राजनीति


एकै मञ्चमा थिए प्रचण्ड, तर झलनाथले ‘माओवादी’को नाम नै बिर्सिए...

एकै मञ्चमा थिए प्रचण्ड, तर झलनाथले ‘माओवादी’को नाम नै बिर्सिए...

नेपालखबर
असार १३, २०७९ सोमबार १६:४४, काठमाडौँ

‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ विषयमा ललितपुरको जावलाखेलमा अन्तरक्रिया कार्यक्रम जारी छ। 

अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, एमाले महासचिव शंकर पोखरेल, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतको उपस्थिति छ। 

चित्रबहादुर केसी, रामचन्द्र पौडेल, शंकर पोखरेल लगायतका नेताहरुले सम्बोधन गरिसकेका छन्। पौडेलपछि अन्तरक्रिया कार्यक्रममा बोल्न पुगेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सुरुमै केहीबेर माहोल ‘रोमाञ्चक’ बनाए। 

‘यो माइकले काम गरेकै छ नि होइन?’ भन्दै पोडियमअघि पुगेका खनाल मञ्चतर्फ हेर्दै ‘यो त देख्दै देखिँदो रहेनछ केही पनि’ भन्दै व्यंग्य गर्न भ्याए। 

उनले मञ्चमा रहेको ब्यानर हेरे कार्यक्रमको बारेमा थप बोल्न खोजेका थिए। उनले त्यसो भनेपछि हलमा हाँसोको फोहोरा छुटेको थियो। 

अनि बिर्सिए माओवादी पार्टीको नाम
सोही मञ्चमा सँगै थिए, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड। प्रचण्डसँगै माओवादीका नेता नारायणकाजी श्रेष्ठ पनि मञ्चमै थिए। 

उनी गोष्ठिमा उपस्थितहरुलाई सम्बोधन गर्नतर्फ लागे। तर, माओवादी केन्द्रको नाम नै बिर्सिए। 

‘यो गाेष्ठिका अध्यक्ष कमरेड, आजका यो कार्यक्रमका वक्ताहरु,’ यति भनेर अघि बढेका उनले ‘ नेकपा एकता केन्द्र कि के पो भो?’ भन्दै मञ्चतिर हेरे।

उनको यो शब्द आउनेबित्तिकै हलबाट हाँसोको फोहोरा पुनः छुट्यो। ‘ए, माओवादी केन्द्र। माओवादी केन्द्रका अध्यक्ष, (हाहाहाहाहा...) सरि सरि। भन्दै उनले माओवादी अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्न भ्याए। 

‘कमरेड अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमरेड। नेपाली कांग्रेसका वरिष्ठ नेता, अब अरु सबै गइहाल्नुभयो। यहाँ कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण वरिष्ठ विद्धानहरु, विभिन्न पार्टीका नेतागणर पत्रकार साथीहरु...’ भनेर खनालले सम्बोधन सुरु गरेका छन्।

गत स्थानीय निर्वाचनमा माओवादीले धोका दिएको भन्दै झलनाथ माओवादीसँग रुष्ट बनेका छन्। अझ गत जेठ २२ गते एकीकृत समाजवादीले आफ्ना ४ मन्त्री फेर्न गरेको निर्णय प्रचण्डकै कारण कार्यान्वयन नभएको भन्दै उनले सार्वजनिक रुपमै आक्रोश व्यक्त गर्ने गरेका थिए। 

समाजवादीले मन्त्री फेर्न गरेको निर्णय करिब एक महिनापछि आइतबार मात्रै कार्यान्वयन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .