ad ad

राजनीति


गठबन्धनसँग किन बिच्कियो जसपा?

‘कांग्रेसले हामीलाई पेल्यो र एकीकृत समाजवादीलाई ठूलो भाग दिन खोज्यो’
गठबन्धनसँग किन बिच्कियो जसपा?

सागर न्यौपाने
बैशाख २, २०७९ शुक्रबार १९:४५, काठमाडौँ

पाँच दलीय गठबन्धनले वैशाख ३ गतेसम्म वडा, पालिका र जिल्लाको समेत अवस्थाबारे माथिल्लो तहमा प्रतिवेदन पठाउन समय दिएको छ। स्थानीय तहको चुनावमा तालमेलको निर्णय गरेको गठबन्धनले तल्लो तहको रिपोर्ट पाएपछि मात्र ठोस कदम चाल्ने सहमति गरेको छ।

त्यसआधारमा शुक्रबारसम्म देशभरका ७७ वटै जिल्लाका ७ सय ५३ वटै स्थानीय तहमा पाँच दलीय संयन्त्रको बैठक बस्नुपर्ने हो।

तर, गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) केही जिल्लाको छलफलमा सामेल भएन। बरु जसपाले ताप्लेजुङमा नेकपा एमालेसँग चुनावी तालमेलको विषयमा छलफल थालेको छ।

जसपाका केन्द्रीय सदस्य सविन बानियाँले गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पेल्न खोजेपछि स्थानीय तहको सापेक्षताका आधारमा एमालेसँग छलफल गरिरहेको बताए।

‘ताप्लेजुङ जिल्लामा हामी एमालेसँग मिल्ने सम्भावना बढेको छ,’ बानियाँले नेपालखबरसँग भने, ‘गठबन्धनका तीन दल पेल्ने तरिकाले प्रस्तुत भएपछि हामी एमालेसँग तालमेलको छलफलमा छौँ। आज साँझ पनि वार्ता छ।’

एमालेका पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्बोले पनि जसपाका नेताहरुसँग पालिकास्तरमा तालमेलको छलफल भइरहेको बताए।

‘पालिका तहमा जसपासँग मिल्ने सम्भावना छ,’ मेन्याङ्बोले नेपालखबरसँग भने, ‘तर उहाँहरु अहिले पनि गठबन्धनमै  छलफल गरिरहनुभएको छ, त्यो टुटेको अवस्थामा यता हामीसँग कुरा गर्छौँ भन्नुभएको छ।’

उनले जिल्ला तहमा तालमेल नहुने तर कुनै वडा र पालिका तहमा तालमेलबारेमा छलफल भएको जानकारी दिए। 

‘जिल्लाभर नभए पनि जसपाको केही पालिका र वडामा जनमत छ, त्यस्ता वडा र पालिका तहमा साथीहरुले कुराकानी गर्नुहोला,’ मेन्याङ्बोले थपे।

बिहीबार मात्र बाँके जिल्लामा गठबन्धनबाट बाहिरिएको घोषणा गर्दै जसपाले नेपालगञ्ज उपमहानगरपालिकासहित चार स्थानीय तहमा एकल उम्मेदवार उठाउने निर्णय गरेको छ। 

जसपाका केन्द्रीय कार्यकारिणी सदस्य तथा संघीय सांसद मोहम्मद इस्तियाक राईले बाँके जिल्लामा आफ्नो पार्टी गठबन्धनबाट बाहिरिएको बताए।

‘हाम्रो पार्टीलाई फाइदा हुँदैन, गठबन्धनमा रहेका दलहरुले साथ दिँदैनन् भने किन चाहियो गठबन्धन?’ राईले नेपाखबरसँग भने, ‘स्थानीय तहमा अब गठबन्धन नगर्ने निर्णय गरेर बाहिरिएका छौँ।’

यो क्रम देशैभर देखिनसक्ने उनले बताएका थिए। 

‘पहाडमा हाम्रो संगठन नै छैन, त्यहाँ कांग्रेसले जानै नदिने, उनले भने, ‘तराईका हाम्रो जनाधार भएका ठाउँमा पनि कांग्रेसले नछाड्ने भएपछि हामी गठबन्धनमा कसरी रहन सक्छौँ?’

जसपाले आफ्नो प्रभाव क्षेत्र रहेको मधेश प्रदेश र लुम्बिनी प्रदेशका समेत गरी ४ वटा उपमहानरपालिका र २ वटा महानगर पाउनुपर्ने दाबी गरेको छ।

जसपाले बाराको कलैया, जनकपुर र नेपालगञ्जसहित कुनै एक उपमहानगर मागेको छ। 

२०७४ को चुनावमा जनकपुर र वीरगञ्ज जितेको जसपाले यसपटक विराटनगर पनि दाबी गरेको छ। तर, गठबन्धनको प्रदेश, जिल्ला र स्थानीय तहको संयन्त्रबीच भएको छलफलमा नेपालगञ्ज र कलैया कांग्रेसले दाबी गरेपछि जसपा असन्तुष्ट बनेको हो।

जसपाका केन्द्रीय कार्याकारिणी समिति सदस्य गंगानारायण श्रेष्ठले गठबन्धनभित्र एकले अर्काको आवश्यकता महसुस नै नगरेकोले समस्या आएको बताए।

‘हैसियतभन्दा बढी दाबी गर्ने’ भनेर केही स्थानीय तहमा गठबन्धनभित्रका दलका साथीहरुले भनेपछि समस्या भयो,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘माथि नेताहरुले गठबन्धनको निर्णय त गर्नुभयो, तर पाँचै दललाई समान हुने देखिएन, भेदभाव हुन थाल्यो।’

मंगलबार पाँच दलका शीर्ष नेताहरुको बैठकले संयन्त्र, स्थानीय निर्वाचन तयारी तथा अनुगमन समितिले स्थानीय तहमा चुनावी तालमेल गर्ने ७ बुँदे मोडालिटी तयार पारेर सार्वजनिक गरेको थियो। त्यसमा नेकपा एकीकृत समाजवादीलाई दिएको अधिकारप्रति जसपा रुष्ट छ। 

एमालेलाई सक्ने कांग्रेसको योजनाअनुसार माधव नेपाल नेतृत्वको पार्टीलाई हैसियतभन्दा बढी तह दिन खोजेको जसपाको ठहर छ।

‘एकीकृत समाजवादीलाई दिएको अधिकारले तल साथीहरु बिच्किए, माधव नेपालको पार्टीलाई वैतरणी गराउने गठबन्धन हो भनेर प्रश्न उठाउन थालेका छन्,’ श्रेष्ठले कारण खोल्दै भने, ‘माधवजीको पार्टीलाई एमालेकै हैसियत दिन मिल्छ र? यहाँ त एमाले जस्तै शक्ति दिने प्रयास गरियो।’

उनले गठबन्धनमा रहेका दलमध्ये २०७४ को चुनावलाई आधार मान्दा कांग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो, जसपा तेस्रो र एकीकृत समाजवादी चौथो हुनुपर्नेमा सो पार्टीलाई धेरै महत्व दिइएको आरोप लगाए।

जसपाका अर्का एक कार्यकारिणी समिति सदस्यले कांग्रेसभित्र सबैभन्दा ठूलो समस्या रहेको बताए।

‘कांग्रेसभित्र दुई वटा पक्ष छन्, सभापति शेरबहादुर देउवा गठबन्धन पक्षमा हुनुहुन्छ, शेखर–गगन–विश्वप्रकाश गठबन्धन आवश्यक छैन भनिरहनुभएको छ,’ ती नेताले नेपालखबरसँग भने, ‘माथिबाट जे निर्णय सर्कुलर गरे पनि तल उहाँहरुको कमिटी स्वायत्त छ, कोहीसँग मिल्दैनौँ, मिल्नैपरे स्थानीय आवश्यकताका आधारमा मिल्छौँ भनेपछि केन्द्रको निर्णय कागजको खोस्टो भएन?’

कांग्रेसभित्रबाट असहयोग होला भनेर अहिले जसपा डराइरहेको छ। गठबन्धनबीच महानगर र उपमहानगरपालिको बाँडफाँट केन्द्रबाट टुंगो लगाउने सहमति छ। 

तर, अन्य तहको छलफलमा पार्टीलाई महत्व नदिएकोले जसपा गठबन्धनको तीन दलसँग असन्तुष्ट छ। 

‘हाम्रो पार्टीलाई पहाडमा स्पे िछैन, तराईमा कांग्रेससँग प्रतिस्पर्धा गर्नुपर्ने वा गठबन्धनका लागि छोड्नुपर्ने कसरी हुन्छ? हाम्रो पार्टी कांग्रेसका लागि भोट बैंक बन्न सक्तैन,’ कार्यकारिणी सदस्य श्रेष्ठले भने, ‘नत्र नाम गठबन्धन हुन्छ, तालमेल अर्कैसँग हुन्छ।’

मधेशका नेताहरुले गठबन्धन नमान्ने चेतावनी दिएकाले पनि नेताहरु हच्किएका छन्। 

‘मधेश प्रदेशका साथीहरु गठबन्धन मान्दैनौँ भन्छन्, जहाँ बलियो छौँ त्यहाँ गठबन्धनले हामीलाई दिन मान्दैन, पहाडमा कांग्रेसले जित्ने ठाउँमा हामीले पाउने सम्भावनै छैन,’ श्रेष्ठले गठबन्धनका चुनौतीबारे भने।  

जसपाका अध्यक्ष उपेन्द्र यादवले अहिले कुनै पनि कुरा टुंगो नलागेको बताए।

‘अहिलेसम्म कहीँको पनि टुंगिएको छैन,’ यादवले नेपालखबरसँग भने, ‘हामी गठबन्धनमा छलफल गर्छौँ, बाँडफाँटका नाममा गठबन्धनकै दलभित्र के भएको हो बुझ्छौँ अनि एउटा निर्णयमा पुग्छौँ।’

तर, जसपाकै एक नेताले दिएको जानकारी अनुसार जसपाले राप्रपाबाहेक सबै दलसँग स्थानीय तहमा तालमेल गर्न सकिने निर्णय गरेको दाबी गरे।

‘राप्रपाबाहेकका गठबन्धनबाहिरका दलसँग मिलेर जान सकिन्छ,’ ती नेताले नेपालखबरसँग भने, ‘जिल्ला, प्रदेश र पालिका कमिटी निर्णय गर्न स्वतन्त्र छन्।’

त्यही सर्कुलर अनुसार नै गठबन्धन र बाहिर रहेका दलसँग पनि छलफल भइरहेको ती नेताले बताए। 

‘सकेसम्म गठबन्धनभित्रै मिलेर जाने हो,’ ती नेताले भने, ‘नभए जसपाले जोसँग जितिन्छ उसैसँग तालमेल गर्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .