राजनीति


गगनको प्रश्न : सरकारले ओलीकै काम दोहोर्‍यायो, हामीले त्यसैलाई बोकेर हिँड्नुपर्ने?

गगनको प्रश्न : सरकारले ओलीकै काम दोहोर्‍यायो, हामीले त्यसैलाई बोकेर हिँड्नुपर्ने?

नेपालखबर
असार ३२, २०७९ शनिबार १९:३४, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी केन्द्रीय समितिको बैठकमा पार्टी सञ्चालन र सरकार सञ्चालन गर्ने सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उनले सरकारको यही कार्यशैली जारी रहे आगामी चुनावमा कठिनाइ आउने चेतावनी दिए। 

‘सरकार चलाएको १ वर्ष भयो। यसरी नै अघि गए फेरि पनि हामीले मत पाउन सक्लाउँ?’ एक केन्द्रीय सदस्यका अनुसार महामन्त्री थापाले प्रश्न गरे, ‘हिजो सरकार कसरी चलाउने भनेर संसददेखि सडकसम्म भन्यौँ। तर आज यो सरकारले ओली सरकारकै काम गर्दै आएको छ। हामीले त्यसैलाई बोकेर हिँड्नुपर्ने? यो प्रश्नले हामीलाई लखेटिरहन्छ।’

‘अर्थ मन्त्रालय हामीले नराख्नु हाम्रो गल्ती थियो। सरकार छ भन्ने अनुभूति भएन। ओली सरकारको कुरा अहिलेको सरकारले  गरिरहेको छ,’ उनले थपे, ‘हामीले त्यसैलाई बोकेर हिँड्नुपर्ने। फेरि पनि भित्ता पुर्‍याउने कुरा गर्नुभयो भने तपाईंले बुझ्नुस् हामी पनि निर्वाचित महामन्त्री हौँ।’

‘के हाम्रो काम निर्णय मात्र बिकेर हिँड्ने, संसदमा ताली मात्र ठोक्ने हो?’ महामन्त्री थापाले प्रश्न गरे, ‘सभापति, वरिष्ठ नेताबाट आएको निर्णय बोकेर ताली ठोक्ने मात्र हाम्रो काम होइन।’

यसअघि बैठकमा नेताहरुले गुट बैठक र मिडियाबाजीमा रमाएको भन्दै महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको आलोचना गरेका थिए। थापाले त्यसको बचाउ गर्दै भने, ‘संवैधानिक परिषदको कुरा समाचारबाट र ट्विटबाट थाहा पाएपछि त्यसको प्रतिक्रिया पनि ट्विटबाटै दिएका हौँ। कोठाबाट थाहा पाएको भए कोठाबाटै प्रतिक्रिया आउँथ्यो।’ 

उनले आफूहरुमाथि गुट भेला गरेको निराधार आरोप लगाइएको बताए।

‘१४ ओटा काम हामीले गर्नुपर्ने विधानले दिएको छ। सभापतिले कलम नचोपी केही पनि हुँदैन। अहिले सभापतिको अगाडि एक शब्द पनि नबोल्ने? अघिका गुट बैठक गुगलभरि भेटिन्छन्। खोजेर हेर्नुहोला। ठूलो घर हुनेले ठूलो घरमा मिटिङ गरे। घर नहुनेले पार्टी प्यालेसमा गरे,’ थापाले भने, ‘०६८ सालमा शेरबहादुर देउवाले राजीनामा दिएर हिँड्दा फकाउने धनराज र हामीहरु हौँ।’

थापाले ६ महिनासम्म पार्टीका विभागहरु गठन नभएको भन्दै अबको सात दिनभित्र गठन गर्नुपर्ने बताए।

‘६ महिनामा विभाग गठन भएन, अब पनि गठन भएन भने राम्रो सन्देश जाँदैन। ७ दिनभित्रै विभाग गठन गरौँ। भात्र संगठन पूर्णता दिऊँ,’ थापाले भने।

उनले स्थानीय तह निर्वाचनको नतिजालाई लिएर दम्भ राख्न नहुने तर एक्लै चुनाव लड्न सकिन्ने भन्ने लघुताभाष पनि पाल्न नहुने बताए।

‘तीन सयभन्दा बढी ठाउँ जित्यौँ भन्ने दबाब नराखेको राम्रो,’ उनले भने, ‘तर, चुनावपछि एक्लै पनि लड्न सकिन्छ! भन्ने लघुताभासले पार्टी कतै पुग्दैन। यो कुराले सभापति र पार्टी कतै पुग्दैनन्।’ 

महामन्त्री थापाको जवाफमा सभापति देउवाले उनलाई भने, ‘फोन चाहिँ उठाउनुस न फोन।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad