राजनीति


गठबन्धन टुंगो नलाग्दा सत्ता साझेदार दलहरुको चुनावी अभियानमा अलमल

गठबन्धन टुंगो नलाग्दा सत्ता साझेदार दलहरुको चुनावी अभियानमा अलमल

सागर न्यौपाने
चैत १५, २०७८ मंगलबार १७:१५, काठमाडौँ

सत्ता साझेदार दलका नेताहरु स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ भन्नेमा ढुक्क छन्। तर, कुन मोडालिटीमा गठबन्धन गर्ने भन्ने निर्णय नहुँदा सत्तारुढ दलहरुको चुनावी अभियान प्रभावित बनेको छ।

गठबन्धन टुंगो नलाग्दा तल्लो तहमा नेता/कार्यकर्ता परिचालनमा समस्या परेको माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले बताएका छन्।

‘पाँच दलबीच स्थानीय चुनावमा गठबन्धन गर्न कांग्रेस पनि तयार छ, गठबन्धन त निश्चित भयो तर, कुन मोडालिटीमा गर्ने भन्ने तय नहुँदा केही अन्यौल देखिएको छ,’ नेकपा एकीकृत समाजवादीका एक पदाधिकारीले नेपालखबरसँग भने, ‘छिट्टै निर्णय भएको भए सम्बन्धित तहमा केन्द्रित हुन सकिन्थ्यो।’

नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेल पनि गठबन्धनको निर्णय हुन ढिलाइ भएकाले योजना बनाउन समस्या परेको बताउँछन्। 

‘केन्द्रीय नीति बनाएर स्थानीय तहमा नेताहरु खटाउन समय लाग्यो, यसले गर्दा निर्वाचनमा प्रभाव होला कि भन्ने हो,’ गजुरेलले भने, ‘गठबन्धन नै बनाउने भइसकेपछि जति छिटो भयो, त्यति सजिलो हुन्थ्यो। सबै पार्टीहरु आफ्नो जिम्मेवारी भएको ठाउँमा केन्द्रित हुन पाउँथे।’

गठबन्धनको अन्यौलले चुनाव नजिकै आइसक्दा पनि गतिविधि हुन नसकेको माओवादी केन्द्रका अर्का एक नेताले बताए। 

‘अब गठबन्धन भइहाल्छ, अहिले नै मेहनत नगरौँ, कसको भागमा पर्छपर्छ भन्ने तल्लो तहमा रहेछ,’ ती नेताले नेपालखबरसँग भने, ‘चुनाव आउन ४५ दिन बाँकी हुँदा जुन रुपमा साथीहरु खटिनुपथ्र्याे त्यस्तो भएको छैन।’

कांग्रेसमा गठबन्धनको विषयलाई लिएर किचलो छ। प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले गठबन्धन गर्नुपर्ने बताइरहेका छन्। तर, औपचारिक निर्णय नहुँदा एकीकृत समाजवादी पार्टीले भने चुनावको लागि सबै विकल्प खुला राखेको छ।

यस्तै जनता समाजवादी पार्टी (जसपा) ले पनि राप्रपा र जनमत पार्टीबाहेक अन्य सबै दलसँग चुनावी तालमेलको ढोका खुलै राखेको बताएको छ।

माओवादी केन्द्रले ओखढुङ्गा, पाल्पा, सिन्धुपाल्चोक लगायतका केही जिल्लामा अन्य वामपन्थी दलसँग तालमेल गर्नेगरी छलफल अगाडि बढाइसकेको छ। यद्यपि, अन्तिम निर्णयको लागि केन्द्रको निर्देशन कुरिहेको नेताहरु बताउँछन्।

‘गठबन्धनमै रहेको र प्रतिगमनविरुद्धको लडाइँमा साथ दिएकाले हामी कांग्रेससहितको गठबन्धन बनाउने पक्षमा छौँ,’ ओखलढुङ्गा जिल्लाका संयोजक निशान्त शर्माले नेपालखबरसँग भने, ‘तर केन्द्रले ढिलाइ गरिरहेको छ, हामीले यहाँ छिट्टै चुनावी गतिविधि गर्न पनि अब धेरै कुर्न हुँदैन भनेर एमाले लगायत वामपन्थीसँग छलफल भइरहेको छ।’

केन्द्रबाट गठबन्धनको निर्णय नभए पनि अर्घाखाँची, कास्की र धनकुटामा स्थानीय तहबाटै गठबन्धन घोषणा गरिएको छ।

नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल गठबन्धन बनाउने घोषणा नगरेसम्म एउटै योजना लिएर चुनावमा जान कठिन हुने बताउँछन्। चुनावी रणनीति अलगअलग बनाउँदा स्थानीय तह अनुसार फरक नतिजा आउने उनको भनाइ छ।

‘हामीले चुनावी गतिविधि गरिराखेका छौँ,’ भुसालले भने, ‘गठबन्धन गर्ने निर्णय भइसकेको भए सबै ठाउँमा आम रुपमा रणनीति बनाउन सहज हुन्थ्यो। तर त्यो कांग्रेसले निर्णय नगर्दा केही रोकिएको साँचो हो।’

‘गठबन्धन बनाउने भनेको कुन दलले कति स्थानीय तह पाउँछन् भन्ने निश्चित हुनु पनि हो,’ भुसालले भने, ‘गठबन्धनका अरु दलका उम्मेदवार जिताउन पनि नेताहरुलाई खटाउन पर्छ, त्यसमा ढिलाई हुँदै गएको छ।’

प्रधानमन्त्री देउवा चैत १८ मा तीन दिने भ्रमणका लागि भारत जाँदैछन्। स्थानीय चुनावको मुखमा हुन लागेको देउवाको भारत भ्रमणपछिको राजनीतिक माहोल परिवर्तन नहोस् भन्नका लागि पनि चुनावी तालमेलको निर्णय अहिले नै होस् भन्ने सत्तारुढ दलका नेताहरुको चाहना देखिन्छ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ८० दलले भाग लिँदैछन्। जसपाले चैत २० र माओवादी केन्द्रले २२ गतेसम्म उम्मेदवार हुनेहरुको प्रारम्भिक विवरण केन्द्रमा पठाउन सर्कुलर पठाएको छ। जसपाले २५ गतेसम्मको समय राखेको छ।

गठबन्धनबारे निर्णय नभए पनि दलहरुले चुनावी गतिविधि भने गरिरहेका छन्। माओवादी केन्द्रले सबै प्रदेशमा प्रशिक्षण र भेला सम्पन्न गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली, सुदूरपश्चिम, उपत्यकालगायत प्रदेशस्तरीय प्रशिक्षणहरुमा गठबन्धनबाट चुनाव लड्ने सपना नदेख्न निर्देशन दिँदै एक्लै चुनाव लड्नेगरी तयारी गर्नुपर्ने बताएका थिए।

जसपाले पनि चुनावी प्रचार तीव्र बनाएको छ। अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशमा निरन्तर कार्यक्रम गरिरहेका छन्। 

एकीकृत समाजवादी समेत चुनावी प्रचार अभियानमा सक्रिय रहेको महासचिव भुसालले बताए। सातै प्रदेशमा नेताहरुलाई खटाइसकेको छ। 

नेकपा एमालेले आक्रामक रुपमा चुनावी अभियान गरिरहेको छ। एमालेलाई रोक्नको लागि पनि गठबन्धन बनाउनुपर्ने कांग्रेसका नेताहरु बताइरहेका छन्।

गठबन्धनबारे निर्णय गर्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक तीन दिनदेखि जारी छ। तर, अहिलेसम्म बोल्ने नेताहरुले गठबनधन बनाउन नहुने धारणा राखिरहेका छन्।

गठबन्धनमा ढिलाइ भए मतदानमा पनि समस्या पर्ने दलहरुको चिन्ता छ।

‘यदि अहिले नै गठबन्धनबारे प्रष्ट धारणा बनेन र साझा सहमति भएन भने त्यसले मतदानमा समस्या पर्छ,’ एकीकृत समाजवादीका अर्का एक नेताले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad