प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाहेकले देशलाई विकसित,सभ्य र आधुनिक बनाउन नसक्ने दाबी गरेका छन्।
अध्यक्ष ओलीले एमालेबाहेक अन्य दलले मुलुकलाई समृद्ध बनाउन सक्दैनन् भन्नु सत्य कुरा भएको जिकिर समेत गरे।
स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्न सहयोग गरेका कलाकारहरुको सम्मानमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यसो भनेका हुन्।
'राजनीतिभन्दा माथि उठेर कुरा गर्ने हो भने मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन, विकासको बाटोमा अघि बढाउन एमालेबाहेकका शक्तिले सक्दैनन्', उनले भने।
एमाले जस्तो देशको हितमा मरिमेटेर लाग्ने पार्टी नेपालमा अरु नभएको पनि अध्यक्ष ओलीले पटकपटक दोहोर्याए।
उनले एमालेबाहेक अन्य दलले ‘समृद्ध नेपालः सुःखी नेपाली’ भनेको सुन्नु भएको छ? भनेर प्रश्न समेत गरे।
‘सबै नेपालीले देशलाई माया गरे पुग्छ। देशलाई माया गर्नु भनेको समृद्ध नेपालः सुःखी नेपालीको राष्ट्रिय संकल्पलाई पूरा गर्नु हो। देशमा भ्रष्टाचार उन्मूलन हुनुपर्छ, हाम्रो देश विकासमा अगाडि बढनुपर्छ। अभियानको रुपमा देशलाई विकासको अभियानमा अगाडि बढाउनुपर्छ भन्ने कुरा, यो कुरा गर्नेबित्तिकै अव यहाँ कसैले भन्ला–यो साँस्कृतिक क्षेत्रको कार्यक्रमको अवसर पाउँदा पनि राजनीति गर्यो भनेर', उनले भने,'होइन। राजनीति हुँदै होइन। राजनीतिले म एकछिन बाहिरै राखिदिन्छु। तर, सही सत्य कुरा के हो भने–राजनीति भन्दा बाहिर गएर, माथि उठेर सही सत्य कुरा के हो भने–देशलाई माया गर्नु हुन्छ भने, देशलाई बनाउनु छ भने देशलाई मानव उचित बनाउनु छ भने, देशलाई मानव समाजजस्तो बनाउनु छ भने, विकसित, सभ्य, आधुनिक नेपाल निर्माण गर्नु छ भने एमालेबाहेक अरुले अगुवाई गर्न सक्दैन।'
देशको हितमा लडने र देशका निम्ति मरिमेट्ने अर्को पार्टी नभएको पनि उनले बताए। 'कसैसँग यस्तो विचार छैनन्। एमालेबाहेक कसैले समृद्ध नेपालः सुःखी नेपाली भनेको सुन्नु भएको छ? कसैले भन्दैनन्। राष्ट्रियताको कुरा अरु कसैले भन्नेको सुन्नु भएको छ?', उनले सोधे।
नेपालको भूमि सामेल गरेर नक्सा बनाउन एमाले नै चाहिएको उनले बताए। 'उत्तरतिरबाट बाटो खोल्न एमाले चाहियो। हाम्रो जमिन डुब्यो, खोल्न एमाले चाहियो। हाम्रो सिमाना सारियो, ठिक बनाउन एमाले चाहियो। अरु शक्तिहरु, व्यक्तिहरु, बोल्छ कोही?', उनले भने, 'त्यसकारण मेरो आग्रह यति हो–कि देशलाई माया गरौं। देशलाई माया गर्नेबित्तिकै एमाले आफैँ मकैका घोघाझैं हुन्छ। त्यो माया एमालेको भागमा स्वत: पुग्छ।'
उनले आफ्नो पार्टीलाई मुलुकको अहित भएको सैह्य नहुने चेतावनी समेत दिए। सबै नेपालीले देशलाई माया गरिदिए हुने अध्यक्ष ओलीले बताए।
Shares

प्रतिक्रिया