा धेरै सचेत हुनुपर्छ है’ भनेर मातृकाले हामीलाई सम्झाउनुभयो।

साँझको झण्डै ८ बज्न लागेको थियो। नेताजी भारतीय गाडी चढेर माडरको नेपाल–भारत सीमा क्षेत्र नजिक आउनुभयो। त्यहाँबाट भारतीय गाडी छाडेर सबै नेता हाम्रो मोटरसाइकलमा चढ्नुभयो। त्यति नै बेला पानी पर्न थाल्यो। बर्खाको बेला पानी पर्न सक्छ भनेर हामीले ढल्केवरमै रेनकोट किनेका थियौँ। मसँग भएको रेनकोट मैले प्रचण्ड कमरेडलाई लगाउन दिएँ। जागेश्वरले आफ्नो रेनकोट बाबुराम भट्टराईलाई लगाउन दिनुभयो। अन्य साथीले पनि आआफ्ना रेनकोट नेतालाई लगाउन दिए।

मोटरसाइकलमा हिँड्नुअघि प्रहरी प्रशासनले बाटोमा रोकेर केही सोधपुछ गर्याे भने सबैले ‘भारतमा केटी हेरेर आएको भन्नुपर्छ है’ भन्ने सल्लाह हामीबीच भयो। ६ वटा मोटरसाइकल लहरै हिँडाउने। सबैभन्दा अगाडिका तीन वटा मोटरसाइकलमा तीन ठूला नेता चढ्ने। पछाडि हिँड्ने तीन मोटरसाइकलमा अन्य नेता चढ्ने तर बाटोमा कसैले मोटरसाइकल रोक्न खोज्यो भने अगाडिका तीन मोटरसाइकल स्लो गरेर रोक्न खोजे जस्तो गर्ने तर नरोक्ने। पछाडिका तीन मोटरसाइकल चाहिँ रोक्ने सल्लाह भयो। प्रचण्ड, मोहन वैद्य र बाबुराम चढेको मोटरसाइकल चाहिँ रोक्दै नरोक्ने सल्लाह भयो।

आफ्नो मोटरसाइकलमा म कमरेड प्रचण्डलाई चढाउन चाहन्थेँ। उहाँलाई मैले अघि नै रेनकोट लगाउन दिइसकेको थिएँ तर मातृकाले मेरो मोटरसाइकलमा प्रचण्डलाई चढ्न दिनुभएन। मेरो मोटरसाइकलमा प्रचण्ड चढ्नुभयो भने केही गफ गर्न पाइएला कि भन्ने आशा मलाई थियो। मातृकाले मेरो मोटरसाइकलमा मोहन वैद्यलाई चढाउनुभयो। प्रचण्ड जागेश्वरको मोटरसाइकलमा चढ्नुभयो। बाबुराम सिरहाका साथीको मोटरसाइकलमा चढ्नुभयो। बाँकी नेता अरू मोटरसाइकलमा चढ्नुभयो।

सिरहा सदरमुकामबाट हामी मूल सडक छाडेर मिर्चैया निस्कने शाखा बाटोबाट अघि बढ्यौँ। बाटोमा जताततै पानी जमेको थियो। पानी जमेको खाल्डाखुल्डीमा जोगिएर मोटरसाइकल चलाउनुपर्थ्याे। नत्र नेताजीसँगै आफू पनि हिलोमा पछारिने डर थियो। मोहन वैद्य दुब्लो मान्छे, बाटो कच्ची र हिलो भए पनि उहाँलाई लिएर हिँड्न मलाई खासै समस्या भएन।

मिर्चैया निस्किएपछि हामी सबै एकै ठाउँमा जम्मा भयौँ। त्यहाँ रोकिएर सानो सरसल्लाह भयो। पूर्वपश्चिम राजमार्गमा हिँड्दा सेना, प्रहरीले चेक गर्न सक्छन्। सचेत हुनुपर्छ है भन्ने सल्लाह भयो। मोटरसाइकलमा हिँड्दा कसैले पनि गफ नगर्ने सहमति भयो। मिर्चैयाबाट पश्चिम लाग्नुअघि मातृकाले नेतालाई पहिला आएको भन्दा फरक मोटरसाइकलमा चढ्न भन्नुभयो।

मेरो मोटरसाइकलमा कमरेड प्रचण्ड चढ्नुभयो। आफ्नो मोटरसाइकलमा प्रचण्डलाई चढाउन पाएकोमा मलाई धेरै गर्व लाग्यो। अगाडि मधेसी अनुहार हुँदा सडकमा सेना, प्रहरीले खासै चेक नगर्लान् भनेर मातृकाले सबैभन्दा अगाडि मलाई नै हिँड्न भन्नुभयो। मिर्चैयाबाट हिँड्दा राति ९ बजिसकेको थियो।

म प्रचण्डलाई लिएर अघि बढेँ। अन्य पाँच मोटरसाइकल मेरो पछि लागे। युद्धविराम भएकाले सेना प्रहरीको चेकजाँच कम थियो तर पूरै ढुक्क हुने अवस्था भने थिएन। आफ्नो मोटरसाइकलमा राष्ट्रकै चर्चित नेता प्रचण्डलाई चढाउन पाउँदा मनमा रमाइलो भइरहेको थियो। गोदार आइसकेपछि प्रचण्डले, साथी यो गोदार होइन? भनेर मलाई सोध्नुभयो। मैले हो कमरेड भनेँ। ‘यहाँ आफन्तको घर छ, एक पटक म यहाँ आएको थिएँ’ भन्नुभयो उहाँले।

मलाई ‘तपाईं के पेसा गर्नुहुन्छ’ भनेर पनि सोध्नुभयो। मैले आफू स्वास्थ्यकर्मी भएको भन्दै ठाउँ ठेगाना बताएँ। मोटरसाइकलमा प्रचण्डसँग गफ गरेको त्यति नै हो। बाँकी सबै समय नबोली मैले मोटरसाइकल चलाइरहेँ। धारापानीमा सेना सडकभरि देखिए। ब्यारेकबाट सबै सेना गस्तीका लागि सडकमा निस्किएका रहेछन्। सेनाले रोक्ने हुन् कि भन्ने डर मनमा लाग्दै थियो तर त्यहाँ सेनाले कुनै अवरोध गरेन। हामी आफ्नो गतिमा अघि बढिरह्यौँ।

हामी झण्डै साढे १० बजे ढल्केवर आइपुग्यौँ। ढल्केवरमा होटल खुलै थिए। मैले धनकुटे होटल अगाडि मोटरसाइकल रोकेँ। तर मातृकाले होटलमा खाना नखाने भन्नुभयो। उहाँले अगाडि बढौँ भन्नुभयो। मैले आफ्नो घरमा गएर खाना खाउँन त भनेँ। मातृकाले हुँदैन, जमुनिवासमै गएर खाने, उतै जाऊँ भन्नुभयो। ढल्केवरबाट जमुनिवास गणेश जर्घाको घरमा पुगेर हामी रोकियौँ। त्यहीँ खाना खाने सल्लाह भयो।

तर राति ११ बजे के खाने? खाना खाने कुनै पूर्वतयारी पनि थिएन। खाना बनेको थिएन। मैले आफ्नो घरमा आँप, कटहर र दूध छ, त्यो लिएर आउँछु। यहाँ रोटी बनाउँदै गर्नू। आज आँप, कटहर, दूध र रोटी खानुपर्छ भनेँ। मेरो कुरा सुनेपछि बाबुरामजीले ‘आँप, कटहर र दूध भएपछि रोटी पर्दैन। रोटी नबनाऊ। आँप, कटहर र दूध खाएपछि हुन्छ’ भन्नुभयो। अरूले पनि उहाँको कुरामा सही थाप्नुभयो। रोटी नबनाउने सल्लाह भयो। म घर आएर आँप, कटहर र दूध लिएर गएँ। सबैले त्यो राति आँप, कटहर र दूध मात्रै खानुभयो।

खाना खाइसक्दा राति झण्डै १२ बजेको थियो। त्यसपछि कता सुत्ने भन्ने सरसल्लाह भयो। गणेश जर्घाले प्रचण्ड र बाबुरामलाई जमुनिवासदेखि १ किलोमिटर दक्षिण महेन्द्र महतोको घरमा सुत्ने व्यवस्था मिलाउनुभयो। घर धनी महेन्द्र महतो भने त्यो दिन घरमा हुनुहुन्थेन।

उहाँ कतै आफन्तको घरमा जानुभएको रहेछ। परिवारका अन्य सदस्यसँग कुराकानी गरेर प्रचण्ड र बाबुरामलाई त्यहाँ सुत्ने व्यवस्था मिलाइएको थियो। भुइँ तलामा खाटमा लगाइएको सामान्य ओछ्यानमा प्रचण्ड र बाबुराम सुत्नुभयो। जनसेनाका रोहितको नेतृत्वमा त्यहाँ केही साथीले नेताको सुरक्षाको जिम्मा लिए।

मोहन वैद्य जमुनिवासकै पुराना कम्युनिस्ट नेता असबहादुर गुर्मछानको घरमा सुत्नुभयो। मातृका यादव र श्रवण यादव गणेश जर्घासँगै सुत्नुभयो। मातृका र श्रवण त्यतिबेला खुलेआम रूपमै हिँड्नुहुन्थ्यो। सबै नेतालाई टाली लगाएको सामान्य घरमा सुत्ने व्यवस्था मिलाइयो। असार २९ गतेदेखि मधेसी मोर्चाको सम्मेलन सर्लाहीको चुरे क्षेत्रमा पर्ने कालिञ्जोर गाविसको तोरीबारी भन्ने ठाउँमा हुने कुरा थियो। बिहानै तोरीबारीतर्फ लाग्ने सल्लाह गरेर हामी सुत्यौँ।

भोलिपल्ट बिहान भीषण पानी पर्याे। बिहानै हिँड्न सकिएन। राति अबेला पुगेकाले वरपरका कसैले पनि माओवादीका ठूला नेता आफ्नो गाउँमा आएको थाहा पाएका थिएनन्। बिहान नेताले नित्यकर्म गर्दा भने वरपरका छरछिमेकले देखेछन्। को होलान् यिनीहरू? स्थानीय सबैलाई खुल्दुली भएछ। प्रचण्डले बिहान सबैसँग सहज ढङ्गले गफगाफ र आफ्नो नित्यकर्म गर्नुभयो। उहाँलाई प्रचण्ड भनेर त्यहाँका कसैले पनि चिनेनन्।

बाबुरामले भने ब्रस गर्दा, ट्वाइलेट जाँदा, बाहिरभित्र गर्दा गम्छाले मुख छोप्नुभयो, कसैसँग बोल्नुभएन। त्यहाँ नजिकै मेरा मामा तेजिलाल महतोको घर थियो। बिहान बाबुरामले मुख छोपेर बाहिर निस्कँदा उहाँलाई यी मान्छे को होलान्? चिन्न पाए पनि हुन्थ्यो भन्ने लागेछ। मुख छोपेको देखेपछि मेरा मामा झन् नजिक गएर बाबुरामलाई चिन्ने प्रयास गर्नुहुँदोरहेछ तर कोही नजिक गयो भने बाबुराम झन् मुख छोप्ने गर्नुहुन्थ्यो।

बिहान ९ बजेतिर माओवादीका नेता भरत साहले जिल्ला वन कार्यालयको गाडी लिएर आउनुभयो। सरकारी गाडीलाई प्रहरी प्रशासनले पनि वास्ता नगर्ने भएकाले नेताका लागि सरकारी गाडीको व्यवस्था गरिएको थियो। त्यतिबेला रामकुमार शर्मा वन कार्यालयको कर्मचारी हुनुहुन्थ्यो। उहाँले नै माओवादीका ठूला नेता चढ्न सरकारी गाडीको व्यवस्था मिलाउनुभएको थियो। प्रचण्ड, मोहन वैद्य र बाबुराम भट्टराई त्यही गाडी चडेर तोरीबारीतर्फ लाग्नुभयो। मातृका यादव, श्रवण यादव लगायतका नेता अन्य ढङ्गले गन्तव्यतर्फ लाग्नुभयो।

नेता हिँडेपछि स्थानीयले उहाँहरू को हुनुहुन्छ भनेर हामीलाई सोध्न थाल्नुभयो। मैले उहाँहरू माओवादीका ठूला नेता भएको बताएँ। मामा तेजिलालले मुख छोप्ने मान्छे त डा. बाबुराम भट्टराई जस्तै थिए। हो कि होइन भनेर सोध्नुभयो। मैले हो भनेँ। मामाले त्यति ठूला नेता आउँदा हामीलाई किन केही नभनेको भन्दै गुनासो गर्नुभयो। मैले बाबुराम मात्र होइनन्, प्रचण्ड, मोहन वैद्य सबै थिए, भनेँ। मेरा कुरा सुनेर मामा झन् रिसाउनुभयो।

‘हामीचाहिँ माओवादी भनेपछि मरिहत्ते गर्छौं, जीउज्यान दिएर लागि परेका छौ, तपाईंहरू चाहिँ त्यति ठूला नेता आउँदासमेत हामीलाई जानकारी नदिने। हामी उहाँहरूलाई स्वागत गर्ने थियौँ, खाना बनाएर खुवाउने थियौँ’ भन्न थाल्नुभयो। मैले धेरै हल्लाखल्ला गर्न नमिल्ने भएकाले तपाईंहरूलाई नभनेको नरिसाउनूस् भनेर सम्झाएँ।

केही समयपछि प्रचण्ड र बाबुराम बास बसेको घरका घरधनी महेन्द्र महतो आइपुग्नुभयो। उहाँ अघिल्लो दिनै आफन्तकहाँ जानुभएको रहेछ। घर फर्कंदा आफ्नो घरमा राति प्रचण्ड र बाबुराम बास बसेको सुन्दा उहाँले अचम्म मान्नुभयो ‘त्यति ठूला नेतासँग भेटघाट गर्न नपाएको, आफू घरमा नभएको बेला नेता आउनुभएछ। मैले उहाँहरूलाई सहयोग गर्न पाइँन। म अभागी रै’छु भन्दै गुनासो गर्नुभयो।

नेता गइसकेपछि हामी मोटरसाइकल लिएर तोरीबारीतर्फ लाग्यौँ। त्यतिबेला म जनमोर्चा, नेपालमै थिएँ। मातृकाले तपाईं पनि स्वास्थ्यकर्मीको नाताले मधेसी मोर्चाको सम्मेलनमा सहभागी हुनुपर्छ भनेकाले म सम्मेलनमा जाँदै थिएँ। महोत्तरीको खयरमारा हुँदै सर्लाहीको कालिञ्जोर गाविसको तोरिबारी जानुपर्ने थियो। बर्खाको बेला भएकाले पानी पर्ने, रोकिने गर्दै थियो। तैपनि हामी आ आफ्ना सवारीसाधनमा गन्तव्यतर्फ अघि बढ्यौँ। खयरमारामा पुगेपछि मोटरसाइकल थन्क्यायौँ। त्यहाँबाट उता मोटरसाइकल जाने बाटो थिएन।

लगभग २० जनाको हाम्रो टोली खयरमाराबाट पैदलै अघि बढ्यो। कालिञ्जोर हो कि बाँके कुन खोला हो। त्यो खोलैखोला हामी हिँड्यौँ। बाटोमा जयकृष्ण गोइत, उपेन्द्र यादव, रामकुमार शर्मा, शिला यादव लगायतका नेतासँग भेट भयो। त्यतिबेला उपेन्द्र यादव मधेसी जनअधिकार फोरमको अध्यक्ष हुनुहुन्थ्यो।

फोरममा जनमोर्चा, माओवादी लगायतका कम्युनिस्ट पार्टीका मधेसी बुद्धिजीवी आबद्ध थिए। म पनि मधेसी जनअधिकार फोरमको सदस्य थिएँ। रामरिझन यादव, मातृका यादव लगायतका नेताले बस्न आग्रह गरेकाले म फोरममा आबद्ध भएको थिएँ। जनमोर्चाका नेता रामरिझन त फोरमका संस्थापक नै हुनुहुन्थ्यो।

बाटोमा जाँदा उपेन्द्र यादव, रामकुमार शर्मा लगायतका नेतासँग राजनीतिक विषयमा छलफल भयो। रामकुमार शर्माले मलाई मितज्यू भन्नुहुन्थ्यो। रमाइलो गफ गर्दै गयौँ। हिलाम्मे बाटो, खोला खोल्सीमा लड्दै पड्दै हामी गन्तव्यतर्फ अघि बढ्यौँ। कतै घर भेटिँदा पानी पर्याे भने हामी ओत लाग्थ्यौँ। खयरमाराबाट तोरीबारी पुग्न हामीलाई झण्डै ६ घण्टा लाग्यो। बाटोमा पानी पर्न थालेपछि हामी एउटा घरमा ओत लाग्यौँ। त्यहाँ कमरेड उपेन्द्र यादवसँग मधेसको विषयमा लामो कुराकानी भयो। उहाँले मधेस र मधेसी जनताको अवस्थाको विषयमा धेरै महत्त्वपूर्ण कुरा गर्नुभयो। उहाँले त्यहीँ मलाई मधेस सम्बन्धी एउटा पुस्तक पनि दिनुभयो। त्यो उहाँ आफैँले लेखेको पुस्तक थियो। त्यो पुस्तक पढेपछि वास्तवमा उहाँ नेपालमा मधेस र मधेसी जनताको इतिहासको विषयमा धेरै अध्ययनशील हुनुहुँदोरहेछ भन्ने मलाई लाग्यो।

स्थानीय साथी तोरीबारी आइपुग्नैलाग्यो भन्दै थिए। खोला क्रस गरेर माथि उक्लनै लाग्दा हामीले जङ्गलको बीचमा कम्ब्याट ड्रेस लगाएका, हतियार बोकेका सेना देख्यौँ। हतियार सहितको सेना देख्दा हाम्रो टोलीका सबै डराए। कतिपय साथी अगाडि नबढी बीचमै रोकिए। हामीलाई शाही सेनाले घेरा पो हाल्यो कि क्या हो भनेर हामी डराएका थियौँ तर ती शाही सेना नभएर जनसेना रहेछन्। नजिकै पुगेपछि मात्र हामीले वास्तविकता थाहा पायौँ।

उनले लाल सलाम कमरेड भन्दै हामीसँग हात मिलाए। हामीलाई स्वागत गरे। कार्यक्रम स्थलको सुरक्षाका लागि त्यहाँ वरपर ५०–६० जना जनसेना रहेछन्। मैले जीवनमा पहिलो पटक जनसेना भेटेको थिएँ। जनसेना भेट्दा गौरव अनुभूति भयो। तोरीबारीमा पुग्दा एउटा घरमा नेता पनि भेटिए। नजिकै कार्यक्रम स्थल थियो।

चुरेको बीचमा ४–५ बिघा जति सम्म परेको ठाउँ रहेछ। साँझ पर्नै लागेको थियो। त्यो दिन कार्यक्रम भएन। आयोजकले भोलिपल्ट बिहान ८ बजेदेखि कार्यक्रम हुने कुरा गरे।

कार्यक्रमस्थल अग्लो ठाउँमा थियो। त्यहाँ वरपर एक/दुई वटा ठूला घर थिए। त्यहीँ नजिक अग्लो ठाउँमा पाल टाँगेर बस्ने व्यवस्था मिलाइएको रहेछ। वरपर एक/डेढ सय जनसेना थिए। रकेट लन्चर लगायतका अत्याधुनिक हतियार सहितका जनसेना सुरक्षाका लागि तैनाथ थिए। वरपर विभिन्न कोटेसन लेखिएका राता ब्यानर टाँगिएका थिए। डाँडामा अस्थायी ट्वाइलेट बनाइएको रहेछ। जहाँ ट्वाइलेट गर्दा साेझै बगेर तल खोलामा पुग्थ्यो। वरपरको वातावरण साह्रै रमाइलो थियो। त्यो दिन बेलुका सबै थाकेर कार्यक्रम स्थलमा पुगेका थिए। भोलिपल्ट बिहान मात्र कार्यक्रम सुरु हुने भएकाले त्यो दिन सबैले गफगाफ गरे, थकाई मारे। अन्य तयारी भयो। हामी सबैले त्यहीँ खाना खायौँ र सुत्यौँ।

भोलिपल्ट बिहान ८ बजेदेखि मधेसी राष्ट्रिय मुक्ति मोर्चाको कार्यक्रम सुरु भयो। प्रचण्ड, मोहन वैद्य, बाबुराम, मातृका, जयकृष्ण गोइत, उपेन्द्र यादव लगायतका नेता मञ्चमा बस्नुभयो। त्यो सम्मेलनको सञ्चालन सिरहाका राजेश भनिने रामचन्द्र यादवले गर्नुभएको थियो। जो पछि जयनगर–जनकपुर रेलवेको महाप्रबन्धक हुनुभयो।

त्यतिबेला जयकृष्ण गोइत मधेसी मोर्चाको अध्यक्ष हुनुहुन्थ्यो। मञ्चमा बसेका सबै नेताले भेलालाई सम्बोधन गरे। मधेसको समस्याका विषयमा सबैभन्दा राम्रो बाबुरामले बोल्नुभयो। बाबुरामले २–३ घण्टा नै बोल्नुभयो होला। मधेसको विषयमा बाबुरामले जति राम्रो त्यहाँ उपस्थित मधेसी नेताले पनि बोलेनन्। मूलतः उहाँ पार्टीभित्र त्यस विषयको व्याख्ता नै हुनुहुन्थ्यो।

त्यो भेलाले मधेसी मोर्चाको केन्द्रीय समिति पुनर्गठन गर्याे। जयकृष्ण गोइतलाई हटाएर भेलाले मातृका यादवको अध्यक्षतामा मधेसी मोर्चाको ३३ सदस्यीय केन्द्रीय समिति बनायो। मधेसी मोर्चाको भेला भने पनि त्यहाँ ५० जनाभन्दा बढी मधेसीको उपस्थिति थियो। त्यसअघि सर्लाहीकै कुनै ठाउँमा भएको मधेसी मोर्चाको पहिलो सम्मेलनले मातृका यादवलाई मधेसी मोर्चाको केन्द्रीय अध्यक्ष बनाएको थियो। मातृका यादव पक्राउ परेपछि जयकृष्ण गोइत सङ्गठनको अध्यक्ष बन्नुभएको थियो।

कार्यक्रम सकिएपछि अध्यक्ष प्रचण्डले कोठामा बोलाएर गणेश जर्घासँग छुट्टै कुराकानी गर्नुभयो। त्यतिबेला गणेश जर्घा धनुषा पार्टीको प्रवक्ता हुनुहुन्थ्यो। करिब आधा घण्टा उहाँहरू दुईबीच मात्रै कुराकानी भयो। पछि गणेश जर्घाले प्रचण्ड सँगको छलफलमा मलाई पनि बोलाउनुभयो। गणेश जर्घाले नै मेरो पेसा, मैले पार्टीलाई गरिरहेको सहयोग जस्ता विषयमा प्रचण्डलाई सुनाउनुभयो।

मेरो विषयमा गणेश जर्घाले सुनाएको कुराबाट प्रचण्ड खुसी हुनुभयो। नेतालाई हामीले मोटरसाइकलमा ल्याएको प्रसङ्ग पनि प्रचण्डले झिक्नुभयो। हामी तीन जनाबीच त्यहाँ धनुषामा माओवादीको अवस्थाको विषयमा लामो कुराकानी भयो। उठ्ने बेलामा प्रचण्डले रमाइलो पाराले ‘हिँड्न सकिँदैन होला, फर्किंदा पनि रामकुमारजीकै मोटरसाइकल चढ्नुपर्ला’ भन्नुभयो।

त्यहाँबाट बिदा हुने बेलामा कालिञ्जोर खोलामा मातृका यादवले प्रचण्ड, मोहन वैद्य, बाबुराम लगायतका नेतालाई धोती, कुर्था र गम्छा उपहार दिनुभयो। रमाइलो माहौलमा त्यहाँबाट हामी बिदा भयौँ। कार्यक्रम सकिएको दुई/चार दिनपछि प्रचण्डसहितका माओवादी नेता सर्लाहीको कालिञ्जोरमा आएर मधेसी मोर्चाको कार्यक्रममा सहभागी भएको चर्चा ढल्केवर क्षेत्रमा खुबै चल्यो।

ढल्केवरका एक प्रहरीले म भएको ठाउँमा आएर ‘प्रचण्डसहितका माओवादी नेता ढल्केवर हुँदै सर्लाही गएको तपाईंहरूले थाहा पाउनुभयो भनेर सोधे। मैले ‘अहँ थाहा नै पाइनँ मैले त’ भन्ने जवाफ दिएँ। उनले ‘प्रचण्डसहितका माओवादी नेता जमुनिवासमा बास बसेर बोलबमको गाडी चढेर सर्लाही गएको हामीले थाहा पाएका थियौँ’ भन्ने गफ दिए।

माओवादी नेता सबैले पहेँलो वस्त्र पहिरिएका थिए भन्नसमेत उनले भ्याए। ‘तिमीहरू त्यही पार्टीको मान्छे भएर पनि केही थाहा पाएनछौ’ भनेर मलाई व्यङ्ग्यसमेत गरे। उनका हावादारी गफ सुन्दा मलाई हाँसो लागेको थियो।

तोरीबारी भेलाले जयकृष्ण गोइतलाई मधेसी मोर्चाको अध्यक्षबाट हटायो। उहाँलाई सङ्गठनको सल्लाहकार बनाइयो। त्यहाँ कसैले पनि त्यसको विरोध गरेनन्। जयकृष्ण गोइत स्वयंले पनि त्यस विषयमा केही बोल्नुभएन। कार्यक्रम सकियो। सबै आआफ्ना बाटो लागे। फर्कंदा बाटोमा जयकृष्ण गोइतले सम्मेलनको निर्णयप्रति तीव्र असन्तुष्टि व्यक्त गर्नुभयो। आफूलाई अध्यक्षबाट हटाएकामा उहाँले विरोध गर्नुभयो।

‘एमालेमा काम गर्दै गरेको मलाई मातृकाले फकाएर माओवादी बनायो। अहिले अलपत्र पार्याे, मलाई स्थान दिइएन’ भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो। ‘कि मलाई पार्टीको केन्द्रीय सदस्य बनाउनुपर्थ्याे, होइन भने मोर्चाको अध्यक्षबाट हटाउनु हुँदैनथ्यो’ भन्ने कुरा उहाँको थियो। त्यहाँ उहाँले ‘मलाई पार्टीले अवहेलना गरेको छ, अब पार्टीलाई देखाइदिन्छु’ भन्ने धम्की नै दिनुभयो।

पार्टीका विरुद्धमा तथानाम बोल्नुभयो। त्यसको केही दिनपछि नै उहाँले विज्ञप्ति जारी गरेर आफू माओवादीमा नरहेको घोषणा गर्नुभयो। त्यसको डेढ÷दुई महिनापछि जयकृष्ण गोइतले जनतान्त्रिक तराई मुक्ति मोर्चा गठन गरेर हिंसात्मक गतिविधि सुरु गर्नुभयो।

(हालै प्रकाशित महतोको ‘भूमिगत डाक्टर’ पुस्तकबाट)

भदौ २५, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.