राजनीति


प्रचण्ड कार्यकारी अध्यक्ष, पाँच वर्ष ओली नै प्रधानमन्त्री

प्रचण्ड कार्यकारी अध्यक्ष, पाँच वर्ष ओली नै प्रधानमन्त्री

नेपालखबर
मंसिर ४, २०७६ बुधबार ९:५५,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच कार्यविभाजन भएको छ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालयको बैठकले सरकार सञ्चालनको सम्पूर्ण अधिकारी प्रधामन्त्री ओलीलाई दिने र पार्टीको कार्यकारी अधिकार प्रचण्डलाई दिने निर्णय गरेको हो।

सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठले दुवै अध्यक्षको कार्यविभाजन भएको पुष्टि गरे। ‘अध्यक्ष ओलीले सरकारको नेतृत्व र प्रचण्डले पार्टीको नेतृत्व गर्नेगरी कार्यविभाजन भयो’, प्रवक्ता श्रेष्ठले भने।

बैठकले मन्त्रिमण्डल फेरबदलको पूरै अधिकार प्रधानमन्त्रीलाई दिएको छ।

 प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सचिवालय बैठकमा प्रचण्डलाई अध्यक्ष दिने माइन्युट भएको छ। जसमा वरियताक्रम अहिलेकै रहने छ। अर्थात् ओली पहिलो र प्रचण्ड दोस्रो वरियतामा रहने छन्।

ओलीले मुख्यतः सरकारको नेतृत्व गर्नेछन् भने प्रचण्डले पार्टीको। पार्टी बैठकको अध्यक्षता प्रचण्डले गर्नेछन्। 

योसँगै अध्यक्ष ओलीले पाँच वर्ष नै सरकारको नेतृत्व गर्नेछन्। 

२०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता गर्दा ओली र प्रचण्डबीच सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो। बीचमा अध्यक्ष ओली सहमतिबाट पछि हटेपछि एकता प्रक्रिया र मन्त्रिपरिषद पुनर्गठनको काम रोकिएको थियो।

पछिल्लो पटक प्रधानमन्त्री ओली सिंगापुर उपचारमा जाँदा प्रचण्डलाई बैठक राख्ने अधिकार दिए पनि उनी फर्केपछि बैठककको अध्यक्षता आफैँ गर्दै आएका थिए। 

निर्णयसँगै ओली र प्रचण्डबीच रहेको कार्यविभाजनको किचलो समाप्त भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .