नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले गत स्थानीय तह निर्वाचनलाई लिएर सबैभन्दा पहिले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि कारबाही हुनुपर्ने माग गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समितिको बैठकका क्रममा बिहीबार आफ्ना भनाइ राख्दै केसीले यदि स्वतन्त्र उठेका र असहयोग गर्नेमाथि छानबिन गर्ने हो भने सबैभन्दा पहिले देउवा र पौडेलमाथि कारबाही हुनुपर्ने कुरा राखेका हुन्।
बैठकमा आफ्ना भनाइ राख्दै केसीले आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्ने विषयलाई लिएर विभाजित हुन नहुने पनि सुझाव दिएका छन्।
'आगामी निर्वाचनमा गठबन्धन गर्ने, नगर्ने भनेर विभाजित नहौँ', उनले भने, 'कांग्रेस एक हुनुपर्छ। पार्टीलाई मिलाएर जानुपर्छ, सभापतिजीले पार्टी मिलाएर लैजानुस्।'
उनले चुनावमा असहयोग गरेको कुराको हकमा भने सबैभन्दा पहिले माथिबाट कारबाही थाल्नुपर्ने अडान राखेका हुन्।
'असहयोग गर्ने र स्वतन्त्रहरुलाई पनि कारबाही गर्ने कुरा पनि बैठकमा उठेको छ', उनले भने, 'गठबन्धन भएका ठाउँमा स्वतन्त्र उठेका र असहयोग गर्नेलाई कारबाही गर्ने हो भने सबैभन्दा पहिला शेरबहादुरजी र रामचन्द्रजीलाई गर्नुपर्छ। उहाँहरूले नै हामीलाई अन्त (अन्य दलको चुनाव चिह्नमा) भोट हाल्न सिकाएको हो।'
Shares

प्रतिक्रिया