ad ad

राजनीति


धरानले देखायोः मदन भण्डारीले मन पराएका अशोक राईको ओरालो यात्रा

धरानले देखायोः मदन भण्डारीले मन पराएका अशोक राईको ओरालो यात्रा

सागर न्यौपाने
मंसिर २०, २०७६ शुक्रबार १८:१४,

मंसिर १४ गते भएको उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदको नतिजा अप्रत्यासित रह्यो। निरन्तर जितिरहेको कम्युनिष्ट पार्टीको उमेदवारलाई हराउँदै २८ वर्षपछि नेपाली कांग्रेसले नयाँ इतिहास रचेर चर्चा बटुल्यो।

सोही क्षेत्रमा पूर्वका स्थापित नेता अशोक राईको पार्टीको जमानत जफत भएको प्रसंग पनि उत्तिकै गम्भिर बहसको विषय बनेको छ।

कुनै बेला दलभित्र र बाहिर समेत राष्ट्रियरुपमै लोकप्रिय नेताका रुपमा स्थापित अशोक राईको आफ्नै घरसमेत रहेको पूर्वी नगर धरानमै यसपटक कुनै प्रभाव देखिएन। यो पछिल्लो घट्नालाई आमजनतामा उनको आकर्षण र अपिल घट्दै गएको बलियो उदाहरणका रुपमा समेत लिइएको छ।

२०६० मा जनकपुरमा भएको एमालेको सातौँ महाधिवेशनमा सर्वाधिक मतसहित केन्द्रीय सदस्य निर्वाचत भएका राई २०६५ सालमा रुपन्देहीको बुटवलमा भएको आठौं महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर उपाध्यक्ष पदमा निर्वाचित भए।

तर, नवौं महाधिवेशन आउनुअघि नै उनले एमाले पार्टी परित्याग गरे। नेतृत्वले आदिवासी जनजातीको पहिचानको मुद्दालाई सम्बोधन नगरेको भन्दै एमाले त्याग गरि संघीय समाजवादी पार्टी नेपाल गठन गरे। नयाँ पार्टी गठन गर्दा तत्कालीन एमालेबाट ठूलो संख्यामा केन्द्रीय नेता सँगै लिएर उनी बाहिरिए।

कम्युनिष्ट सिद्धान्त अपूरो भन्दै पहिचानको राजनीति शुरु गरेका राईले न त आफ्नो नयाँ पार्टीलाई स्थापित गर्न सके न त पहिचानको राजनीतिलाई नै कुनै दिशा दिन।

२०६९ साल मंसिर ७ गते एमाले छाडेर संघीय समाजवादी पार्टी नेपाल गठन गरेका राईको नयाँ दलले २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा देशभर ६५ स्थानमा उम्मेदवारी दिएपनि कतै चुनाव जित्न सकेन। उनी आफूसहित केहि नेता समानुपातिक सिटमा सांसद बने।

त्यसपछि २०७२ जेठ २२ गते उपेन्द्र यादव नेतृत्वको मधेसी जनाधिकार फोरम र खस समाजवादीसँग एकता गरे।

त्यसपछि बनेको यादव–राई नेतृत्वको पार्टी फेरि पूर्वप्रधानमन्त्री डा बाबुराम भटराई नेतृत्वको नयाँशक्ति पार्टीसँग करिब सात महिनाअघि एकिकरण भई समाजवादी पार्टी नेपाल बनेको छ।

भटराई, यादव र राई मुलुककै तीन वरिष्ठ नेता रहेको पार्टी राईकै प्रभाव क्षेत्र र आदिवासी जनजातीको बाहुल्य रहेको धरानमै मेयर उमेदवारको जमानत जफत भएपछि बहसको विषय बनेको हो।

मंसिर १४ गतेको उपनिर्वाचनमा कांग्रेसका तिलक राईले २६ हजार ७ सय ९ मत ल्याएर विजयी हुँदा नेकपाका उमेदवार प्रकाश राईले २३ हजार ९ सय ९४ मत ल्याए भने अशोक राईको दलका उमेदवार गजेन्द्र इस्वोले जम्मा ७५५ मत मात्रै पाएर जमानत जफत भयो।

त्यसो त अशोक राई सक्रिय नरहेका पनि होइनन्। पार्टीका नेताहरुका अनुसार चुनावका बेला राम्रैसँग खटेका थिए उनी।

समाजवादीका उपमहानगर कमिटि अध्यक्ष ताजुव लिम्बुका अनुसार उपनिर्वाचनको बेलामा पनि अशोक राई मंसिर २ देखि १० गतेसम्म ८ दिन धरानमै निर्वाचनको प्रचारमै खटिएका थिए।

त्यसोभए समाजवादीका उम्मेदवारको मत किन ७५५ मात्रै आयो त?

लामो समय एमालेमा सँगै काम गरेका, एमाले परित्याग गर्दा र पहिचानको राजनीतिमा समेत धेरै वर्ष साथ दिएर हाल नेकपा फर्केका नेता अजम्बर राई काङमाङको बुझाइमा ‘अशोक राईको अपिलिङ पावर र आकर्षण कम हुँदै गएको एउटा दृष्टान्ट हो’, धरानको नतिजा।

काङमाङले नेपालखबरसँग भने, ‘नेकपा अध्यक्ष प्रचण्ड जहाँ जहाँ पुग्छन्, त्यहाँ एकखालको तरङ्ग पैदा गरेर छाड्छन्। नेतामा त्यो क्षमता हुनुपर्छ। आजकल अशोक राई जाँदा त्यस्तो तरङ्ग आउँदैन, उनको तरङ्ग ल्याउने सामर्थ्य कम हुँदै गएको छ।’

उनले गठन गरेको नयाँ पार्टीले अपेक्षित गति लिन त सकेको थिएन। तर, यादव नेतृत्वको मधेसकेन्द्रित दलसँग पार्टी एकिकरण गरेपछि जनजाती र आदिवासीमा झनै उल्टो र नकारात्मक प्रभाव परेको काङमाङको विश्लेषण छ।

काङमाङका अनुसार सांगठनिक रुपमा ठूला कमिटिहरु बनाउने तर काम गर्न नसक्ने हुँदा नयाँ पार्टीहरुले गति लिनै सकेनन्। उता अशोक राईको संगठनमा व्यक्तिगत पकड पनि कमजोर हुँदै गयो।

अशोक राईले शुरु गर्न खोजेको नयाँ राजनीतिक वैचारिक मुद्दालाई प्रष्टता दिएर सफल बनाउन नसकेका कारण जनमानसमा उनको प्रभाव खँस्कँदै गएको काङमाङको भनाइ छ।

‘फरक धारको र पहिचानको राजनीति अघि बढाएपनि अशोक राईले मधेसी जनअधिकार फोरमसँग गरेको पार्टी एकताको खास उद्देश्य जनजाती र आदिवासीलाई बुझाउनै सकेनन्,’ काङमाङले भने, ‘नेताले जनतालाई चुम्बकीय रुपमा आकर्षित गर्ने क्षमता हुनुपर्छ, उनको त्यो चुम्बकीय क्षमता कम हुँदैगएको छ।’

संघीयता र पहिचानको मुद्दालाई बलियो बनाउँदै वैकल्पिक राजनीतिक शक्ति बनाउने अभियान पूर्ण रुपमा सफल बनाउन नसक्नुमा उनी आफैं दोषी रहेको आरोप पनि उनलाई लाग्न थालेको छ।

सरकारमा रहेर संविधान संशोधन नगरेपछि आदिवासी, जनजातीहरुले सबैभन्दा बढी उनीप्रति आशंका व्यक्त गरे। केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेको समाजवादीले संविधान संशोधन नगरे सरकार छाड्ने सार्वजनिक आह्वान गर्ने तर सरकार पनि नछाड्ने जस्ता रवैयाले नेताहरुलाई थप अलोकप्रिय बनाएको सो दलका नेताहरु बताउँछन्।

‘अशोक राईकै क्षेत्रमा कम मत मात्रै होइन, उपनिर्वाचनसम्म आइपुग्दा जमानत जफत हुनु गम्भिर समीक्षाको विषय भएको’ समाजवादीका एक नेताले बताए।

२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा सोही क्षेत्रबाट अशोक राई नेपाली कांग्रेससँगको गठबन्धनबाट उम्मेदवार बने। तर, उनी एमाले र माओवादी केन्द्रका गठबन्धनका उम्मेदवार जयकुमार राईसँग पराजित भए।

जयकुमारले अशोकलाई २२ हजार ४ सय ५ मतले पराजित गरेका थिए। ४४ हजार ५ सय २८ मत जयकुमारले ल्याउँदा अशोक राईको २२ हजार १ सय २३ मत आएको थियो।

दुईवर्षपछि भएको उपनिर्वाचनमा राईकै गृहनगरमा समाजवादी पार्टीकै मेयर उमेदवारको जमानत नै जफत भयो।

संघीय समाजवादी फोरममा बाबुराम भट्टराईको नयाँशक्ति पार्टी मिसिएर समाजवादी पार्टी बनेपछि सुधारको अपेक्षा गरिएको थियो। पूर्वी नेपालमा अशोक राईको आफ्नै व्यक्तित्व, डा बाबुराम भट्टराईको नयाँ शक्तिसमेत मिसिएपछि धेरैले राम्रो पोजिसन ल्याउने अपेक्षा गरेपनि त्यसो हुन सकेन ।

नेकपा हराउन कांग्रेसलाई मत
त्यसो त, पार्टी धरानमा त्यसरी कमजोर नभएको तर नेकपा हराउन कांग्रेस उमेदवारलाई समाजवादीले भोट हालेको सो पार्टीका केहि नेताहरुले खुलाउन थालेका छन्।

समाजवादीका धरान उपमहानगर कमिटि अध्यक्ष ताजुव लिम्बुले पार्टीको मत ४ हजार भएपनि धेरै मत कांग्रेसतिर ‘डाइभर्ट’ भएको दाबी गरे।

‘कम्युनिष्ट गढका रुपमा रहेको उक्त क्षेत्रमा २८ वर्षमा पनि केही काम नभएपछि हामीले विकल्पका लागि सहयोग गर्न जनतालाई आग्रह गरेका थियौं’, उनले भने, ‘तर, हामीलाई जित्दैन भन्ने ठानेर जनताले सबै मत कांग्रेसलाई दिएछन्।’

अशोक राई समेतले बनाएको धरानको कम्युनिष्ट गढ भत्काउन कांग्रेस नेता शेखर कोइरालाको रणनीति सफल हुँदा राई चाहिँ झन् असफल सावित भएका छन्।

कुनै समयका पूर्वका पुराना, शालिन र प्रभावशाली कम्युनिष्ट नेता राई सांगठनिक रुपमा अब्बल नेता मानिन्थे।

२०३३ सालमा तत्कालीन कोर्डिनिसेन केन्द्रका नेता अमृत बोहराबाट पार्टी सदस्यता लिएर उनले राजनीतिक यात्रा सुरु गरेका थिए। तत्कालीन मालेका लोकप्रिय नेता मदन भण्डारीसँग उनले १० वर्ष एउटै कमिटीमा रहेर काम गर्दा अशोक राईलाई पूर्वमा भण्डारीले मन पराएका नेताका रुपमा हेरिन्थ्यो।

०४८ र ०५१ सालमा खोटाङबाट चुनाव जितेका राई तीन पटक मन्त्री बनेका थिए।

२०५१ मा बनेको मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारको यातायातमन्त्री भएका उनी २०५३ मा फेरि लोकेन्द्रबहादुर चन्दको प्रधानमन्त्रीकालमा संसदीय व्यवस्थामन्त्री र २०६१ मा शेरबहादुर देउवाको सरकारमा स्वास्थ्यमन्त्री बने।

भद्र स्वभावका उनी वामपन्थी धारबाट राजनीति सुरु गरेर पहिचान तथा आदिवासी जनजातिको राजनीति हुँदै फेरि मूलधारमै फर्कने प्रयासमा छन्।

भट्टराईको नयाँ शक्ति पार्टीसँगको एकता उनी फर्कन चाहेको मूलधारको राजनीतिका लागि भएको समाजवादी पार्टीका उपाध्यक्ष नवराज सुवेदीको भनाइ छ।

२०४४ ताका मदन भन्डारी काठमाडौं केन्द्रित हुनुपरेपछि समग्र कोशीको जिम्मा पाएका थिए, अशोक राईले। त्यसपछि २०६५ मा एमालेको सबैभन्दा बढि मत ल्याएर उपाध्यक्ष बन्दासम्म अशोक राईको राजनीति एउटै कोर्समा अघि बढ्यो। त्यसपछि उनले तय गरेका विभिन्न राजनीतिक घुम्तीहरू र धरानको पछिल्लो परिणामसम्मका परिघट्नाहरूले भने अब आफ्नो त्यो राष्ट्रिय लोकप्रियता फर्काउन राईलाई निकै कठिन सावित हुने प्रष्टै देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .