नेकपा माओवादी केन्द्रसहित चार वामपन्थी दलसँग कांग्रेसले चुनावी तालमेल गर्ला भन्नेमा नेकपा एमालेले विश्वास गरेकै थिएन। त्यही कारण केही जिल्लामा एमालेले स्थानीय तहको निर्वाचनमा तालमेलका लागि माओवादी केन्द्रसँग छलफल गरिरहेको थियो।
अध्यक्ष केपी शर्मा ओली माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति नरम हुँदै गएका उनका भाषणहरुमा सुनिन्थ्यो। जिल्ला तहमा मात्र होइन, केन्द्रमै पनि दोस्रो तहका नेतामार्फत चुनावी तालमेलबारे छलफल भइरहेको थियो।
२०७४ को स्थानीय तहको निर्वाचनमा २ सय ९८ गाउँपालिका÷नगरपालिका प्रमुख जितेको एमाले त्यही लयलाई कायम राख्न पनि माओवादीसँग तालमेल गर्नुपर्ने निष्कर्षमै थियो। केन्द्रीय समिति बैठकले चुनावी तालमेलको जिम्मा तल्लो कमिटीलाई दिने निर्णय गर्नुको मुख्य कारण यही हो।
तर, चैत १७ सत्ता साझेदार ५ दलको बैठकले गरेको गठबन्धनको निर्णयले एमालेलाई ठूलो झड्का दियो। पाँचै दलले स्थानीय चुनावमा तालमेल गर्ने मात्र निर्णय गरेनन्, गठबन्धनबाहेकका दलसँग नमिल्ने समझदारी पनि बनाए।
चैत १७ गतेपछि गठबन्धनका पाँच दल एकातिर छन् भने अर्कोतिर एमाले एक्लै। गठबन्धनको सो निर्णयपछि एमालेले अघिल्लो चुनावको नतिजा यसपटक कायम राख्न नसकिने निर्क्यौल गरेको छ। त्यसैले अब दोस्रो दल बन्ने विश्लेषणसहित एमाले नेताहरु चुनावी मैदानमा होमिएका छन्।
चुनाव आउन ३८ दिन मात्र बाँकी हुँदा गठबन्धनका दललाई रोक्ने उपाय खोज्न एमालेले नेताहरुलाई स्थानीय तहमा केन्द्रित गराएको छ।
प्रतिष्ठित व्यक्तिलाई उम्मेदवार बनाउने
एमालेले चुनावको उम्मेदवार चयनको निर्णय सर्वसम्मत गर्न परिपत्र गरेको छ। सर्वसम्मत हुन नसके विवाद नपर्ने गरी पालिकाले टुंगो लगाउने, पालिकाबाट सम्भव नभए जिल्लाले टुंगो लगाउने र यदि जिल्लाले पनि नसके प्रदेशबाट चयन गर्ने निर्णय गरेको छ।
‘हाम्रो उम्मेदवार छान्दा वडा कमिटी वा पालिका कमिटीले सर्वसम्मत गर्छौं,’ बागमती प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले भने, ‘त्यसो नसके जिल्ला हुँदै प्रदेशमा आइपुग्छ, हामी विवाद हुन दिन्नौँ।’
गठबन्धनका कारण आफूहरुको आत्मविश्वास नडगमगाएको पनि उनले स्पष्ट पारे।
‘टोल टोलमा संगठन निर्माण, वैचारिक रुपमा प्रष्ट नेता र कार्यकर्ता, सुदृढ र गुणात्मक रुपले नयाँ युवामा एमालेको आकर्षण बढ्नु नै स्थानीय तह जित्ने बलियो प्रमाण र आधार हो,’ अधिकारीले नेपालखबरसँग भने, ‘साथीहरुमा आत्मविश्वास पनि बढेको छ।’
तर, अर्का एक नेताले चुनाव जित्ने खालको व्यक्ति भेटिए पार्टीबाहिरकालाई पनि उम्मेदवार बनाउन सकिने बताए।
‘सकेसम्म पार्टीभित्रैकै योगदान गर्ने साथी, नभए एमालेलाई माया गर्ने मान, प्रतिष्ठाप्राप्त व्यक्ति, चर्चित व्यक्ति उठाएर पनि चुनाव जित्न जोड दिन्छौँ,’ ती नेताले भने, ‘त्यस्तो बेला एमालेकै सदस्य चाहिन्छ भन्दैनौँ, गठबन्धनको मत तान्न सक्ने व्यक्ति भए टिकट दिन्छौँ।’
एमालेले पछिल्ला दिनमा अन्य पार्टीबाट चुनाव जितेका जनप्रतिनिधिदेखि कलाकारसम्मलाई पार्टी प्रवेश गराइरहेको छ।
राप्रपासहित अन्य दलसँग तालमेल
एमालेले पाँच दलीय गठबन्धनको मुकाबिला गर्न राप्रपा, जनमत पार्टी लगायतसँग चुनावी तालमेल गर्दैछ। केन्द्रीय सदस्य देवेन्द्र दाहालका अनुसार कमल थापा नेतृत्वको राप्रपा नेपालसँग तालमेलबारे सहमति बनिसकेको छ।
राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा र सीके राउतको जनमत पार्टीबीच तालमेलको प्रयास भइरहेको छ।
‘हामी न्यूट्रल मत तान्न विभिन्न उपाय खोजी गरिरहेका छौँ, राप्रपा नेपालसँग मिलेर चुनाव लड्ने सहमति भएको छ,’ दाहालले भने, ‘राप्रपासँग पनि कुरा भइरहेको छ, राष्ट्रिय रुपमा एलायन्स हुँदैन। तर स्थानीय तहबाट तालमेल गर्दै जान्छौँ।’
मधेश प्रदेशमा जनतम पार्टीसँग तालमेल गर्नेबारे छलफल भइरहेको नेताहरु बताउँछन्।
सरकारको चर्को आलोचना, राष्ट्रवादी एजेन्डा
असार २८ गते सर्वाेच्च अदालतको फैसलाको कारण सत्ता गुमाएका अध्यक्ष ओलीले सरकारको चर्को विरोध गर्दै आएका छन्। अहिले उनले देउवा सरकार बनेपछि रोकिएका विकास निर्माणका कामको सूची मतदातालाई बाँड्न कार्यकर्तालाई निर्देशन दिएका छन्।
‘हामीलाई काम गर्न दिएनन्, देशभर १२ सय किलोमिटरभन्दा बढी सडक निर्माण गर्नबाट रोकियो, यो सरकार विकास विरोधी हो,’ ओलीले दिएको निर्देशन उधृत गर्दै एक नेताले भने, ‘हामी सरकारमा नगई यी कामहरु अब बन्दैनन्।’
एमाले अध्यक्ष ओलीले चैत १६ गते आफ्नो पार्टीले जितेका स्थानीय तहका जनप्रतिनिधि, जिल्ला, प्रदेश, पालिका, नगर अध्यक्ष लगायतलाई एकैसाथ सम्बोधन गर्दै घर घर जान र मतदातालाई आफ्नो पक्षमा राख्ने उपाय खोेजी गर्न निर्देशन दिएका छन्।
‘प्रत्येक जनताको घरघर जानुस्, जे गर्दा जनताले विश्वास गर्छन्, त्यही कुरा राख्नुस् र पुरा गर्ने प्रतिबद्धता जनाउनुस्,’ ओलीले निर्देशन दिएका छन्, ‘तिनै विषय समेटेर घोषणापत्र निर्माण गर्नुस्।’
त्यस्तै, एमाले नेताहरुले प्रधानमन्त्री देउवाको भारत भ्रमणमा भएका कमजोरी खोतल्ने, एमसीसी पास गरेको विषय पनि उठाउने भएका छन्।
चुच्चे नक्सा, चीनसँगको सम्बन्ध बिगारेकोले समस्या ल्याएको विषयलाई चर्काउने योजनासहित एमालेबाट जितेका जनप्रतिनिधि कार्यक्षेत्रमा खटिएका छन्।
मतदाताको मन बुझेर कार्यक्रम बनाउन निर्देशन
एमाले नेतृत्वले गठबन्धनका दलमा आस्था राख्ने मतदातालाई आकर्षित गर्नु मुख्य लक्ष्य भएकाले मतदाताको मनोविज्ञान बुझेर योजना र कार्यक्रम बनाउन निर्देशन दिएको छ।
‘संगठित नभएका मतदातालाई मनोवैज्ञानिक रुपमा ट्रिट गर्नपर्छ,’ प्रदेशको चुनावी रणनीति बनाइरहेका अर्का एक स्थायी कमिटी सदस्यले, ‘गठबन्धनका जुनसुकै दलको मतदाता भएपनि एमाले उम्मेदवारलाई मत दिने वातावरण बनाउन त्यस्तै कार्यक्रम अघि सार्नुपर्छ।’
अघिल्लो चुनावमा धेरै स्थानीय तह जितेकाले खर्चको समस्या आफ्नो पार्टीलाई नभएको ती नेताले बताए।
‘उम्मेदवारलाई खर्चबर्चको समस्या छैन। केही चन्दा उठ्छ, केही उम्मेदवार आफैँले खर्च गर्न सक्षम छन्,’ एक स्थायी समिति सदस्यले भने।
धेरै स्थानमा पहिलेकै उम्मेदवार दोहोरिने सम्भावना भएकाले पनि सजिलो हुने उनले बताए।
Shares

प्रतिक्रिया