अमेरिकाको कुन राष्ट्रपति ठीक : पहिलो कि वर्तमान?
मनमउथ युनिभर्सिटीले यहि प्रश्नमाथि सर्वेक्षण गर्यो। र, त्यसमा आएको, खासगरि रिपब्लिकनहरुले दिएको जवाफले धेरैलाई स्तब्ध पार्यो।
समग्रमा १० मध्ये ७ जनाले जर्ज वासिंगटनलाई ट्रम्पभन्दा ठीक भन्ने जवाफ दिँदा १५ प्रतिशतले ट्रम्पलाई रोजेको सिएनएनले जनाएको छ।
तर, पुरानो पार्टी रिपब्लिकनका उत्तरदाताहरुले दुवैलाई हाराहारीमैं रोजेर धेरैलाई अचम्मित पारे। सिएनएनका अनुसार ४४ प्रतिशतले वासिंगटनलाई छान्दा, ३७ प्रतिशतले ट्रम्पलाई रोजेका छन्।
त्यसको अर्थ १० मध्ये झन्डै चार रिपब्लिकनले जर्ज वासिंगटनभन्दा डोनाल्ड ट्रम्पलाई राम्रो भनेका छन्।
‘उनै जर्ज वासिंगटन जसले बेलायतविरुद्ध विजय प्राप्त गर्दा देशका सशस्त्र फौजहरुको नेतृत्व गरे, यो देश स्थापना गर्न योगदान गरे र दुई कार्यकाल अवधि पुरा गर्नासाथ पद छाडेर सुरुक्क हिँडे, जबकी उनले चाहेसम्म पदमा रहन सक्थे,’ सिएनएनले लेखेको छ।
सर्वेक्षणमा समावेश गरिएको सो प्रश्न आफैंमा हाँस उठ्दो भएपनि त्यसले रिपब्लिकन पार्टी पंक्तिमा ट्रम्पप्रतिको वफादारिता र त्यसको रटान कस्तो छ भन्ने देखाएको बताइएको छ।
अमेरिकाकै एक महानतम् राष्ट्रपतिलाई यसरि गरिएको तुलना केवल ट्रम्पका समर्थक र ट्रम्प आफैलाई बाहेक अरुका लागि हास्यास्पद् भनिएको छ।

प्रतिक्रिया