राजनीति


माधव नेपालले जितेको काठमाडौं २ मा माओवादीको दाबी, ओनसरी घर्तीको नाम सिफारिस

माधव नेपालले जितेको काठमाडौं २ मा माओवादीको दाबी, ओनसरी घर्तीको नाम सिफारिस

नेपालखबर
भदौ २९, २०७९ बुधबार १६:५७, काठमाडौँ

नेकपा माओवादी केन्द्रले काठमाडौं क्षेत्र नम्बर २ दाबी गरेको छ। यो क्षेत्रबाट पूर्वसभामुख ओनसरी घर्तीको नाम सिफारिससमेत भएको छ।

२०७४ को चुनावमा निर्वाचित सांसद माधवकुमार नेपालले मंसिर ४ गते हुने चुनावमा रौतहट जाने तयारी गरेपछि माओवादीले काठमाडौं २ मा आफ्नो दाबीसहित घर्तीको नाम सिफारिस गरेको हो।

घर्तीले आफ्नो नाम काठमाडौं क्षेत्र नम्बर २ बाट सिफारिस भएको नेपालखबरलाई जानकारी दिइन्।

‘माधव दाइ अर्काे क्षेत्रमा जाने तयारी गरेको समाचार सार्वजनिक भएपछि काठमाडौं २ मा हाम्रो पार्टीले मेरो नाम सिफारिस गर्नुभएको छ,’ घर्तीले नेपालखबरसँग भनिन, ‘मैले अध्यक्ष (प्रचण्ड)सँग यसपटक समानुपातिक बस्दिन, प्रत्यक्ष चुनाव लड्छु भनेकी छु।’

घर्तीले आफ्नो बटमलाइन प्रत्यक्ष चुनाव लड्ने प्रष्ट पारिन्।

‘अब म समानुपातिकमा दोहोरिन्नँ, पार्टीले जहाँ भन्छ, टिकट दिन्छ, त्यहीँ जान्छु र प्रत्यक्ष चुनाव लड्छु,’ घर्तीले थपिन्, ‘गठबन्धनमा कुरा मिल्यो भने जाने हो।’

माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ चैत २८ मा भएको पहिलो संविधानसभा निर्वाचनमा उनी समानुपातिक सभासद थिइन्।

२०७० मा उनले रोल्पा क्षेत्र नम्बर २ बाट दोस्रो संविधानसभा सदस्यमा चुनाव जितिन् । २०७४ मा उनी समानुपातिक सांसद बसिन् ।

अब भने फेरि समानुपातिक नबस्ने अध्यक्ष प्रचण्डलाई भनेको घर्तीले नेपालखबरलाई बताइन्।

दुई पटक समानुपातिक बसिसकें, एकपटक प्रत्यक्ष चुनाव लडें, अब फेरि समानुपातिकमा जान्न, प्रत्यक्ष चुनाव लड्छु,’ उनले भनिन्।

काठमाडौं २  नेकपा समाजवादी केन्द्रको भागमा परेको क्षेत्र हो। सो क्षेत्रबाट एकीकृत समाजवादीका प्रमेश हमाल प्रतिस्पर्धा गर्ने तयारीमा छन्।

नेपाली कांग्रेसकी डा. माधवी भट्टले काठमाडौं २ आफ्नो पार्टीले पाउनुपर्ने माग गरेकी छन्।

ओनसरीको नाम काठमाडौं २ बाट सिफारिस भएको सुनेपछि कांग्रेसकी आकांक्षी डा. भट्टले नेपालखबरसँग भनिन्, ‘यो क्षेत्रमा माओवादीको भोट कम छ, त्यसैले कांग्रेसले नै पाउनुपर्छ। प्रमेश हमाल ब्याक भइसक्नुभयो, फेरि ओनसरी आउने सुनियो।’

नेकपा एमालेले भने काठमाडौं २ बाट लड्ने उम्मेदवारको टुंगो लगाइसकेको छैन। राप्रपाबाट कुन्ती पोखरेलको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad