नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफूले पहिलो दिन गरेका निर्णय सार्वजनिक गरेका छन्।
मन्त्री पुनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा शून्यबाट सुरु गरिएको जानकारी दिएका हुन्।
‘पहिलो दिन चालेको कदमहरू- विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा शून्यबाट सुरु हुँदै छ। यो मन्त्रालय चलाउन अरू अरू मन्त्रालयजस्तो सबै कुरा तयारी अवस्थाका छैन। सर्वप्रथम विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन विधेयक बनाउने निर्णय गरियो’, उनले लेखेका छन्, ‘अनि यो मन्त्रालय सुचारु रूपमा चलाउन कति कर्मचारी राख्ने, दरबन्दी कति चाहिने र काम कसरी छिटो र प्रभावकारी बनाउने भनेर सर्वेक्षण (ओ एन्ड एम) गर्ने निर्णय गरियो। विभिन्न मन्त्रालय अन्तरगत छरिएर भइरहेका अनुसन्धान तथा नवप्रवर्तनलाई कसरी प्रभावकारी रूपमा अगाडि बढाउने भन्ने कुरामा गहन छलफल तुरुन्त सुरु गर्ने निर्णय गरियो। हेर्दै जानुहोला।’
स्वतन्त्र रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचित पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारमा गत मंगलबार मात्र मन्त्री बनाइएको हो।
Shares

प्रतिक्रिया