ad ad

राजनीति


सत्ता गठबन्धन बैठकमा प्रचण्डको प्रस्तावले हच्कियो कांग्रेस

प्रतिनिधिसभाका ५० सिट लिने माओवादी रणनीति
सत्ता गठबन्धन बैठकमा प्रचण्डको प्रस्तावले हच्कियो कांग्रेस

फाइल फोटो


नेपालखबर
भदौ १६, २०७९ बिहिबार २३:२६, काठमाडौँ

सत्तारुढ गठबन्धनको बिहीबार बसेको १० घण्टा लामो बैठकका क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावका कारण नेपाली कांग्रेस हच्किएको छ।

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले ८६ देखि ९० सिट आसपास आफूलाई राखेर सहमति खोज्न भने पनि माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसलाई ८० सिट आसपास सीमित गर्न खोजेपछि कांग्रेस हच्किएको हो। 

बैठकमा सहभागी कांग्रेसका एकजना नेताका अनुसार प्रचण्डले प्रतिनिधिसभाका १६५ सिटमध्ये ५० प्रतिशत कांग्रेसलाई दिने गरी प्रस्ताव गरेका थिए।

'उहाँ (प्रचण्ड) ले कांग्रेसलाई ५० प्रतिशत सिट दिएर बाँकी ५० प्रतिशत आफूहरु भागबण्डा गर्ने भन्नुभयो', ती कांग्रेस नेताले भने,'उहाँको प्रस्ताव अनुसार कांग्रेसले ८० देखि ८२ सिटमा चित्त बुझाउनुपर्ने देखियो। तर हामी यति तल झरेर सहमति गर्ने पक्षमा छैनौँ।'

प्रचण्डको उक्त प्रस्तावलाई गठबन्धनका एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले पनि मान्ने अवस्था नरहेको ती कांग्रेस नेताले बताए। 

'कांग्रेस ८० देखि ८२ सिटमा खुम्चिन सक्दैन, अरु दलहरु पनि आफ्नो साइज घटाउन तयार छैनन्', उनले भने।

बैठकमा प्रचण्ड कांग्रेसलाई ५० प्रतिशत दिएपछि बाँकी रहेको ५० प्रतिशतबाट आफूले कम्तीमा ५० सिट राख्ने रणनीतिसहित प्रस्तुत भएका स्रोतले जनाएको छ।

'प्रचन्डको नियत आफूले प्रतिनिधिसभाको ५० सिट राख्ने देखियो', बैठकमा सहभागी कांग्रेस ती शीर्ष नेताले भने, 'यो प्रस्तावमा अन्य दल पनि सहमत हुन तयार छैनन्। कांग्रेसले सहमत हुने कुरै भएन।'

बिहीबार दिनभरको छलफलपछि कांग्रेस ८६, माओवादी केन्द्र ४७, नेकपा एकीकृत समाजवादी १८, जसपा १३ र राष्ट्रिय जनमोर्चा १ सिट लिनेमा करिब सहमति भएको थियो। तर, ती कांग्रेस नेताले प्रचण्डले आफू ५० सिटबाट तल नझर्ने गरी प्रस्ताव ल्याएपछि समस्या भएको दाबी गरे।  

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटलाई लिएर केही सातादेखि सत्तारुढ दलबीच रस्साकस्सी चलिरहेको छ।

गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारे गम्भीर छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि बताएका छन्। 

उनले पनि बैठकमा निरन्तर छलफल चलिहरँदा सङ्ख्यामै कुरा अड्किएको बताए। 

यसअघि कांग्रेसले सुरुमा एक सय, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटमा दाबी गरेका थिए। तर कांग्रेस लचक भएर ९० मुनि झर्न तयार भए पनि सहमति नबनेको हो।

सहमतिका लागि शीर्ष नेतासहितको बैठकमा दैनिक लफल हुँदै छ। आजको बैठकमा पनि देउवा, प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादव र चित्रबहादुर केसीसहित सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .