राजनीति


गभर्नरबारे सत्ता गठबन्धनमा के भयो कुराकानी? प्रधानमन्त्रीले के भने?

गभर्नरबारे सत्ता गठबन्धनमा के भयो कुराकानी? प्रधानमन्त्रीले के भने?

नेपालखबर
असार ३१, २०७९ शुक्रबार १३:३४, काठमाडौँ

टेक नामसहित नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य भएको आरोपले विवादमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई लिएर राजनीति तातेको छ।

खास गरी अधिकारीसँगैको विवादमा जोडिँदै बजेट निर्माणमा पनि विचौलियाको साथ लिएको आरोप लागेपछि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिइसकेका छन्।

तत्कालीन एमाले सरकारको पालामा गभर्नर बनाएका अधिकारीले शर्माले आफू अर्थमन्त्री हुँदै हटाउन चाहेका थिए। तर सर्वोच्च अदालतले गभर्नर अधिकारीलाई फर्काइदियो।

यस्तोमा अर्थमन्त्री शर्माको बहिर्गमनका कारण तनावमा रहेका माओवादी कार्यकर्ताहरुले पछिल्लो समय गभर्नर अधिकारीविरुद्ध निरन्तर प्रदर्शन गरिरहेका छन्। 

यो विषयलाई लिएर सदनदेखि सडकसम्म तातेको छ। सडकमा माओवादी कार्यकर्ताले राजीनामा मागेर प्रदर्शन गर्दा सदनमा माओवादीकै सांसदले गभर्नरविरुद्ध कुरा उठाइरहेका छन्। 

एमालेमा गभर्नर अधिकारीको संलग्नताबारे छानबिनको माग उठेको छ। तर उनी २०७३ सालमै एमालेको संलग्नताबाट अलग्गिएको पत्र च्यासलबाट बिहीबार सार्वजनिक भएको छ।

यस्तोमा शुक्रबार बिहान सत्तारुढ गठबन्धनका नेताहरुको बैठक बालुवाटारमा बसेको थियो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत जानुअघि बसेको उक्त बैठकमा पनि गभर्नरको मुद्दा उठेको दाबी गरिएको छ। 

उक्त बैठकमा नेताहरुले कुरा उठाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नरले राजीनामा दिँदा नै उचित हुने बताएको दाबी गरिएको छ।

देउवाले उक्त बैठकमा गभर्नरले राजीनामा दिएर जाँदा नै नैतिक हुने बताएको दाबीसहित समाचार आइरहँदा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले यसबारे कुनै कुरा नै नभएको बताएका छन्। 

उनले नेपालखबरसँगको कुराकानीका क्रममा प्रधानमन्त्री देउवाले गभर्नरबारे कुनै कुरा उच्चारण नगरेको बताएका छन्। 

त्यसैगरी नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले पनि आफू बैठकस्थलमा रहँदासम्म प्रधानमन्त्रीले गभर्नरको विषयमा कुनै कुरा नगरेको बताए। 

राजीनामा मागिएको प्रशंगमा बस्नेतले आफूले प्रधानमन्त्रीले त्यसबारे कुनै कुरा बोलेको सुन्दै नसुनेको जानकारी दिएका छन्।

यो बैठकमा नेताहरुले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबारे छलफल गरेका थिए। ती दुई आयोगको विधेयकमाथि नेताहरुले छलफल गरेर शान्ति प्रक्रियालाई निचोडमा लैजान सहमति जुटाएको बस्नेतले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad