ad ad

राजनीति


माओवादी विधानका ‘हरू’ जसले प्रचण्डलाई सजिलो बनायो

१७ बढी पदाधिकारी बनाउने प्रचण्डको इच्छा
माओवादी विधानका ‘हरू’ जसले प्रचण्डलाई सजिलो बनायो

सागर न्यौपाने
भदौ ३, २०७९ शुक्रबार २२:२९, काठमाडौँ

नेपाली कांग्रेसका पदाधिकारी कति रहने भन्ने विधानमै उल्लेख छ। नेकपा एमालेका पदाधिकारीको संख्या पनि विधानमै तोकिएको छ। तर, नेकपा माओवादी केन्द्रका पदाधिकारीको संख्या भने विधानमा तोकिएको छैन। अध्यक्ष प्रचण्डलाई जति मन लाग्छ, त्यति नै संख्यामा पदाधिकारी बनाउन सक्ने विधानले ‘स्पेस’ दिएको छ।

महाधिवेशन गरेको ८ महिना बितिसक्दा पनि माओवादीले केन्द्रीय पदाधिकारी चयन गर्न सकेको छैन। अध्यक्ष प्रचण्डले पटक–पटक पदाधिकारी चयन गर्ने मिति घोषणा गरे पनि आकांक्षी धेरै भएका कारण पछि सारिरहेका छन्।

असारदेखि सरिरहेको पदाधिकारी चयन शुक्रबार (३ भदौ) हुने बताइएको थियो। तर, फेरि ४ भदौसम्म सरेको छ। पदाधिकारीको नाम र संख्या प्रचण्डको गोजीमै रहेको नेताहरु बताउँछन्।

१७ देखि २१ जना सम्मको पदाधिकारी बनाउने तयारी

यसैवीच माओवादी अध्यक्ष प्रचण्डले शुक्रबारको बैठकमा २१ सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव गरेका छन्। पदाधिकारीको संख्या १७ देखि २१ सम्म समेट्ने अध्यक्षले प्रस्ताव गरेको एक नेताले नेपालखबरलाई जानकारी दिए।

प्रचण्डले बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरालाई बनाइसकिएको हुनाले अब महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष बनाउने प्रस्ताव गरेको ती नेताले बताए।

सिनियर नेताको हिसाबले देव गुरुङलाई महासचिव बनाएर अरुलाई ४/५ जना नेतालाई उपमहासचिव अनि अन्यलाई सचिव बनाउने प्रचण्डले बैठकमा प्रस्तावव गरेका थिए।

तर, बैठकमा बोल्ने नेताहरुले सिनियर नेतालाई उपाध्यक्षमा समेट्न सुझाएको र शनिबार बस्ने बैठकले टुंगो लगाउने ती नेताले जानकारी दिए। 

 

विधानले के भन्छ?

कुनै पनि राजनीतिक दलको पदाधिकारी संख्या महाधिवेशनबाट पारित विधानमै किटान गरिएको हुन्छ। राष्ट्रिय महाधिवेशनबाट बनाइने विधान कानुनहरुको संग्रह हो, त्यसलाई उल्लंघन गर्न पाइँदैन। विधानले तोकेको संख्यामा मात्रै कमिटीहरु बनाउन पाइन्छ।

उसोभए माओवादी केन्द्रको विधानले तोकेको पदाधिकारी संख्या कति हो त? विधान अनुसार कति पदाधिकारी चयन गर्न पाइने हो? यो नै प्रष्ट छैन। पदाधिकारीको संख्याबारे माओवादी केन्द्रको विधान अस्पष्ट छ।

माओवादीभित्र पदाधिकारी दाबी गर्ने नेताहरुको संख्या अधिक छ। महाधिवेशनकै बेला चुनाव गरेर जनवादी विधिबाट पदाधिकारी चयन गर्न नेतृत्वले चाहेन। पदाधिकारीमा सहमति पनि ८ महिनासम्म जुटेन।

माओवादी केन्द्रको ११–१८ पुस २०७८ मा सम्पन्न महाधिवेशनबाट पारित विधान अहिले लागरू भएको छ। लामो छलफल, बहसबाट संशोधनसहित  विधान बनाइएको माओवादीका नेता हरिबोल गजुरेल बताउँछन्। तर, विधानमा पदाधिकारी कति  हुने उल्लेख छैन। जति बनाए पनि हुने ठाउँ राखिएको छ।

यही कारण पुसदेखि माओवादीको पदाधिकारी संख्या चयन हुन नसकेको नेताहरु बताउँछन्। नेताहरुका अनुसार विधान नै लचिलो खालको छ, अध्यक्षको तजबिजीमा जति बनाए पनि हुन्छ।

माओवादीको विधानमा ‘उपाध्यक्षहरु’ रहने व्व्यवस्था छ । त्यसैगरी ‘उपमहासचिवहरु’ रहने भनिएको छ । त्यस्तै सचिवहरु रहने भनिएको छ । विधानमा संख्या नतोकी ‘हरु’ राखिएको हुनाले प्रचण्डलाई सजिलो भएको छ । 

कति छन् केन्द्रीय कमिटीमा?

माओवादीको विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २९९ सदस्यीय केन्द्रीय समिति रहन्छ। यसमा १५ प्रतिशत मनोनित र एकता प्रक्रियाबाट आएका १० प्रतिशतसमेत जोड्दा माओवादीको केन्द्रीय कमिटी ३७७ जनाको पुग्छ। हाल केन्द्रीय कमिटीमा ३७३ जना छन्, ४ सीट खाली छ।

त्यसैगरी, केन्द्रीय सदस्यको २५ प्रतिशतसम्म बैकल्पिक केन्द्रीय सदस्य राख्न सकिने व्यवस्था छ। यसो गर्दा ९४ जना वैकल्पिक सदस्य बन्न पाउँछन्। हाल ८६ जना बैकल्पिक केन्द्रीय सदस्य छन्, ८ सीट खाली छ। 

केन्द्रीय समितिको कुल सदस्य संख्याको बढीमा एकतिहाई सदस्य रहेको पोलिटब्युरो कमिटी हुनेछ। यस अनुसार पोलिटब्यूरोमा १२६ जनासम्म रहन पाउँछन्।

त्यस्तै, पोलिट्व्युरोको कूल सदस्यको बढीमा एकतिहाई सदस्य रहेको स्थायी समिति हुनेछ। विधानको यो व्यवस्था अनुसार स्थायी कमिटीमा ४२ जनासम्म रहन पाउँछन् । 

दैनिक कार्य सञ्चालनका लागि अध्यक्षको नेतृत्वमा उपाध्यक्ष र महासचिवसहितको आवश्यक संख्यामा एक केन्द्रीय कार्यालय रहने विधानमा व्यवस्था छ।

त्यस्तै, केन्द्रीय कार्यालयको दैनिक प्रशासनिक कार्यहरु सम्पादन गर्नका लागि महासचिवको नेतृत्वमा उपमहासचिव, सचिव समेतको एक केन्द्रीय सचिवालय रहने विधानमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .