राजनीति


एमाले नेतृत्वमा व्यक्तिवादी प्रवृत्ति र फासिवादको लक्षण : मोहनविक्रम

एमाले नेतृत्वमा व्यक्तिवादी प्रवृत्ति र फासिवादको लक्षण : मोहनविक्रम

नेपालखबर
भदौ २३, २०७९ बिहिबार १७:८, काठमाडौँ

नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेकपा (एमाले) को नेतृत्वमा व्यक्तिवादी प्रवृत्ति र फासिवादको लक्षण देखिएको बताएका छन्।

राष्ट्रिय जनमोर्चा, सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिंहले एमालेका कारण देशमा प्रतिगमनको खतरा कायमै रहेको बताए।

उनले एमाले नेतृत्व भारतीय संस्थापन पक्षलाई खुशी पारेर उनीहरुकै हितमा काम गर्न प्रयत्नशील रहेको आरोप पनि लगाए। 

‘लामो समयदेखि नेकपा एमालेको नेतृत्व भारतीय संस्थापन पक्षलाई खुशी पारेर उनीहरूको हित अनुकूल काम गरि रहेको छ र त्यसैको बलमा सत्ता प्राप्त गरेर देशलाई फासिवादको दिशातर्फ लैजान प्रयत्‍न गरि रहेको छ’ सिंहले भने, ‘नेकपा एमालेको नेतृत्वमा काफी हदसम्म व्यक्तिवादी प्रवृत्ति र फासिवादको स्पष्ट लक्षण देखिई रहेकोले यस्तो प्रवृत्तिले देश र जनतालाई हित गर्न सक्दैन ।’

पत्रकारहरूको जिज्ञासामा सिंहले वर्तमान पाँचदलीय गठबन्धन देशलाई प्रतिगमनको दिशामा जानबाट रोक्नका लागि बनेको बताए। उनले गठबन्धन वर्तमान राजनीतिक आवश्यकता भएकोमासमेत जोड दिए।

एकातिर जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिलाई जोगाउनु पर्ने र अर्कोतर्फ वैदेशिक हस्तक्षेपका विरुद्ध संघर्ष गर्नुपर्ने वर्तमान राजनीतिक आवश्यकतालाई सन्तुलन मिलाएर आफ्नो पार्टीले स्पष्ट राजनीतिक भूमिका खेलिरहेको सिंहको भनाई थियो।

फरक प्रशंगमा महामन्त्री सिंहले गणतन्त्रमाथि वामपन्थी संकिर्णतावादी कोणबाट पनि विरोध भइरहेको बताए। 

उनले कतिपय पक्षले नेकपा मसालको वर्तमान भूमिकाको विषयमा भ्रम फैलाई रहेको भन्दै तर उनीहरूले भ्रम फैलाएको जस्तो आफूहरुले वर्तमान गठबन्धन दलका गलत क्रियाकलाप समर्थन नगरेको स्पष्ट पारे। 

एमसीसी, एसपीपी, नागरिकता विधेयकलगायतका सत्तारुढ दलका क्रियाकलाप विरुद्ध आफूहरुले सडक र सदनबाट समेत आवाज उठाई रहेको सिंहले बताए।

राष्ट्रिय जनमोर्चा, सुदूरपश्चिमले आयोजना गरेको दुई दिने कार्यकर्ता भेलामा प्रशिक्षण दिन महामन्त्री सिंह धनगढी पुगेका हुन्। 

कार्यक्रममा जनमोर्चाका महासचिव मनोज भट्ट, सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्ट, राजमो कैलालीका अध्यक्ष जगत प्रसाद जोशीलगायतका नेताहरु सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad