राजनीति


सिट बाँडफाँटको सकस : चार दलको आआफ्नै दाबी कायमै, उपेन्द्र अनुपस्थित

नेताहरू भन्छन्– कांग्रेस नओर्ली सहमति हुँदैन
सिट बाँडफाँटको सकस : चार दलको आआफ्नै दाबी कायमै, उपेन्द्र अनुपस्थित

फाइल तस्बिर


सागर न्यौपाने
भदौ २५, २०७९ शनिबार २०:५५, काठमाडौँ

सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको शनिबार साँझ बसेको बैठक पनि निष्कर्षविनै सकिएको छ। 

सबै दलहरुले आ–आफ्नो दाबी कायमै राखेपछि बैठक कुनै निष्कर्षविनै सकिएको कार्यदलका एक सदस्यले नेपालखबरलाई जानकारी दिए। ‘चार दलले आ–आफ्नो दाबी गरेका छन्, गठबन्धनमै हुँदा धेरैलाई जित्छु जस्तो लाग्छ,’ ती सदस्यले नेपालखबरसँग भने। 

नेताहरूका अनुसार सिट संख्याका आधारमा दलहरु आ–आफ्नो पूरानो अडानबाट टसमस नभएपछि आजको बैठक कार्यदलले बुझाएको प्रतिवेदनमा कुनै छलफल नै नगरी सकिएको हो। 

लामो समयदेखि सत्ता गठबन्धनका नेताहरूबीच पटक–पटक प्रयास भएपनि सहमति भने जुट्न सकेको छैन्। सत्ता गठबन्धनले सिट बाँडफाँटको विषय टुंगो लगाउन कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा कार्यदल नै बनाएको थियो। 

११ सदस्यीय कार्यदलमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन्। त्यस्तै, माओवादीबाट वर्षमान पुन र जर्नादन शर्मा, नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्।

कार्यदलमा आ–आफ्नो दलको अडान कायमै भएपछि अपुरो प्रतिवेदनसहित नेताहरुले भागवण्डाको टुंगो लगाउने जिम्मा शीर्ष नेतृत्वलाई दिएको थियो। 

फाइल

त्यसपछि शुक्रबार बस्ने भनिएको बैठक शीर्ष नेताहरु विभिन्न कार्यक्रममा ब्यस्त भएपछि बस्न सकेको थिएन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँटको विषय शुक्रबार नै टुंगो लाग्ने पोखरा पुगेर बताएका थिए। 

यद्यपी शनिबार पनि सहमति जुट्न नसकेपछि आइतबार बिहान साढे ८ बजे बजे पुनः प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी आजको बैठकबाट नेताहरु उठेका हुन्। 

आजको बैठकमा उपन्द्र यादव उपस्थित भएका थिएनन्। 

जसपा नेता रामसहाय प्रसाद यादवले अब छिट्टै सहमति गर्नुपर्छ भनेर आफूहरुले प्रयास गरेको बताए। 

‘समग्र विषयमा सहमती गर्न खोजेकाले समय लागेको हो, सबै सकारात्मक छौँ, प्रदेश र संघको दुबै क्षेत्र मिलाउन समय त लाग्छ नै, अब छिट्टै सहमति गर्नु पर्छ भनेर हामी कोसिस मै छौँ,’ यादवले नेपालखबरसँग भने। 

एक शीर्ष नेताले नेपालखबरलाई दिएको जानकारी अनुसार सिटमा  कुरा नमिल्नुको कारण नेपाली कांग्रेस हो।

‘कांग्रेसको अस्वभाविक दाबीले समस्या ल्यायो, उ दाबीबाट पछि हट्नुपर्छ,’ ती नेताले भने।

कांग्रेसले आफ्नो अडानबाट तल नओर्ली सहमति नहुने अवस्था देखिएको छ। ‘काङ्ग्रेस नओर्ली सहमती हुँदैन,’ नेपालखबरसँगको अनौपचारिक कुरामा ती नेताले भने, ‘आज पनि केही भएन, त्यही त हो नि सिटको कुरा मिलेको छैन, सबै दाबी गरिरहेका छन्,’

जसपाले मधेस प्रदेशमा र प्रदेश १ मा मोरङ ५ र धनकुटा मागेको छ। तर काङ्ग्रेसले दुईवटा दिन नसक्ने बताएपछि कुरा नमिलेको हो।

माओवादी ६० बाट झरेर ५० सिट लिन र कांग्रेस पनि १ सय सिटमा अडान राखे पनि ९० मा झर्न तयार भएपनि  जसपा र एकीकृत समाजवादीको मागका कारण सहमति जुट्न नसकेको नेताहरु बताउँछन्। 

प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३ सय ३० सिटको बाँडफाँटमा सहमति जुटे गठबन्धन बन्नेछ। यदि सहमति नजुटेको अवस्थामा राजनीतिले फरक मोड लिने नेताहरु बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .