निर्वाचन आयोगमा दर्ता नै नभएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि स्थानीय चुनावको तयारी थालेको छ।
यो पार्टीको चैत ४ देखि १४ गतेसम्म कपिलवस्तुको शिवगढीमा बसेको केन्द्रीय समिति बैठकले आफ्ना नेता कार्यकर्तालाई स्वतन्त्र हैसियतमा चुनावमा लड्न दिने निर्णय गरेको थियो।
उक्त निर्णयअनुसार विप्लव नेतृत्वको नेकपाले रोल्पाबाट उम्मेदवार छनौट थालेको हो।
विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य चूडामणि वलीले रोल्पाको गंगादेव गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
उनी विप्लव नेतृत्वको नेकपाबाट स्वतन्त्र हैसियतमा उम्मेदवारी घोषणा गर्ने पहिलो नेतासमेत भएका छन्।
२०७४ मा भएको पहिलो स्थानीय तह निर्वाचनमा गंगादेव गाउँपालिका अध्यक्ष-उपाध्यक्ष दुवै पद माओवादी केन्द्रले जितेको थियो।
कसको चुनाव चिन्हमा स्वतन्त्र उम्मेदवार उठाएर चुनाव लड्दैछन् विप्लव?
रोल्पाका केही पालिकामा पार्टीको प्रभाव राम्रो रहेको विश्लेषण गर्दै स्थानीय तहको चुनावमा उम्मेदवारी दिन लागेको वलीले बताए।
गंगादेव गाउँपालिकामा ७ वटा वडा छन्। रोल्पा सदरमुकामबाट यो पालिका ६५ किलोमिटर उत्तरस्थित रुकुमसँग जोडिएको छ।
जनयुद्धका सहिदहरु गंगादेवी खत्री र देव वलीको नामबाट यसको नाम गंगादेव गरिएको थियो।
सुरुमा यसको नाम सुकीदह थियो। २०७४ मा माओवादी केन्द्रका वीरबहादुर खत्री अध्यक्षमा विजयी भएपछि नाम फेरिएको हो।
जनयुद्धका क्रममा ज्यान गुमाएकी गंगा पालिका अध्यक्ष वीरबहादुर खत्रीकी श्रीमती हुन्। देव वलीका आफन्त र नातेदारहरूको प्रभाव यो पालिकामा विप्लव नेतृत्वको नेकपा बलियो छ।
‘सबै वडामा हाम्रो पार्टीको राम्रो प्रभाव भएरै मैले उम्मेदवारी दिन लागेको हुँ, पार्टी दर्ता नभएकोले स्वतन्त्रबाट उम्मेदवारी दिन्छु,’ वलीले भने, ‘म यहाँ चुनाव जितेर आउँछु।’
स्थानीय चुनावका लागि अहिले उनी गाउँपालिकाका विभिन्न वडामा धाइरहेका छन्।
‘पार्टीका नेताहरुले मलाई चुनावमा उठ्नैपर्ने सुझाव दिनुभयो, स्वतन्त्र उठ्ने पार्टीको आन्तरिक योजना पनि हो’, उनले नेपालखबरसँग भने, ‘त्यही भएर उम्मेदवारी दिन लागेको हुँ।’
विप्लव नेतृत्वको नेकपासँग चुनावी तालमेलका लागि माओवादी केन्द्रका नेताहरुले पहल गरिरहेका छन्। तर, उनले आफूहरु एक्लै चुनाव लड्न सक्षम रहेको दाबी गरे।
‘हामीलाई कसैसँग तालमेल गर्न आवश्यक छैन,’ उनले भने, ‘निर्वाचन आयोगले उपलब्ध गराएको चुनाव चिह्नमा लड्ने छु।’
रोल्पामा १० स्थानीय तह छन्। थवाङ र गंगादेव गाउँपालिकामा नेकपाले उम्मेदवारी दिने निश्चित छ। अन्य पालिकाको हकमा सल्लाह भइरहेको एक नेताले बताए।
कपिलवस्तुको शिवगढीमा चलेको केन्द्रीय समिति बैठकमा महासचिव विप्लवले राखेको ‘चुनावलाई उपयोग गर्ने’ प्रस्तावलाई परिमार्जन गर्दै नेकपाले स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको थियो।
२०७३ सालमा गठन भएको नेकपा अझैसम्म निर्वाचन आयोगमा दर्ता छैन।
वैशाख ३० गते हुने निर्वाचनमा आफ्नो प्रभाव रहेको क्षेत्रमा सो पार्टीका उम्मेदवार स्वतन्त्र रुपमा चुनाव लड्ने नीति अनुसार वलीले उम्मेदवारी घोषणा गरेका हुन्।
नेकपाले नेपाली कांग्रेस र राप्रपाबाहेकका दलको चुनाव चिन्ह नै प्रयोग गरेर उम्मेदवारी दिने तयारी गरेका छन्।
रोल्पामात्र होइन कालिकोट, कपिलवस्तु, प्युठान र नेकपाको प्रभाव क्षेत्र रहेका विभिन्न जिल्लामा स्वतन्त्र उम्मेदवारी दिने तयारी भइरहेको छ।
त्यसको सुरुवात रोल्पाबाट भएको हो। दश वर्षे जनयुद्धको सबैभन्दा प्रभाव परेको जिल्ला रोल्पा हो। महासचिव विप्लवको गृहजिल्ला पनि रोल्पा नै हो। तर उनी अहिले कपिलवस्तुमा जनकम्युन खोलेर पार्टी गतिविधिमा सक्रिय छन्।
Shares

प्रतिक्रिया