राजनीति


बालेनको अभिव्यक्तिले रास्वपाकै सांसद छक्क, भन्छन् : हामी ‘डिफेन्सिभ’ हुनुपर्‍यो

बालेनको अभिव्यक्तिले रास्वपाकै सांसद छक्क, भन्छन् : हामी ‘डिफेन्सिभ’ हुनुपर्‍यो

सागर न्यौपाने
जेठ २१, २०८३ बिहिबार २१:९, काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते संसदमा दिएको सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू अप्ठेरोमा परेका छन्।

विपक्षीले चर्को विरोध गरिरहँदा रास्वपाका केही सांसदहरू प्रधानमन्त्री शाहको अभिव्यक्तिको बचाउमा उत्रिएका छन्। संसदमा रहेका पाँच विपक्षी दल प्रधानमन्त्रीले आफ्नो भनाइ तत्काल सच्याएर माफी माग्नुपर्ने अडानमा छन्। जसकारण संसदका दुवै सदन नियमित कार्यसूचीमा प्रवेश गर्न पाएका छैनन्। 

संवैधानिक क्षेत्रका जानकार, कूटनीतिक क्षेत्रका विज्ञ र पूर्वपरराष्ट्रमन्त्रीहरूले प्रधानमन्त्रीको कुर्सीमा बसेको व्यक्तिले अपरिपक्क धारणा राखेको प्रतिक्रिया दिएका छन्। 

यसबारे सत्तारुढ दल रास्वपाकै सांसदहरूको धारणा के छ त? नेपालखबरले सो पार्टीका सांसदहरूसँग यसबारे जिज्ञासा राख्दा प्रायः बोल्न चाहेनन्।

बोल्न तयार भएका कतिपय सांसद प्रधानमन्त्रीले नयाँ खालको बहस गराएको तर्क गरेर पन्छिए। तर, केही सांसदले प्रधानमन्त्रीको अभिव्यक्तिले रक्षात्मक हुनुपरेको बताए। 

रास्वपा पदाधिकारी समेत रहेका एक सांसदले प्रधानमन्त्री चिप्लिएको टिप्पणी गरे। सीमाका विषयमा प्रधानमन्त्रीले अप्रमाणित कुरा नबोल्नुपर्ने भन्ने धेरै सांसदको राय रहेको उनले बताए।

‘प्रधानमन्त्री संसदमा आउने तरिका नै सही थिएन। उहाँमा संसदमा आउँदा हुनुपर्ने कति पनि तयारी थिएन। प्रधानमन्त्रीलाई दुईतीन वटा प्रश्न सोधेका थिए। तर एउटाको मात्र जवाफ दिनुभयो,’ उनले भने, ‘बिनातयारी आउन त उहाँ स्टन्ट गर्नै आउनुभएको हो। अन्तिममा आफैँ चिप्लिनुभयो।’ 

तयारी नगरी सिधै संसदको रोस्ट्रममा गएर जवाफ दिँदा प्रधानमन्त्रीबाट गल्ती भएको नेताहरूको भनाइ छ।

‘प्रधानमन्त्रीले कुरा चिप्ल्याउनुभयो भन्ने अधिकांश माननीयको बुझाइ छ,’ अर्का एक सांसदले भने, ‘त्यस ठाउँबाट बोल्दै गर्दा शब्दमा ध्यान दिनुपर्थ्यो।’

सुदूरपश्चिम र मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने केही सांसदहरू प्रधानन्त्रीको अभिव्यक्तिपछि मुख्य विषय छायामा परेको बताउँछन्। 

‘प्रधानमन्त्रीले बोलेका कुराले केही हदसम्म डिफेन्सिभ बनायो। प्रधानमन्त्री भएर हाउसमा बोल्दा आफ्नो नेचर भन्दा पनि चलेको चलन पछ्याउनुपर्छ,’ सांसद समेत रहेका एक पदाधिकारीले भने, ‘साथीहरू सरप्राइज्ड हुनुभएको छ। कतिपय असन्तुष्ट पनि हुनुहुन्छ। केहीले निराश बनायो भन्नुभयो।’

बारा २ का सांसद चन्दनकुमार सिंहले प्रधानमन्त्रीले आफूले भनेको कुरा आफैँले प्रस्ट पार्ने बताए।

‘कतै न कतै सुनेर भन्नुभएको होला, आफूले बोलेको कुरा उहाँले प्रमाणित गर्नुपर्ने हुन्छ। कुनै न कुनै समय आउँछ, गरिहाल्नु हुन्छ,’ उनले भने, ‘यसको जवाफ हामीले दिएर हुँदैन।’

प्रधानमन्त्री बालेन्द्र शाहले श्रम संस्कृति पार्टीका प्रमुख सचेतक एवं महासचिव आरेन राईको प्रश्नको जवाफ दिने क्रममा भनेका थिए, ‘मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्रै होइन, नेपालले  पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ।’

कञ्चनपुर १ का सांसद जनकसिंह धामीले प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा पर्नु दुखद भएको बताए। 

‘प्रधानमन्त्रीले के आधारमा भन्नुभयो? ब्युरोक्रेसीले कन्भिन्स गरेपछि बोलेको कि आफैँ मनमा लागेको कुरा बोलेको? कहिलेकाहीँ बोलेका एउटा अक्षर र शब्दले पनि फरक पार्छ,’ उनले भने, ‘प्रतिनिधि सभाको नियमावली अनुसार नभई प्रधानमन्त्रीले सिधै कन्फिडेन्सका साथ प्रश्न सोध्न भन्नुभयो। नियमावलीमा जानुपर्थ्यो, तर उहाँले कन्फिडेन्ट भएर जवाफ दिँदा म सरप्राइज्ड भएँ।’

यस्तै, मोरङ ४ का सांसद सन्तोष राजवंशी प्रधानमन्त्रीले बोलेको विषयको थप प्रस्ट पार्ने काम उनैको भएको बताए।

‘हामीले आफ्ना व्यक्तिगत धारणा भन्नुभन्दा पनि प्रधानमन्त्रीले बोलेको विषय भएकोले उहाँकै तहबाट केही प्रस्टीकरण आऊला,’ उनले भने, ‘प्रधानमन्त्रीको भनाइ हो।’

यसैगरी, नवलपरासी २ का सांसद नरेन्द्रकुमार गुप्ताले  प्रधानमन्त्रीको भनाइ अलिकति विवादित रहेको बताए।

‘विवादास्पद भाषणको विषयमा हामीले कसरी भन्ने? हामीले डिफेन्ड गरेर जानुपर्ने भएको छ। कार्यकारी तहबाट आइसकेको कुरामा हामीले कसरी जवाफ दिने? अफिसियल्ली बसेर यसबारे छलफल पनि हुन पाएको छैन,’ उनले भने, ‘प्रधानमन्त्रीले बोलिसकेपछि पूरै झुट बोल्नुभयो पनि भन्न सक्दैनौँ।’ 

रास्वपाका संसदीय दलका उपनेता गणेश पराजुलीले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको पछाडि सबै लाग्नुपर्ने अवस्था आउनु दुखद भएको बताए। 

‘राष्ट्र, राष्ट्रियता र सार्वभौम भूमिप्रति शंका गर्ने ठाउँ छैन। राष्ट्रिय स्वतन्त्र पार्टी र हामीले नेतृत्व गरेको सरकार आफ्नो जिम्मेवारीप्रति एकदमै जिम्मेवार र सचेत छ,’ उनले भने, ‘प्रधानमन्त्रीको भनाइ संसदको रेकर्डबाट हटाउने कुराको जवाफ मैले दिएर हुने होइन।’  

प्रधानमन्त्रीले ग्रेटर नेपालको मुद्दाको कुरा उठाएकोले यसलाई सकारात्मक लिनुपर्ने भए पनि केही असन्तुष्ट भएको धनुषा ४ का सांसद राजकिशोर महतो बताउँछन्। 

‘विपक्षीहरूलाई हल्ला गर्ने बहाना थिएन त्यही भएर विरोध गरेका हुन्,’ उनले भने।  

बालेनको पुर्ख्यौली थलो महोत्तरी १ का सांसद प्रमोदकुमार महतोले पनि प्रधानमन्त्रीले जवाफ दिने बताए। 

‘यो विषयमा प्रधानमन्त्रीले जवाफ पनि दिनुहुन्छ। प्रमाण पनि दिनुहुन्छ भन्ने विश्वास छ,’ उनले नेपालखबरसँग भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad