ad ad

राजनीति


भारतीय सेना प्रमुख पाण्डे अगस्टमा आउने, मानार्थ महारथीबाट विभूषित गरिने

भारतीय सेना प्रमुख पाण्डे अगस्टमा आउने, मानार्थ महारथीबाट विभूषित गरिने

सन्तोष घिमिरे
असार ७, २०७९ मंगलबार १९:११, काठमाडौँ

भारतीय सेना प्रमुख मनोज पाण्डे आगामी अगस्टमा नेपाल भ्रमणमा आउने भएका छन्। 

पाण्डे नेपाली सेनाको ‘मानार्थ महारथी’ को सम्मान ग्रहण गर्न यहाँ आउने भएका हुन्। 

नेपाली सेनाको परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको ‘मानार्थ महारथी’ पदबाट विभूषित गर्नेछिन्। 

नेपाल र भारतबीच एक अर्काका सेना प्रमुखलाई ‘मानार्थ महारथी’ को सम्मान दिने अभ्यास छ। 

प्रधानसेनापति शर्मा गत नोभेम्बर ९ देखि १२ सम्म तत्कालीन भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवाणेको निम्तामा भारत भ्रमणमा गएका थिए। उनलाई भारतीय सेनाको ‘मानार्थ महारथी’ बाट सम्मान गरिएको थियो।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुशार भारतीय सेनाले अगस्टमा सेनाप्रमुख पाण्डे नेपाल आउने जानकारी गराएको छ। ती अधिकारीले भ्रमणको यकिन मिति चाँडै टुंगो लाग्ने बताए। 

सोमबार भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले भारतीय सेना प्रमुख मनोज पाण्डेसँग गरेको भेटवार्तामा पनि पाण्डेको नेपाल भ्रमणबारे कुराकानी भएको थियो। भेटमा पाण्डेले नेपाल भ्रमणमा जान प्रतीक्षारत रहेको बताएका थिए। 

नयाँ दिल्लीस्थित सैनिक मुख्यालयमा भएको भेटवार्तामा नेपाल-भारत सैन्य सहकार्यका विविध बिषयमा छलफल भएको राजदूत शर्माले ट्वीटमा उल्लेख गरेका छन्।

शर्माले भारतीय सेनाले नेपाललाई निरन्तर दिँदै आएको सहयोगका लागि जनरल पाण्डेलाई धन्यवाद पनि दिएका थिए। 

भारतीय सैन्य मुख्यालयले पनि राजदूत शर्मा र सेनाप्रमुख शर्माबीच सैन्य सहकार्यबारे छलफल भएको ट्वीटमा जनाएको छ। 

राजदूत शर्मा र भारतीय प्रधानसेनापतिबीच पहिलोपटक भेटवार्ता भएको हो। पाण्डे अप्रिल १८ मा भारतीय सेनाको प्रमुख नियुक्त भएका थिए। 

नेपाली सेना र भारतीय सेनाबीच लामो समयदेखि विभिन्न क्षेत्रमा सहकार्य रहँदै आएको छ। गत मे ४ मा प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय समकक्षी पाण्डेबीच भिडिओ कन्फ्रेन्समार्फत कुराकानी भएको थियो। त्यस क्रममा शर्माले पाण्डेलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .