परराष्ट्रमन्त्री डा. नारायण खड्का अर्को साता चीन भ्रमणमा जाने भएका छन्।
समकक्षी चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री डा. अगस्ट ०९ देखि ११ सम्म चीन भ्रमणमा जाने भएका हुन्।
दुई मन्त्रीहरूले १० अगस्ट २०२२ मा चीनको छिङ्दाओमा आ-आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यीले खड्काको सम्मानमा त्यहीँ रात्रिभोज पनि आयोजना गर्नेछन्।
मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्य भ्रमण सकेर ११ अगस्टमा काठमाडौं फर्किनेछन्।
यसअघि असार २६ गते चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेपाल भ्रमणमा आएकाथिए।
उनले नेपालमा रहँदा उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए। नेपालमा विकास सहायता सम्झौता एमसीसी अघि बढेसँगै अमेरिका र चीनको सक्रियता बढेको छ।
चिनियाँ उच्चस्तरीय टोली फर्किएपछि साउन १२ गते अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आएका थिए।
दुई दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री खड्कालाई पनि भेटेका थिए।
एमसीसी संसदबाट अनुमोदन भएपछि अमेरिकाले सैन्य कार्यक्रम एसपीपी अघि बढाउन चाहेको छ। तर नेपालले यसअघिको निर्णयअनुसार साउन ९ गते परराष्ट्र मन्त्रालयमार्फत एसपीपी अघि नबढाउने पत्र अमेरिकालाई पठाइसकेको छ।
दुई शक्ति राष्ट्रको तानातानबीच परराष्ट्रमन्त्री खड्का चीन जाने कार्यक्रम तय भएको हो। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका जाने कार्यक्रम थियो।
तर सैन्य कार्यक्रम एसपीपी अघि नबढ्ने भएपछि देउवालाई निम्तो गर्न अमेरिकाले अनिच्छा जनाइरहेको छ।
अहिलेसम्म देउवाको अमेरिका भ्रमण तय भइसकेको छैन। अमेरिकी मन्त्री डोनाल्ड लुले पनि देउवाको भ्रमणका लागि गृहकार्य भइरहेको बताएर फर्किएका छन्।
यसअघि प्रधानसेनापति प्रभुराम शर्माले अमेरिका भ्रमण गरेका थिए। तर, त्यहाँ सैन्य कार्यक्रम एसपीपीबारे कुरा भएको थिएन।

Shares

प्रतिक्रिया