ad ad

कारोबार


लगानी बोर्डको आफ्नै प्रोजेक्ट बैंक : शोकेसमा पौने खर्बका ५ आयोजना

लगानी बोर्डको आफ्नै प्रोजेक्ट बैंक : शोकेसमा पौने खर्बका ५ आयोजना

वसन्त अर्याल
भदौ २९, २०७९ बुधबार १७:२२, काठमाडौँ

लगानी बोर्ड नेपालले प्रोजेक्ट बैंक तयार पारेको छ। 

बोर्डले ठूला आयोजनामा लगानी भित्र्याउन आयोजनाको पहिचान, छनोट, प्राथमिकता समेटी गाइडलाइन तयार पारेको हो। 

बोर्डले नेपालको दिगो विकास लक्ष्य र १५औँ योजना पूरा गर्न नयाँ परियोजनासहित प्रोजेक्ट बैंक बनाएको बोर्डले जनाएको छ।   

‘आयोजनालाई व्यवस्थित, लगानीयोग्य र वित्तीय विश्लेषण गरी प्रोजेक्ट बैंकमा राखिन्छ’, बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले भने, ‘आयोजनाको आर्थिक पाटो नभई वित्तीय पाटो हेरी बैंकमा राख्छौँ।’

बोर्डका अनुसार १५औँ आवधिक योजना पूरा गर्न नेपालले वार्षिक ९ अर्ब ३२ करोड डलर निजी क्षेत्रबाट लगानी हुनुपर्छ। दीगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब अमेरिकी डलर आवश्यक रहेको छ। नेपाली निजी र वैदेशिक दुवै लगानीले मात्रै लक्ष्य पूरा गर्न सकिने बोर्डले उल्लेख गरेको छ। 

नेपालमा निजी क्षेत्रको लगानी, वैदेशिक लगानी भित्र्याउन प्रोजेक्ट गाइडलाइनले सहयोग पुग्ने बोर्डले जनाएको छ। प्रोजेक्ट बैंकमा परियोजना राख्नको लागि विभिन्न चरण पार गर्नुपर्छ। पहिलो चरणमा आयोजनाको पहिचना, दोस्रो चरणमा स्क्रिनिङ र आयोजनाको वर्गीकरण, तेस्रोमा आयोजनाको प्राथमिकता चौथोमा लगानी बोर्डको प्रोजेक्ट बैंकमा आयोजना रहेका हुन्छन्। 

पहिलो चरणमा प्रोजेक्ट बैंकमा राख्न आयोजना हाल बोर्डमा रहेका लगानीयोग्य आयोजना, सार्वजनिक माग, निजी क्षेत्रबाट आएका प्रस्ताव, क्षेत्रगत सरोकारवाला निकाय, सार्वजनिक निजी साझेदारीमार्फत आयोजनाबाट छनोट हुन्छन्। 

बोर्डका अनुसार दोस्रो चरणमा पहिचान भएका आयोजना स्क्रिनिङ, सेलेक्सन गरी आयोजनाको वरीयता दिन्छ। पहिचान भएका आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गरिन्छ। त्यसबाहेक नेपालको प्राथमिकता हो वा होइन भन्ने रणनीतिक महत्त्वको अध्ययन, लगानी प्रतिबन्धित क्षेत्रको हो वा होइन भन्ने हेरिन्छ। 

तेस्रो चरणमा सम्भाव्यता अध्ययन गरिन्छ। जसमा आयोजनाको प्राविधिक, आर्थिक, व्यावसायिक, वातावरण, सामाजिक र कानुनी सम्भाव्यताको अध्ययन पूरा गरिन्छ। र, सम्भाव्यता अध्ययन पूरा भई लगानीयोग्य आयोजना चौथो चरणमा लगानी बोर्डले स्वीकृत गर्छ। 

प्रोजेक्ट बैंक तयार हुँदा पाइपलाइनमा हुन्छन्। निजी क्षेत्र वा वैदेशिक लगानी गर्नेलाई आयोजना छनोट गर्न सहज हुने बोर्डले जनाएको छ। 
लगानी बोर्डका सीईओ भट्टले सस्टेनेबल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फोरममा सहभागी लगानीकर्ताले शोकेसमा रहेका आयोजनामा प्रस्ताव गर्न सक्ने जनाएका छन्। 

५ परियोजना शोकेसमा, पौने खर्बका आयोजना
लगानी बोर्डले पौने खर्बका आयोजना शोकेसमा राखेको छ। हाल ५ वटा परियोजना शोकेसको लागि राखिएका छन्। लगानी बोर्डले निर्माण गर्नसकिने र आवश्यकताको आधारमा प्रोजेक्ट बैंक तयार पारेको जनाएको छ। 

प्रोजेक्ट बैंकमा रहेका परियोजनामा वित्तीय सम्भावना छ। बोर्डले विद्युतीय चार्जिङ स्टेसन, काठमाडौं उपत्यकाको चक्रपथमा इलेक्ट्रिक बस ¥यापिड ट्रान्जिट, पम्प स्टोरेज हाइड्रो इलेक्टिक प्रोजेक्ट, फिल्म सिटी दोलखा र पोखरा इन्टरनेशनल कन्भेन्सन सेन्टरलाई शोकेस गरेको छ। 

पूर्वसम्भाव्यता अध्ययनको चरणमा रहेको पम्प स्टोरेज हाइड्रो इलेक्ट्रिक प्रोजेक्टलाई शोकेस गरिएको छ। यसअन्तर्गत २ वटा आयोजना छन्। सल्यानमा बन्ने कुपुन्डे पम्पिङ आयोजना १०० मेगावाटको रहेको छ। यसको लगानी ११ अर्ब बढी रहेको छ। त्यस्तै रुकुमको २ सय मेगावाटको आयोजना रहेको छ। स्याप्रु पम्पिङ स्टोरेजको लागत १८ अर्ब रहने अनुमान रहेको छ। 

त्यसैगरी दोस्रो आयोजनामा इलेक्ट्रिक बस ¥यापिड ट्रान्जिट प्रोजेक्ट काठमाडौंको चक्रपथमा बनाउने प्रस्ताव राखेको छ। पूर्वसम्भाव्यता अध्ययन सकिएको आयोजना अनुमानित लागत १९ अर्ब रुपैयाँ रहेको छ। २०१९ को अध्ययनअनुसार दैनिक २ लाख ४० हजार यात्रु आउजाउ गर्छ। 

दोलखामा फिल्म सिटी दोलखा प्रोजेक्टलाई अघि सारेको छ। १५ सय रोपनीमा बनाउने प्रस्ताव गरिएको आयोजनाको लागत १५ अर्ब रुपैयाँ रहेको छ। भीमेश्वर नगरपालिकामा बन्ने आयोजनामा प्रसासनिक भवन, थारु, नेवार, गुरुङ, शेर्पाको थेमेटिक भिलेज बनाउनुपर्छ। फिल्म सिटीमा इन्डोर स्टुडियो, रक क्लाइम्बिङ, वाटरफल, संरक्षण क्षेत्र, लालिगुराँसले भरिएको हुनेछ। 

पोखरामा ३ हजार मानिस अट्ने कन्भेन्सन सेन्टर बनाउने प्रस्ताव गरेको छ। पूर्वसम्भाव्यता अध्ययनको चरणमा रहेको आयोजनाले सार्वजनिक निजी साझेदारी मोडलमा बनाउने बोर्डले जनाएको छ। कन्भेन्स सेन्टरमा १०० वटा कोठासहितको बिजनेस होटल, प्रदर्शनी हल, बैठक कक्ष, आर्ट ग्यालेरी, हेलिप्याड, पार्किङ स्पेससहितको पूर्वाधार बन्नुपर्नेछ। 

त्यस्तै १८ अर्ब लागतमा विभिन्न ठाउँमा चार्जिङ स्टेसन बनाउने प्रस्ताव गरेको छ। आयोजना पहिचानको चरणमा छ। ४२४ वटा चार्जिङ स्टेसन बनाउने बोर्डको प्रस्ताव छ। 

बोर्डले हालसम्म ३३ परियोजना स्वीकृत गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .