ad ad

कारोबार


राष्ट्रपति हुँदा ऋणमा चुर्लुम्म थिए डोनाल्ड ट्रम्प, अहिले कसरी गरे व्यवस्थापन?

राष्ट्रपति हुँदा ऋणमा चुर्लुम्म थिए डोनाल्ड ट्रम्प, अहिले कसरी गरे व्यवस्थापन?

डान अलेजेन्डर
भदौ ५, २०७९ आइतबार १०:१, काठमाडौँ

जुन दिन डोनाल्ड ट्रम्पले ह्वाइटहाउस छाडे, उनको व्यवसायले आउने ४ वर्षमा ९० करोड डलर ऋणको सामना गरिरहेको थियो। एउटा कम्पनीका लागि त्यतिका ऋण बोकेर काम गर्नु ठूलै चुनौती थियो। ट्रम्प अर्गनाइजेसन उसै त थप चुनौती झेलिरहेको थियो। 

ट्रम्पको लामो समयदेखिको ऋणदाता ड्युची बैंक आफ्ना घरजग्गा बादशाहसँगको सम्बन्ध टुंग्याउने बाटो खोजिरहेको थियो। दुई अरु वित्तीय संस्था साइनेचर बैंक र प्रफेसनल बैंकले २०२१ को जनवरी ६ मा संसद भवनमा भएको हुलहुज्जतलाई लिएर थप कारोबार नगर्ने अवस्थामा पुगेका थिए। त्यहीबेला म्यानहटन जिल्लाको न्यायाधिवक्ता ट्रम्प अर्गनाइजेसनविरुद्ध श्रेणीबद्ध रुपमा वित्तीय अपराधको मुद्दाको नजित पुगिरहेको थियो। तिनमा झूटा व्यावसायिक विवरण, षड्यन्त्र र धोखाधडी समावेश थिए। 

मानिसहरु चाँडै एउटा युगको अन्त्य हुँदै गरेको बताइरहेका थिए। ‘ट्रम्प अर्गनाइजसेनविरुद्धको अभियोजनले अन्ततः यसको विनाश हुनेछ’, एक पूर्व संघीय अभियोजक रिचर्ड साइनोरिलीले जुन २०२१ मा ट्विट गरे। 

‘मुद्दा झेलिरहेको कम्पनीसँग कसैले व्यवसाय गर्नेछैन’, अर्का एक ट्रम्पको पहिलो महाभियोगको बेला अभियोजक रहेका डान गोल्डम्यानले एमएसएनबीसीमा भने, ‘अभियोजन भनेको ट्रम्प अर्गनाइजेसनका लागि मरेतुल्य हो।’ 

तर ती सबै भविष्यवाणी गलत निस्किए। १५ महिनामै यसका संस्थापक डोनाल्ड ट्रम्पले ऋणको यथोचित समाधान निकाले। ड्युचीका कठिन दुई ऋण गरी हुने कुल साढे २९ करोड डलर टुंगियो।

पूर्वराष्ट्रपति ट्रम्पले आफ्नो घाटा दिने वासिङटन डीसीको होटल मेजर लिग बेसबलका स्टार एलेक्स रोड्रिगेज र पूर्व बक्सिङ खेलाडी फ्लोयड मेवेदर जोडिएको एउटा लगानी शपलाई बिक्री गरे। कम्प्युटर अर्बपति माइकेल डेलसँग जोडिएको एउटा कम्पनीबाट उनलाई मद्दत मिलेको थियो। ट्रम्पले फेरि साढे १२ करोड मियामी गल्फ रिसोर्टमा पुनर्लगानी गरे र ट्रम्प टावरमा १० करोड डलरको धितोको काम गरे। 

ट्रम्पको व्यवसायमा अझै धेरै ऋण छ– अनुमानित १.१ अर्ब डलरजति। तर २०२८ सम्म यो चुक्ता गर्नुपर्नेछैन। पुनर्लगानी गर्नुपर्ने २ ऋण छन्। एउटा म्यानहटनको थर्ड एभेन्युको १ करोड ३० लाखको धितोको र अर्को सिकागोको साढे ४ करोड डलरको टावरको। जुन २०२४ मा परिपक्व हुन्छ। तर यी दुवैलाई भुक्तानी फिर्ता गर्न खासै कठिन छैन। 

किनकि ट्रम्पसँग अहिले अनुमानित ३७ करोड ५० लाख पैसा हातैमा छ। राष्ट्रपति हुँदाका बेला भएभन्दा यो तीन गुणा धेरै हो। यसको श्रेय उनको कारोबारी–कलालाई जान्छ। 

कसरी गरे व्यवस्थापन? 
पहिलो त उनले आफ्ना नजिकका अर्बपति व्यापार साझेदार स्टिभन रथको मद्दत लिए। स्टिभन घरजग्गा संसारका ख्यातिप्राप्त व्यवसायी हुन्। त्यसपछि ट्रम्पले सीजीआई मर्चेन्ट जादुयी सम्झौता गरे। अर्कोचाहिँ उनले कुश्नर परिवार भेट्टाए जसले ड्युची बैंकलाई प्रतिस्थापन गर्यो। 

यो त्यही सन् २०२० जुनको समय थियो। डोनाल्ड ट्रम्पलाई क्यास पैसा चाहिएको थियो। उनीसँग अनुमानित साढे ९ करोड डलर थियो।

त्यसमध्ये साढे ६ करोड डलरमात्रै उनले मनचाह खर्च गर्नसक्थे। र ३ करोड डलर स्टिभन रथको नियन्त्रणमा थियो। धेरैका लागि साढे ९ करोड डलर पर्याप्त भए पनि ट्रम्पका लागि हुँदैनथ्यो। किनकी उनीसँग ९० करोड डलर त ऋण नै थियो जुन तिर्ने समय नजिकिरहेको थियो। फेरि उनी राष्ट्रपतीय अभियान समेत अगाडि बढाइरहेका थिए।

भाग्यवश, दर्जन बढी वर्ष व्यापार साझेदार रहेका रथ ट्रम्पको मद्दतका लागि तयार थिए। उनको पब्लिक कम्पनी भोर्नाडो रियाल्टी ट्रस्टले त्यही महिना सान फ्रान्सिस्कोको ५५५ क्यालिफोर्निया स्ट्रिट र न्युयोर्कको ट्रम्पसँगको ७०–३० साझेदारीमा रहेको १२९० एभेन्यु अफ दर अमेरिकाज बिक्रीका लागि तयार रहेको बतायो। भोर्नाडोले किन्ने कोही भेटेन। नभेटेपछि रथको नियन्त्रणमा रहने गरी पुनर्लगानीमा यसलाई सल्टायो। योसँगै अमेरिकाकै ठूलो बैंक जेपी मोर्गानले मद्दत गर्यो भने १२९० एभेन्युविरुद्धको साढे ९ करोड धितोलाई नयाँ ऋणसहित ट्रम्पलाई प्रतिस्थापन गर्यो। यता ५५५ क्यालिफोर्निया स्ट्रिटमा १ अर्ब २० करोड डलर उठाउन सन् २०२१ मेमा बैंकले सहयोग गर्यो।

यसले ५३ करोड ३० लाख डलरको मोर्टगेज (धितोबन्धक) सुल्झियो। साझेदारहरुले ६० करोड डलर क्यास निकाल्न पाए। यसले पैसा तिर्ने समय २०२८ सम्म धकेलियो। ट्रम्पलाई पनि अनुमानित १६ करोड २० लाख डलर पैसा बढ्यो। 

त्यही बेला ट्रम्प वासिङटन डीसीमा होटल खाली गर्दै थियो। ६० वर्षको लागि सरकारी स्वामित्वको भवनलाई लिजमा दिन ट्रम्प अर्गनाइजेसनले २० करोड डलर मर्मतसम्भारमा खर्च गर्न र त्यसपछि वार्षिक रुपमा ३० लाख डलर भाडा तिर्न सहमत भयो। 

ट्रम्पले राष्ट्रपति पद जित्नु १३ दिनअघि २०१६ को अक्टुबर २६ मा रिबन काटेका थिए। उद्घाटन समारोहमा उनका समर्थकले ठाउँ भरिएका बेला ट्रम्पले आफ्नै उद्घाटन समितिविरुद्ध १० लाख डलरभन्दा बढी तिर्न लगाए। त्यसले पछि डीसी महान्यायाधिवक्ताबाट मुद्दामामिलामा तानेको थियो। तर पछि यो साढे ७ लाख डलरमा मिलापत्र भयो।

उद्घाटनका बेला फस्टाए पनि पछि व्यवसाय राम्रो भएन। सन् २०१८ अगस्ट ३१ मा सकिएको १२ महिनामै सञ्चालन आय ९ लाख डलरमात्र भयो। जसले ड्युची बैंकको ट्रम्प परिवारले तिर्नुपर्ने ६२ लाख डलर ब्याज तिर्न पुग्दैनथ्यो। ट्रम्प अर्गनाइजेसनले डोनाल्ड ट्रम्पकै अर्को कम्पनीबाट ४० लाख डलर ल्याएर समाधान निकाल्यो। अर्को वर्ष सानो सञ्चालन नाफा २१ लाख डलरको घाटामा गयो। त्यही बेला फेडेरल रिजर्भले ब्याजदर बढायो र ब्याज नै ७५ लाख डलर पुग्यो। यसले ट्रम्पको व्यवसायमा अर्को ९० लाख डलर चाहिने भयो। 

खराब वित्तीय अवस्थापछि ट्रम्प अर्गनाइजेसन अब त बेच्नुपर्छ भन्ने बलियो योजनासहित आयो। ट्रम्प परिवारले बजारमा बेग्लै किसिमले आइडिया ल्यायो। वालस्ट्रिट जर्नलमा सन् २०१८ अक्टुबर २६ मा अग्रपृष्ठमा एउटा स्टोरी छापियो। पत्रिकाले परिवारको कुनै पनि शंका प्रकट नगरी झूठो कुरा छाप्यो ः ‘होटलमा त्यति धेरै पैसा कमाएकोमा मानिसहरु विरोध गरिरहेका छन्’, एरिक ट्रम्पलाई उद्धृत गर्दै भनिएको थियो, ‘त्यसकारण हामी होटल बिक्री गर्न खोज्दै छौँ।’ अज्ञात स्रोतका अनुसार ट्रम्प परिवारले यसका लागि ५० करोड डलर स्वीकार्नेछ। जुन स्वतन्त्र घरजग्गा विज्ञको सोचअनुसार सम्पत्तिको मूल्यभन्दा दोब्बरले धेरै थियो। 

तर बिक्रीको घोषणा गर्न जति सजिलो थियो त्यति मूल्यमा बेच्ने सम्झौता गर्न निकै गाह्रो। एक स्थानीय क्रेताले साढे १७ करोड डलर प्रस्ताव गरेका थिए। अरु पनि धेरै थिए। ट्रम्प परिवारले मानेन। त्यसपछि महामारी सुरु भयो। ट्रम्प होटलले २३७ कर्मचारीलाई रोजगारीमुक्त गर्यो। १ वर्षसम्म सबै सामान्यप्रायः रह्यो। त्यसपछि हल्ला चल्यो– ट्रम्पले होटल क्रेता भेट्टाए जो साढे ३७ करोड डलर तिर्न तयार भएको छ। जुन ५० करोड डलरभन्दा निकै कम र स्वतन्त्र क्रेताभन्दा निकै माथिको पैसा थियो। 

कसले किन्ला भन्ने हल्लाका बीच मियामीको सानो कम्पनी सीजीआई मर्चेन्ट ग्रुपले किन्न चाहेको थाहा भयो। यसको आतिथ्य व्यवसायमा कम अनुभव थियो। त्यसका लगानीकर्ता रोड्रिगेज र मेवेदर थिए। सीजीआईका अन्य लगानीकर्ताबारे केही खुलाइएन। कम्पनीले सामान्य सेवा प्रशासनलाई समेत यसबारे खुलाएन। यसको सम्झौता गोप्य नै राखियो।  

तर ठूलो मूल्यको किनबेचले आशंकाहरु जन्मिए। ट्रम्पले पनि १७ करोड डलर ऋण तिर्न पर्याप्त आम्दानी गर्न सकेनन्। किन्ने पैसाका लागि सीजीआईले साढे २८ करोड डलर एमएसडी पार्टनर्ससँग जोडिएका दुई व्यक्तिबाट जुटाएको थियो। तिनमा एक माइकेल डेल थिए जो अमेरिकाका धनीमध्ये पर्छन्।

अर्कोचाहिँ साना एउटा इन्टरनेटमा आधारित एजस बैंक थियो। जुनसँग एमएसडीले अन्य सम्झौताहरुमा काम गरेको थियो। उसले पनि ऋणमा चासो देखाएको थियो। मेमा कारोबार बन्द भयो। यसले पूर्वराष्ट्रपति र उनको परिवारलाई ड्युची बैंकको पैसा तिर्न पर्याप्त बनाइदियो। जुन २०२४ मा परिपक्व हुँदै थियो। यसबाहेक डोनाल्ड ट्रम्प जुनियर, इभान्का, एरिक सबैले होटलमा सेयर लिए। समग्रमा उनीहरुले १ करोड ३० लाख डलरको हिस्सा लिए। उनीहरुको बुबाको भुक्तानी दिनले थप अनुमानित १३ करोड ५० लाख डलर थप्यो। 

यसरी थोरै थाहा भएको एजस बैंकले ट्रम्पको वित्तीय संकटमोचनमा महत्वपूर्ण भूमिका खेल्यो। पैसा बढेपछि ट्रम्पलाई ऋणसँग जुध्न बल थपियो। तर उनको यसअघिका बैंकिङ सम्बन्ध टुंगियो। ट्रम्पलाई अब नयाँ ऋणदाता चाहिएको थियो। यस्तोमा १६ अर्ब डलर सम्पत्तिको एजस जुरेको थियो। एजसले ट्रम्पका ज्वाइ जारेद कुश्नरसँग पनि व्यवसाय गरेको थियो। ट्रम्पले मोर्टगेज ब्रोकर कम्पनी ल्याडर क्यापिटलबाट १० करोड डलर सन् २०१२ मा सुरक्षित गरेका थिए। तर उक्त ऋण सन् २०२२ को सेप्टेम्बरमा परिपक्व हुँदै थियो। 

दुर्भाग्यवश उक्त भवनले पनि राम्रो व्यवसाय गरेको थिएन। ट्रम्प अर्गनाइजेसनले सन् २०२० मा आफ्नो गुक्सीसँगको लिज विस्तार गरेको बताइन्छ। त्यो वर्ष कोरोना महामारी उत्कर्षमा थियो। यसले फिप्थ एभेन्युलाई ‘गोष्ट टाउन’ बनाइदियो र छ वर्षअगाडि नै गुक्सी लिज सकिनेवाला थियो। त्यो प्रकारको सम्झौता अज्ञात नै छ तर ट्रम्प टावरको नाफा निकै घटेको सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनमा बुझाएको कागजातले देखाउँछ।

मियामीको गल्फ रिसोर्ट

त्यो वर्ष महामारीअघि औसत सञ्चालन नाफा ५५ लाख डलर थियो। २०२१ को मध्यसम्म आइपुग्दा घटेर ४१ लाख डलरमा झरेको थियो। ट्रम्प टावरको मूल्य ट्रम्पले अघिल्लो ऋणको तिर्ने १० करोड डलरभन्दा दोब्बर बढी थियो। एजसले पूर्वराष्ट्रपतिलाई १० करोड डलर ऋण दियो। 

ट्रम्पलाई यता मियामीको गल्फ रिसोर्टविरुद्ध ड्युचीलाई अनुमानित साढे १२ करोड डलर तिर्न पुनर्लगानी आवश्यक थियो। जुन २०२३ सम्म समय थियो। एजसले ट्रम्पलाई मे महिनामा साढे १२ करोड डलर दियो। नयाँ ऋणसँगै ट्रम्पले एजसलाई तिर्ने रकम साढे २२ करोड डलर पुग्यो। यो डीसी होटलबाहेकको हिसाबकिताब थियो। यसरी ट्रम्पले पुनर्लगानी जुटाउँदै धितो सुरक्षित गर्न सफल रहे। 

ट्रम्पसँग अझै केही दिक्दारी भर्ने ऋण छन्। २०२४ सम्म तिरिसक्नुपर्ने अनुमानित ५ करोड ८० लाख डलरबराबरका दायित्व बाँकी छ। यसबाहेक १३ करोड डलरको २०२५ मा सकिने ऋण पनि बाँकी नै छ। यति हुँदाहुँदै ट्रम्पसँग अहिले साढे ३७ करोड डलर छ। यहीबाट उनले यी ऋण पनि तिर्न सक्छन्। फोर्ब्सबाट भावानुवाद 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .