ad ad

राजनीति


जब ओलीले ‘दूधको दूध पानीको पानी गर्दिम’ भन्दै अमेरिकामा फोन हान्न लगाए

जब ओलीले ‘दूधको दूध पानीको पानी गर्दिम’ भन्दै अमेरिकामा फोन हान्न लगाए

सन्तोष घिमिरे
साउन २०, २०७९ शुक्रबार १२:२४, काठमाडौँ

बिहीबार दिउँसो २ बजे।​ अल्फाबिटा कम्प्लेक्स, नयाँ वानेश्वर। वक्ता : केपी शर्मा ओली, एमाले अध्यक्ष। सहभागी : विभिन्न विदेशी र नेपाली सञ्चारमाध्यमका पत्रकारका साथै एमाले विदेश र प्रचार विभागको टिम।

अरुबेला कार्यक्रममा ढिला पुग्ने छवि बनाएका ओली बिहीबार दिउँसो भनेकै समयमा कार्यक्रम स्थलमा पुगे। एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले सबै पत्रकारलाई स्वागत गरेपछि अध्यक्ष ओली बोल्न सुरु गरे।

देउवा सरकारले चुनावको मिति घोषणा गरेकामा सराहना गरेर मन्तव्य थालेका ओलीले जनार्दन शर्मालाई सत्ता गठबन्धनले अर्थमन्त्रीमा पुन:नियुक्ति गरेकोम भन्दै चर्को विरोध गरे। शर्माको कल डिटेल हेर्न रोकिए पनि सबै नागरिकको फोन सरकारले अनधिकृत रुपमा ट्यापिङ गरेको उनले बताए। आफ्नो बालकोट निवासअघि सुराक गर्न सरकारले चार जना गुप्तचर खटाएको दाबी पनि गरे।

संक्रमणकालीन न्यायलाई पीडितलाई अझ पीडा दिनेगरी टुंग्याउन लागेकोमा विरोध गरेका ओलीले नागरिकता विधेयकमा आवश्यक छलफल नभएको बताए। प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरुद्ध महाभियोग प्रस्ताव संसदमा दर्ता गराएर ‘पेन्डिङ’ राखेकामा सत्ता गठबन्धनको विरोध गरेका ओलीले सभामुख अग्नि सापकोटालाई पनि भन्न बाँकी राखेनन्।

उनले सभामुखले पदीय हैसियत दुरुपयोग गरिरहेको र गैरजिम्मेवारी ढंगले काम गरिरहेको आरोप लगाए। देउवा सरकारलाई अनैतिक र निर्लज्जको संज्ञा दिएका ओलीले सरकारलाई निर्वाचन गराउने नैतिक हक नरहेको समेत भन्न भ्याए।

वैदेशिक मुद्रा सञ्चितिमा भारी गिरावटसँगै अर्थतन्त्र ध्वस्त भए पनि सत्ता गठबन्धनले कानमा तेल हालिरहेको उनको भनाइ थियो। करिब ४० मिनेट मुलुकको समसामयिक राजनीतिक मामिलामा बोलेपछि ओली रोकिए र पत्रकारलाई जिज्ञासा राख्न समय दिए।

हामीले ओली र पत्रकारहरुबीच भएको त्यही संवादको संक्षेप यहाँ प्रस्तुत गरेका छौं।

पत्रकार : के एजेन्डा लिएर चुनावमा लड्नुहुन्छ? पहिले नेकपाको दुईतिहाइ बहुमतको सरकार टिकाउन सक्नुभएन, जनताको आकांक्षा पनि पूरा गर्न सक्नुभएन...

ओली : हामीलाई एजेन्डा खोज्दै पर्दैन। त्यही समृद्ध नेपाल, सुखी नेपाली नै हो हाम्रो एजेन्डा। सामाजिक न्याय र समानतासहितको सबल नेपाल हाम्रो एजेन्डा हो।

पत्रकार : चुच्चे नक्सा चुनावी एजेन्डा हो कि?

ओली : हेर्नुस्, हाम्रो राष्ट्रियताको प्रश्न हो त्यो। हामी त्यसमा प्रस्ट छौं। नक्सा जारी गरेको कुनै सरकारविरुद्ध होइन। अन्तर्राष्ट्रिय कानुनअनुसार हाम्रो न्यायोचित हकको कुरा गरेका हौं। तथ्यमा आधारित भएरै सीमाका कुरा उठाएका हौं।​

पत्रकार : अमेरिकी सभामुखको ताइवान भ्रमण भयो, जुन चीनको अभिन्न अंग हो। यसले चीन र अमेरिकाबीचको सम्बन्धमा दरार ल्यायो। नेपालले कसरी लिने?

ओली : हामी एक चीन नीतिमा प्रतिबद्ध छौं। एउटा मात्रै चीन छ, अरु छैन। हाम्रो मान्यता के हो छिमेकीसँग वा जुनसुकै मुलुकसँग भित्र एउटा, बाहिर अर्को कुरा गर्नु हुँदैन। त्यसले सम्बन्धमा अविश्वास ल्याइदिन्छ। हामी छिमेकीका भर पर्दा मित्रको रुपमा रहनुपर्छ। तिब्बतबारे पनि हाम्रो नीति स्पष्ट छ। तिब्बत चीनको स्वशासित क्षेत्र हो। अन्य ठूला देशका अनेक स्वार्थमा नेपालमा हुन सक्छन्, तिब्बत मामिलालाई लिएर। त्यो उनीहरुको कुरा हो। हामीले हाम्रो स्वार्थ र हित हेरेर मात्रै काम गर्नुपर्छ। हाम्रो भूमि अरु कसैले हाम्रा छिमेकीविरुद्ध प्रयोग गर्न दिन हुँदैन।

अमेरिकी सभामुखको ताइवान भ्रमणको कुरा उठाउनुभयो। अरु देशको संवेदनशील मामिलामा सचेत हुनुपर्छ सबैले। अर्काको आन्तरिक मामिलामा हस्तक्षेपमा उत्रनु बिलकुल गलत हो। अर्काको मुलुकमा अशान्ति र तनाव गरिदिएर के फाइदा? हामी चाहन्छौं - हाम्रो छिमेक र विश्वमै शान्ति होस्। हामी छिमेकी वा अर्का मुलुकविरुद्ध कार्ड खेल्दैनौं। वैदिक कालदेखि हामी शान्तिका पक्षधर हाैँ। पृथ्वी शान्ति, आकाश शान्ति भन्नेमा विश्वास गर्दै आएको हो। अहिले पनि त्यही हो। तर अहिलेको सरकारले भूराजनीतिक सन्तुलन र हाम्रो छिमेक सम्बन्ध बिग्रने गरी काम गरिरहेको छ। यसले मुलुकलाई दीर्घकालीन रुपमा घाटा हुन्छ।

पत्रकार : अहिलेको सरकारले भूराजनीतिक सन्तुलन मिलाएन भन्नुभयो। अरु बेला पनि भूराजनीतिक चुनौतीको कुरा सुनिन्छ। खासमा के नमिलेको हो हाम्रो मुलुकमा? के लाग्छ यहाँलाई?

ओली : जस्तो युक्रेन मामिलामा नेपाल सरकारले राष्ट्रसंघमा लिएको पोजिसन। त्यसले हाम्रो असंलग्नता र परराष्ट्र नीतिलाई आघात पुर्यायो। हामी शान्तिका पक्षमा छौं। समस्या आए शान्तिपूर्ण ढंगले समाधान हुनुपर्छ भन्नु ठीक हो। त्यसमा हाम्रो मुलुक दृढताका साथ उभिन्छ। तर युक्रेन मामिलामा त्यसो भएन। युक्रेन युद्ध किन भयो, कसले उचाल्यो? के युक्रेनी जना युद्ध चाहन्थे त? चाहँदैनथे। त्यस्तो कुरामा पनि ख्याल नगर्ने? कतिवटा कुरामा भारत नचम्किँदा हुन्छ, चीन नचम्किँदा हुन्छ।

अनि निर्णय गर्न सक्ने ठाउँमा रहेका भिटो पावर प्रयोग गर्न सक्नेहरु आफ्नो ठाउँमा रहे हुन्छ। हामी उभिने एउटा युद्धको पक्षमा हो कि? युक्रेनी जनताले चाहेको युद्ध हो? होइन। युक्रेनी जनताले नचाहेको युद्धलाई कसले उचाल्यो? कुनै देशलाई अरुको स्वार्थको खेलमैदान बनाउनु हुँदैन। त्यहाँ हतियार कहाँका गइराख्या छन्, को लडिराख्या छन् त्यहाँ?  यस्ता कुरामा हामी शान्तिका पक्षमा उभिनुपर्छ, यसको वा त्यसको पक्षमा होइन। हामी युक्रेनको पक्षमा होइन, खासमा अरुकै पक्षमा उभिएको हो। हाम्रो तटस्थ परराष्ट्र नीतिविपरीत भयो। आक्रमणको विरोध त गर्न सकिन्छ, तर कसैका पक्षमा उभिइरहन जरुरी थिएन।

कुरा के हो भने नेपालको तटस्थताको नीति कायम हुनुपर्छ। हामी असंलग्न परराष्ट्र नीतिमा विश्वास राख्छौं। पहिले वार्सा प्याक्ट हुँदा हामी वार्सातिर पनि लागेनौँ, आज नेटोको एकलौटी छ, हामी त्यतापट्टि पनि लाग्दैनौँ। अहिले नेपाल कुनै पनि सैन्य गठबन्धन वा गुटतिर छैन। अब भविष्यमा पनि त्यसमा हाम्रो संलग्नता हुँदैन।

पत्रकार : ​एसपीपी अघि नबढाउने मामिलामा यहाँहरुकै सरकारका पालामा किन काम भएन? किन अमेरिकालाई पत्र लेखेर हामी अघि बढ्दैनौं भन्न सक्नुभएन? दोहोरो चरित्र भएन यहाँहरुको?

ओली : सरकारले एसपीपीको बाहिर आएको ड्राफ्ट होइन भन्न सकेन। अमेरिकीले होइन त्यो मस्यौदा गलत भन्यो, ठीकै छ मान्यौं। तर सत्ताधारीका नेताले के भने भने, यो त केपी ओलीले नै एसपीपी गर्न लाग्या रैछ। नेपाल आर्मीले पहिला केही पनि पत्राचार भएकै छैन भन्यो, अनि दोस्राे पत्राचार भएकै थियो। अनि केपी ओली सरकारका पालामा पत्राचार भएको भनेर पनि भन्न लगाइयो। केपी ओलीको मात्रै कुरा किन आयो, जबकि ओली प्रधानमन्त्री हुँदा उसलाई थाहै छैन। म २०१५ मा प्रधानमन्त्री हुनुअघि नै सुशील कोइरालाका पालामा पत्र गएको रहेछ। त्यसपछि शेरबहादुर र प्रचण्डका पालामा पनि पत्र गएको रहेछ। तर उनीहरुको बारेमा मिडियामा किन केही आएन? केपी ओलीलाई थाहा नदिइएको कुराचााहिँ किन आयो?

पत्रकार : प्रश्न के हो भने जुन ३, २०१९ को इन्डो-प्यासिफिक स्ट्राटेजी रिपोर्टमा सरकारको त्यतिबेलाको दाबीभन्दा फरक नेपाललाई स्टेट पार्टनरसिपको अंग भनेर उल्लेख भएर आयो। यो अनुबन्धनबाट हट्न त्यही बेला किन पत्र लेखिएन? पुराना कुरा हामीलाई भनिएन, तपाईंलाई पनि ढाँटियो।

ओली : हो हामी त्यसमा थिएनौं, छँदै छैनौं। त्यसपछि हामीले अमेरिकी सरकारलाई भन्यौं कि कहाँबाट इन्डो-प्यासिफिकमा नेपाल पर्यो।  म प्रधानमन्त्री छु मलाई नै थाहा छैन। परराष्ट्रमन्त्रीले पनि इन्डो-प्यासिफिकमा हामी छैनौं भनेको छ भनेपछि हामी कसरी आईपीएसको अंग भयौँ?

पत्रकार : तर त्यो कुरा बाहिर आएन नि? अक्टोबरमा हाम्रो राजदूत अर्जुन कार्की र अमेरिकास्थित नेपाली सैनिक सहचारी उटाह स्टेट जानुभयो। सन् २०१९ डिसेम्बरमा आईपीएसका प्रिन्सिपल अन्डर सेक्रेटरी आउँदा पनि त्यतिबेला रक्षा मन्त्रालयले हामी इन्डो-प्यासिफिकमा जान सकारात्मक छौं भनेको कुरा हामीले नै लेख्या थियौं।

ओली : त्यसमा सत्यता छैन। सरकारबाट त्यही बेला खण्डन गरिसक्या छौं। हामीले अमेरिकलाई एसपीपी हुँदैन भनेर त्यहि बेला अस्वीकार गरिसक्या छौं। त्यसबेला एउटा लहड थियो- लेख्दा सरकारको विरोध गर्ने, बोल्दा पनि विरोध गर्नुपर्ने। जब परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आधिकारिक रुपमा हामी आईपीएसमा छैनौं भन्नुभएको थियो। त्यति भनेपछि त्यो भन्दा आधिकारिक के हुन्छ त?

अर्को कुरा एसपीपीको ड्राफ्ट कति सत्य हो त? अमेरिकाले होइन भन्यो। त्यो हामीलाई मान्यौं। अर्को खालको त्यस्तो सम्झौता गर्ने काम त कतै यो सरकारले गर्दै छैन भन्ने आशंका छ। यो गठबन्धन अहिले पनि गोप्य पत्राचारमा माहिर छ। एमसीसी सम्झौता पास गर्नुअघि सत्ताधारी दुइटा नेता (प्रचण्ड र देउवा) ले आफ्ना पार्टी, मन्त्रिपरिषद्का साथी, पत्रकार र सिंगो देशलाई समेत ढाँटेर पाँच महिनाभित्र एससीसी सम्झौता पास गर्छौं भनेर अमेरिकालाई पत्र लेखेको होइन?

शेरबहादुर देउवाजीले पोल खोलेपछि प्रचण्डले त्यसबेला होइन भनेर ढाँटे। अनि फेरि प्रचण्डले अमेरिकालाई संयुक्त पत्र त लेख्या हो, तर भाषा होइन भनेर फेरि ढाँटे। पछि छताछुल्ल भएपछि थाहा भइगयो, सबै कुरा वाचा गरेको रहेछ। राज्यको शक्तिबाट मिडियालाई पनि उपयोग गर्छौं भनेर पत्रमै लेख्या रहेछन्- प्रचण्ड र देउवाले। आफ्नै देशका नेताले ढाँटे भनेर बाहिर भन्नुपर्दा दुःख लाग्ने रहेछ। तर के गर्नु ढाँटेका छ रहेछन् नि! एकातिर एमसीसी पाँच महिनामा पास गर्ने वाचा गर्या छ अमेरिकातिर। अर्कोलाई गर्दिनँ भनेर वाचा गरेको छ।​

पत्रकार : चीनलाई आईपीएसमा जाँदैनौं, एमसीसी पास गर्दिनँ भनेर प्रचण्डले बकाइदा भन्या कुरा पनि आयो नि? 

ओली : सत्ता गठबन्धनले निकै दोहोरो चरित्र देखायो। एकातिर सडकमा तताउने, अर्कोतिर भित्रभित्र पत्र लेख्ने अमेरिकालाई। बाहिर उनका पार्टीका कार्यकर्ताले ढुंगा हान्ने भित्र अमेरिकासँग हुन्छ भन्ने। यस्तो दुईजिब्रे पारा देखाए। अन्तर्राष्ट्रिय सम्बन्धमा यस्तो खेलाँची किन?

पत्रकार : एसपीपीबारे तपाईंको सरकारले अनुमति दिएको भनेर त तत्कालीन सेनापति राजेन्द्र क्षेत्रीले भन्नुभएकै छ त?

ओली : अहिलेको आएको एसपीपीको कुरा छुट्टै मस्यौदा आयो। सुशील कोइराला प्रधानमन्त्री हुँदा नेपाली सेनालाई सबैभन्दा पहिला पत्र आएको रहेछ सन् २०१५ मा, संविधान जारी भएको ३ दिनपछि। त्यसलाई सेनाले रक्षा मन्त्रालयमा पठाएको रहेछ, प्रधानमन्त्री र रक्षामन्त्री समेत कोइराला हुँदा। कोइरालाजीले निर्णय गर्नुभएको रहेछ- सहमति दिएर। त्यसका बारेमा खोतल्नुस् न। रक्षा मन्त्रालयबाट प्रति लिनुस् सूचनाको हकअन्तर्गत। त्यो बेलाको कुरा गर्दै छु फेरि। संविधान बनेपछि सरकार परिवर्तन भयो।

नेपाली सेनाले के कारणले हो कुन्नि रक्षा मन्त्रालयलाई जानकारी नगराई अमेरिकालाई पत्र लेखेछ। रक्षामन्त्री समेत म आफैं प्रधानमन्त्री छु। कात्तिक १० गतेतिर अमेरिकालाई लेखेका रहेछन्- प्रधानसेनापति क्षेत्रीले। तर एसपीपीमा त्यतिबेला जम्माजम्मी प्राकृतिक विपत्तिलाई सम्बोधन गर्ने कुरा मात्रै थियो।​

एसपीपीको सवालमा २०१९ को फेब्रुअरीतिर नेपाल र श्रीलंका एसपीपीमा नयाँ देश आबद्ध भएका छन् भन्ने आयो अमेरिकाको आईपीएसको रिपोर्ट। आएपछि किन आयो भनेर सोध्यौँ। पहिले अमेरिकीले हो भने, पछि होइन भनेर वक्तव्य पनि दिए। २०७४ साल प्रचण्ड प्रधानमन्त्री हुँदा अर्को पत्र गएको रहेछ। फेरि देउवा प्रधानमन्त्री हुँदा पत्र गएको रहेछ। हामीले परराष्ट्र सचिवको कार्यदल बनाएर अब एसपीपीअन्तर्गत केही पनि पत्राचार नगर्ने भनेर रोक्यौँ। अब एसपीपीअन्तर्गत कुनै गतिविधि नगर्ने भनेर रोक्यौं। अहिले आएर फेरि एसपीपीको नयाँ ड्राफ्ट निकै खतरनाक खालको आयो। त्यो आएपछि निकै हल्ला र चर्चा भयो। 

अर्को कुरा- सेनाले अमेरिकी दूतावासलाई सीधै पत्र लेख्ने नै होइन। त्यो बिलकुल त्रुटिपूर्ण भयो। प्रधानमन्त्री रक्षामन्त्रीको जानकारी बेगर त्यसरी पत्र लेख्न नहुने। अब पत्रकार साथीहरु तत्कालीन प्रधानसेनापति क्षेत्री त हुनुहुन्छ त। सोध्नुस् न उहाँलाई। किन सोध्नुहुन्न? सोधेर स्पष्ट गर्नुस्।

पत्रकार : उहाँ अमेरिका हुनुहुन्छ।

ओली : अमेरिका फोन लाग्दैन?

पत्रकार : कुरा गरेँ मैले उहाँलाई।

ओली : के भन्नुभयो त?

पत्रकार : प्रधानमन्त्री ओलीलाई बकाइदा सोधेर चिठी पठाएको हो भन्नुभएको थियो।

ओली : सोधेर पठाएको हो भन्नुभयो क्षेत्रीजीले नै? म तपाईंकै अघिल्तिर फोन गर्दिम क्षेत्रीलाई? तपाईँकै अघि फोन लाइदिम उहाँसँग।

पत्रकार : हो, मैले कुरा गर्दा क्षेत्रीले त्यही भन्नुभयो।

ओली : अहिले अमेरिकामा कतिबेला भयो? (राजन भट्टराईलाई सोध्दै)

राजन भट्टराई : उठ्ने बेला भयो। बिहानको ६ बज्यो।

पत्रकार : मैले च्याटमै उहाँसँग कुरा गरेको छु। मैले एसपीपीबारे के गर्नुभयो कसो गर्नुभयो भनेर सोधें। अन्तिममा त क्षेत्रीले तपाईं को हो भन्नुभयो।

ओली : (झोक्किँदै) यति इन्टरनेसनल पत्रकारहरु माझ यस्तो कुरा गर्ने?

पत्रकार : क्षेत्रीजी अहिले पनि अनलाइन हुनुहुन्छ। कुरा गर्नुस् न।

ओली : ल फोन लाउनुस् न दूधका दूध पानीका पानी गर्दिम् न। उहाँले म प्रधानमन्त्री सोध्नुभएको थियो कि थिएन भनिहाल्नुहुन्छ नि। सत्य त सत्य हो नि, त्यो कुरा बाहिर आउनुपर्नेछ।

एमाले विदेश विभाग प्रमुख भट्टराईले फेसबुक म्यासेन्जरमा फोन प्रयास गरे। तर, क्षेत्रीको फोन लागेन, कार्यक्रम सकियाे।

 मेरा घर अघिल्तिर देउवा सरकारले चारजना गुप्तचर खटाएको छ : ओली

भिडिओ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .