नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवले पाँच दलीय गठबन्धनको बलमा नभइ एमाले फुटेकाले कांग्रेसले जित्न सकेको बताएका छन्।
सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकमा आफ्ना भनाइ राख्ने क्रममा उनले एमाले फुटेकाले कांग्रेसले जितेको बताएका हुन्।
'कांग्रेसले गठबन्धनका कारण होइन, अरु फुटेकाले जितेको हो', उनले भने, 'कांग्रेस गठबन्धनको धेरै भर पर्नु उचित हुँदैन। यसबारेमा सोच्नु आवश्यक छ।'
अर्का नेता प्रकाशमान सिंहले गठबन्धन भए पनि कांग्रेसभित्रकै अन्तर्घातले क्षति भएको बताएका छन्। उनले अन्तर्घातका कारण कांग्रेसले कांग्रेसकै घरमा धाउनुपर्ने अवस्था आएको पनि बताएका छन्।
त्यसैगरी कांग्रेसका अर्का नेता डा. रामशरण महतले अब गठबन्धन गर्दा एक्लै जित्ने ठाउँमा नगर्न सुझाव दिए।
'एक्लै जित्ने ठाउँमा गठबन्धन नगरौँ', उनले भने, 'एक्लै जाँदा कठिन भए मात्रै गठबन्धन गरेर जाँदा राम्रो हुन्छ।'
त्यस्तै सांसदसमेत रहेका सञ्जय गौतमले गठबन्धनबारे प्रश्न उठाए। उनले कांग्रेसले गठबन्धन नगरी जानुपर्छ भने पनि सभापति शेरबहादुर देउवाले बर्दियामा कांग्रेसले एक्लै चुनाव जित्न नसक्ने जिकिर गरे।
त्यसैगरी बैठकमा नेताहरुले डा. शेखर कोइरालालाई आफ्नो पक्षको बैठक सानेपामा नै राख्न आग्रह गर्दै होटलतिर नधाउन भने।
Shares

प्रतिक्रिया