ad ad

राजनीति


बुटवलमा स्वतन्त्र उम्मेदवारी अभियानको भेला, दल दर्ताका विषयमा दुई मत

बुटवलमा स्वतन्त्र उम्मेदवारी अभियानको भेला, दल दर्ताका विषयमा दुई मत

सुदीप भण्डारी
जेठ २८, २०७९ शनिबार २०:२९, बुटवल

स्वतन्त्र उम्मेदवारी अभियानले बुटवलमा भेला तथा सुझाव संकलन कार्यक्रम गरेको छ। कार्यक्रममा आसन्न संघ र प्रदेशको चुनावमा स्वतन्त्र रुपमै जाने कि संगठित भई दल बनाएर जाने भन्नेबारे छलफल भएको थियो। 

स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर साहुले आफूहरुको अभियानमा देशभर ८ हजारजति जोडिएको बताए। साहुले स्थानीय तहको चुनाव दलरहित हुनुपर्छ भन्नेमा आफूहरु प्रष्ट भएको तर केन्द्र र प्रदेशको चुनावमा कसरी जाने भन्नेबारे सबैको राय सुझाव लिइरहेको जानकारी दिए। 

‘हिजो स्पष्ट रुपमा स्थानीय तह स्वतन्त्र हुनुपर्छ भन्यौँ। अब केन्द्र र प्रदेशको चुनावका लागि दुईथरी छलफल छ,’ उनले भने, ‘एउटा पक्षले समानुपातिकका कुराहरु छन् पार्टी दर्ता गरेर जाऊँ भन्छ। अर्को टिमले पार्टी दर्ता गर्न आवश्यक छैन भन्ने मत राखेको छ।’

सुझाव संकलन गरेर आगामी असार १७ र १८ गते हुने राष्ट्रिय भेलाबाट पार्टी बनाएरै अघि बढ्ने कि स्वतन्त्र रुपमा जाने भन्ने तय हुने साहुले बताए। त्यो भेलाका लागि विभिन्न जिल्लामा पुगेर सुझाव लिने काम भइरहेको उनको भनाइ छ।

दल नखोल्ने भए अभियानलाई कसरी अघि बढाउने र कस्ता उम्मेदवारलाई समर्थन गर्ने भन्नेबारे पनि केही मापदण्ड तय गरेको अभियानले जनाएको छ। 

मापदण्डअनुसार ६० वर्ष माथिकालाई नो भोट गर्ने, जसले उम्मेद्वारी दिन्छ उसले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने, प्रहरी रिपोर्ट सार्वजनिक हुनुपर्ने, निश्चित शैक्षिक योग्यता हुनुपर्ने मान्यता राखिएको छ। यस्तो उम्मेदवारलाई समर्थन गर्न सकिने र अरु थप मापदण्डका बारेमा पनि सुझाव लिने साहुले बताए। 

कार्यक्रममा अभियानको लागि लुम्बिनी प्रदेशमा संयोजन गरेकी संगीता भट्टराईले मुख्य दलहरुको विकल्पमा नयाँ शक्ति जरुरी रहेको बताइन्। अहिलेकै नेताहलाई पटकपटक मुलुक बिगार्न दिन नहुने उनको तर्क छ। उम्मेदवार बन्न २१ वर्ष उमेर हद लाग्ने गरेको भन्दै निश्चित उमेर पार गरेपछि राजनीतिबाट अवकाश हुनुपर्ने र उम्मेदवार बन्न नपाउने व्यवस्था आवश्यक रहेको उनले बताइन्।

भेलामा स्वतन्त्र राजनीतिक युवा समूहका सुशील नेपालले अभियानलाई संगठित गर्नुपर्ने र त्यसका लागि काठमाडौँका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङलाई एउटै मञ्चमा राखेर स्वतन्त्र राजनीतिक अभियानलाई बलियो बनाउनुपर्ने धारणा राखे। राष्ट्रिय राजनीतिक अभियानका तुल्सीराम भुसालले मुलुकमा अब विश्वासिलो वैकल्पिक शक्ति आवश्यक रहेको उल्लेख गरे। 

भेलाले रुपन्देहीमा स्वतन्त्र उम्मेदवार बन्न खोज्नेहरुको सहजीकरण गर्ने, धेरै स्वतन्त्र उम्मेदवार देखिए मिलाउन प्रयास गर्ने निर्णय गरेको छ। 

बुटवल र आसपासको क्षेत्र रहेको रुपन्देही क्षेत्र नम्बर २ बाट आगामी चुनावमा बालेनको प्रचारमा सक्रिय डा. निकोलस भुसाल उम्मेद्वार बन्ने चर्चा छ। कार्यक्रममा डा. निकोलसका टिमका अमन मल्लले अहिले आफूहरुले निकोलसलाई नै उपयुक्त देखेको अरु राम्रो र योग्य मान्छे आएमा छोड्न तयार रहेको बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .