व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छा लगायतमाथि चार वटा कसुरमा मुद्दा चलाइने भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन वटा कसुरमा र सम्पत्ति शुद्धीकरण विभागले सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलाउने भएको हो।
चार कसुरमध्ये तीन वटा कसुरमा अनुसन्धान टुंगिएर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकिएको छ। तर सरकारी वकिल कार्यालयले एक सातापहिले नै पुगेका ती प्रतिवेदन अझै अध्ययनकै क्रममा रहेको जनाएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सोमकान्त भण्डारीले सीआईबीबाट दुई वटा प्रतिवेदन आएको र अहिले सरकारी वकिल कार्यालयले छुट्टाछुट्टै अधिकारी तोकेर ती प्रतिवेदन अध्ययन गरिरहेको बताए।
‘हामीसँग म्याद पर्याप्त छ। दुई जना साथीहरूले छुट्टाछुट्टै ती प्रतिवेदन हेरेर अभियोजनको तयारी गरिरहनु भएको छ। हामी म्यादभित्रै अभियोग दायर गर्छौँ,’ भण्डारीले नेपालखबरसँग भने।
सीआईबीले बिमा सम्बन्धी ऐन अनुसारको कसुर र धितोपत्र सम्बन्धी कसुरमा छुट्टाछुट्टै अनुसन्धान प्रतिवेदन सीआईबीमा बुझाएको छ।
सुरुमा बुझाएको बिमा सम्बन्धी कसुरको अनुसन्धान प्रतिवेदनमा ४० जनाभन्दा बढीलाई प्रतिवादी बनाउन सीआईबीको राय छ।
सीआईबीले व्यवसायीहरू दीपक भट्ट, सुलभ अग्रवाल, साहिल अग्रवाल, शेखर गोल्छा, ऋषिराज मोर र सन्दीप चासनसहितलाई प्रतिवादी बनाउन सीआईबीको अनुसन्धान प्रतिवेदनमा राय छ। बिमा सम्बन्धी कसुरमा सीआईबीले यी सबै प्रतिवादीहरूलाई गरी ४ अर्ब ६५ करोड बिगो कायम गरेको छ। बिमा सम्बन्धी कसुरमा ८ वटा संस्थाको संलग्नता देखिएको छ।
शेखर गोल्छा संस्थापक अध्यक्ष र दीपक भट्ट पनि प्रमुख लगानीकर्ता रहेको हिमालयन रिइन्सुरेन्स कम्पनीले मात्रै २ अर्ब ६३ करोड अपचलन गरेको दाबी सीआईबीले गरेको छ।
यस्तै नेपाल माइक्रो इन्सुरेन्स, हिमालयन सेक्युरिटी बैंकर्स, हिमालयन क्यापिटल, हिमालयन इन्भेस्टमेन्ट बैंकर्स लिमिटेड र भृकुटी स्टल ब्रोकिङ लगायत ८ वटा कम्पनीमार्फत गैरकानुनी कारोबार गरेको सीआईबीको दाबी छ।
यो कसुरमा उनीहरूलाई बिगो, जरिवानासँगै ३ देखि ५ वर्षसम्म कैद सजाय गर्न माग गर्न सीआईबीको राय छ।
धितोपत्र सम्बन्धी कसुरमा दीपक भट्ट, सुवि अग्रवाल (सुलभकी पत्नी), ऋषिराज मोरसहित कम्तीमा ७५ जनालाई प्रतिवादी बनाउनु पर्ने रायसहितको प्रतिवेदन सीआईबीले बुझाएको छ।
‘हाम्रो अनुसन्धानमा ७५ जनाभन्दा बढीलाई प्रतिवादी बनाउनु पर्ने राय छ। त्यसमा सरकारी वकिल कार्यालयबाट केही संख्या तलमाथि भए पनि यो कसुरमा ७५ जनाभन्दा कम प्रतिवादी हुँदैनन्,’ सीआईबी स्रोतले नेपालखबरसँग भन्यो।
उनीहरूले झुटो विवरण बनाइ धितोपत्रको कारोबार गरेको, फर्जी कारोबार गरेर बजार प्रभावित पारेको, जालसाजीपूर्वक कारोबार भएको सीआईबीको निष्कर्ष छ। यी प्रतिवादीहरूले आफ्नै एकअर्का कम्पनीमार्फत आपसी कारोबार गरेर कृत्रिम रूपमा सेयरको मूल्य बढाएको पनि सीआईबीको दाबी छ। धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार आपसी कारोबार गर्नु गैरकानुनी हो।
यस्तो कारोबारमा क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स, लिबर्टी माइक्रो इन्सुरेन्स, प्रोटेक्टिभ माइक्रो इन्सुरेन्स, नेपाल माइक्रो इन्सुरेन्स, गार्जियन माइक्रो इन्सुरेन्सको प्रयोग गरेको खुलेको छ। इन्सुरेन्स कम्पनीबाट रकम निकालेर सेयर कारोबार गरेको सीआईबीको निष्कर्ष छ।
यो कसुरमा १ अर्ब बिगो कायम गर्न सीआईबीको राय छ।
सुलभ अग्रवालको परिवारको हकमा भने छुट्टै अभियोग पनि दायर भएको छ। सुलभ अग्रवालले आफ्नो नाममा हिमालयन लाइफ इन्सुरेन्समा रहेको सेयर बिक्री गर्नका लागि अंश मुद्दाको नाटक गरेको आरोप छ। काठमाडौँ जिल्ला अदालतबाट अंश मुद्दा मिलापत्र गरेर सुलभले आफ्नो सेयर छोराको नाममा नामसारी गरी बिक्री गरेका थिए। सुलभ आफै अध्यक्ष रहेको कम्पनीको सेयर बिक्री गर्न कानुनी रूपमा नमिलेपछि उनले अंशबण्डाको कागज बनाएका थिए। यो विषयमा धितोपत्र ऐन अनुसारको कसुरमा छुट्टै अनुसन्धान प्रतिवेदन सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ।
यस्तै उनीहरूकै हकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ। विभागले उच्च सरकारी वकिल कार्यालय पाटनमा आफ्नो प्रतिवेदन बुझाएको हो।
अनुसन्धान प्रतिवेदन बुझाएको एक हप्ता बढी भए पनि सरकारी वकिल कार्यालयले उच्च अदालतमा मुद्दा दायर गरिसकेको छैन।
सुरुमा दीपक भट्टलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागकै पत्र अनुसार सीआईबीले पक्राउ गरेर बुझाएको थियो। भट्ट, अग्रवाल लगायतमाथि यो अनुसन्धानमा पनि सहयोग गरेको सीआईबीले पछि अरु कसुरमा अनुसन्धान गरेको हो।
सीआईबीले उनीहरूमाथि बैंकिङ कसुरमा समेत अनुसन्धान गरिरहेको छ। बैंकिङ कसुरको हकमा छुट्टै अभियोग पत्र दायर हुन्छ। अन्य मुद्दा जिल्ला अदालतमा दायर हुने भएकाले सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो।
तर बैंकिङ कसुरमा भने विशेष अदालतमा मुद्दा दायर हुन्छ। यो अभियोग नै छुट्टै हुने भएकाले अनुसन्धान पनि छुट्टै भइरहेको सीआईबीका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) डा मनोजकुमार केसीले बताए।
‘अरु मुद्दामा अनुसन्धान सकेर प्रतिवेदन बुझाइसकेका छौँ। अब बैंकिङ कसुरमा अनुसन्धान भइरहेको छ। यो अनुसन्धान सक्न केही समय लाग्छ। हामी सबै कुरा हेरिरहेका छौँ,’ केसीले नेपालखबरसँग भने।
व्यवसायी भट्ट चैत १९ गते काठमाडौँबाटै पक्राउ परेका थिए। सुरुमा उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरेको थियो। चैत २१ गते सुलभ अग्रवाललाई पक्राउ गरिएको थियो। त्यसअघि शंकर अग्रवाल पनि पक्राउ परेका थिए। उनलाई भने हिरासतमा राखिएको थिएन।
सीआईबीले यही कसुरमा शेखर गोल्छालाई पनि पक्राउ गरेर अनुसन्धान गरेको थियो। तर गोल्छा भने सर्वोच्च अदालतको आदेशमा यसअघि नै छुटिसकेका छन्। उनीसहित अधिकांश प्रतिवादीहरूलाई बाहिरै राखेर अभियोग दायर गर्ने तयारी छ।
Shares

प्रतिक्रिया