राजनीति


प्रचण्डसहितका नेतासँग गृहमन्त्री खाण र कानुनमन्त्री शर्माको भेट

प्रचण्डसहितका नेतासँग गृहमन्त्री खाण र कानुनमन्त्री शर्माको भेट

नेपालखबर
साउन २, २०७९ सोमबार ११:१, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका माओवादी नेतासँग छलफल गरेका छन्।

सोमबार बिहान दाहाल निवास खुमलटारमा भएको छलफलमा माओवादी नेताहरू देवप्रसाद गुरुङ, वर्षमान पुन र शक्ति बस्नेत पनि सहभागी थिए।

सरकारले संसदमा पेश गरेका नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकसहितका विधेयकबारे नेताहरूबीच कुराकानी भएको गृहमन्त्री खाणले जानकारी दिए।

‘सरकारले संघीय संसद्मा पेस गरेको नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकसहितका अन्य विधेयकबारे कुराकानी भयो’ गृहमन्त्री खाणले भने, ‘ती विधेयकबारे संसदमा सत्तारुढ गठबन्धनको एउटै धारणा बनाएर अगाडि बढ्ने कुराकानी भएको छ।’

त्यस्तै छलफलमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सम्बन्धमा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा पनि कुराकानी भएको थियो।

यो विषयमा पनि सत्तारुढ दलहरूको एउटै धारणा बनाएर अघि बढ्ने सैद्धान्तिक सहमति बनेको छ।

सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक असार २५ गते शुक्रबार संघीय संसद् सचिवालयमा दर्ता गराएको थियो।

त्यसैदिन सरकारले २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक,  (जसलाई संसद्को राज्य व्यवस्था समितिले २०७७  असार नौ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको थियो) फिर्ता  लिएको थियो। त्यो विधेयक संसद्मा पेस भएर संशोधनको प्रक्रियाका लागि अनुमति पाइसकेको छ।

सरकारले अन्य अत्यावश्यक विधेयकहरु पनि संसदमा पेश गरेको छ।

ती विधेयकका सम्बन्धमा पनि सत्तारुढ दलहरूको एउटै धारणा बनाएर अघि बढ्ने सैद्धान्तिक सहमति बनेको छ। 

गृहमन्त्री खाणले नागरिकता विधेयकमा सहमति जुटाउन राजनीतिक दलका शीर्ष नेताहरूसँग पटक–पटक वार्ता र छलफल गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad