राजनीति


गठबन्धनमा प्रारम्भिक सहमति : कांग्रेस ८६, माओवादी ४७, समाजवादी १८, जसपा १३

गठबन्धनमा प्रारम्भिक सहमति : कांग्रेस ८६, माओवादी ४७, समाजवादी १८, जसपा १३

फाइल तस्बिर


नेपालखबर
भदौ १६, २०७९ बिहिबार १९:१७, काठमाडौँ

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु प्रतिनिधि सभाको भागबण्डामा करिब टुंगो नजिक पुगेका छन्। 

स्रोतका अनुसार पाँच दलले प्रत्यक्षतर्फका १ सय ६५ सिट बाँडफाँट गरेका हुन्। यद्यपि यसको पूर्ण खाका सार्वजनिक भइसकेको छैन।

शीर्ष नेतातहरुसहित बिहीबार बिहान ११ बजेदेखि बसिरहेको कार्यदलको बैठक अहिलेसम्म बालुवाटारमा जारी छ। 

स्रोतका अनुसार यो बैठकमा नेपाली कांग्रेस ८६, माओवादी केन्द्र ४७, नेकपा एकीकृत समाजवादी १८, जसपा १३ र राष्ट्रिय जनमोर्चा १ सिट लिने लगभग समझदारी जुटेको छ। 

एक नेताले दिएको जानकारी अनुसार कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहमति जुटाएको सिट संख्यालाई कार्यदल बैठकले अन्तिम रुप दिँदैछ।

'सय सिट दाबी गरेको कांग्रेसले सहमतिका लागि हदैसम्मको लचकता अपनाएको छ', कार्यदलका एक सदस्यले भने, ‘उसले ८५ देखि ८६ सिट लिन्छ। माओवादी केन्द्र ४५ देखि ४७, एकीकृत समाजवादी १५ देखि १८ र जसपा १२ देखि १३ सिट लिन्छ। राष्ट्रिय जनमोर्चालाई १ सिट दिनेगरी समझदारी बनेको छ।'

यो संख्यामा केही फेरबदल हुनसक्ने सम्भावना पनि छ। शीर्ष नेताहरुले संख्या टुंगो लगाएर कार्यदललाई जिम्मा दिएका छन्।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार बढी सिट लिएर हार्नुभन्दा सबै जित्ने गरी सिट लिनु उपयुक्त हुने प्रधानमन्त्रीको राय थियो। 

'हामीले सय सिट लिएर ५० सिट जित्नुभन्दा ८५ सिट लिएर कम्तीमा ८० सिट जित्नु राम्रो हो भनेर प्रधानमन्त्रीले कार्यदलमा रहेका नेताहरुलाई सुझाव दिनु भएको थियो', बालुवाटार स्रोतले नेपालखबरसँ भन्यो, 'त्यहीअनुसार कार्यदलमा छलफल भएर सहमति जुटाउन लागिएको हो।' 

अब यसको अन्तिम निर्णय कार्यदलले सार्वजनिक गर्ने भएको छ। 

सिट संख्या टुंगो लगाएपछि फेरि कार्यदलले निर्वाचन क्षेत्रका विषयमा छलफल गर्नेछ। निर्वाचन क्षेत्र पनि यसैगरी सहमतिको आधारमा बाँडफाँट गर्ने ती नेताले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .