राजनीति


प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउन ओलीले डाके सचिवालय बैठक*

प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउन ओलीले डाके सचिवालय बैठक*

नेपालखबर
कात्तिक २८, २०७६ बिहिबार १७:१०,

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अधिकार दिने निर्णय गराउन सचिवालय बैठक डाकेका छन्।

आज, शुक्रबार बिहान ९ बजे बालुवाटारमा बस्ने नेकपा सचिवालय बैठकले संभवतः प्रचण्डले कार्यकारी अध्यक्षका हैसियतमा पार्टीको नेतृत्व गर्ने र प्रधानमन्त्रीमा ओली नै निरन्तर रहने निर्णय गर्नेछ।

मन्त्रीपरिषद हेरफेर अघि दुई जना अध्यक्षको कार्यविभाजन गर्न शुक्रबार बिहान सचिवालय बैठक डाकिएको नेकपाका एक उच्च नेताले बताए। सचिवालयको बैठक बोलाउनुअघि बिहीबार अध्यक्षद्वय ओली र प्रचण्डबीच करिब डेढ घण्टा छलफल भएको थियो।

‘शुक्रबार मन्त्रीपरिषद हेरफेरको निर्णय गर्न होइन, अध्यक्षहरूको कार्यविभाजनका लागि सचिवालय बोलाइएको हो’, नेकपाका उच्च नोताले भने, ‘संभवतः ओलीले प्रधानमन्त्रीका हैसियतमा निरन्तर सरकारको नेतृत्व गर्ने र प्रचण्डले कार्यकारी अध्यक्षका हैसियतमा पार्टीको नेतृत्व गर्ने निर्णय हुनेछ।’

आजको सचिवालय बैठकबाट कार्यविभाजनको निर्णय यदि भएन भने यस्तो निर्णय गर्नका लागि स्थायी समिति बैठक बोलाउने सहमती पनि हुन सक्नेछ।

यसअघिको तयारी अनुसार शुक्रबार वा यो साताभित्र मन्त्रीपरिषद हेरफेर भैसक्नु पर्ने भएपनि पहिले अध्यक्षको कार्यविभाजन गर्ने गरी त्यसलाई केही दिन पर सारिएको हो।

‘अब अध्यक्षद्वयसहित नेताहरूको कार्यविभाजन भएपछि मात्रै मन्त्रीपरिषद हेरफेर हुनेछ, त्यसका लागि अझै केही दिन लाग्ने देखिन्छ’, एक जना प्रभावशाली मन्त्रीले बिहीबार नेपालखबरसँग भने।

करिब दुई वर्षअघि एमाले र माओवादी केन्द्रबीच एकता हुने बेलामा नै ओली र प्रचण्डबीच आधाआधा कार्यकाल सरकारको नेतृत्व गर्ने लगायत चार बुँदे सहमती भएको थियो। त्यो सहमती लागू गर्ने हो भने अबका केही महिनापछि ओलीले प्रधानमन्त्री पद प्रचण्डलाई छोड्नु पर्ने हुन्छ।

तर अध्यक्ष प्रचण्डले यदि पार्टी र सरकारको जिम्मेवारी छुट्याएर कार्यविभाजन गर्ने हो भने ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व गर्न सक्ने बताउँदै आएका छन्।

त्यसैअनुसार करिब ३ महिना पहिले प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जानुअघि दुई अध्यक्षबीच प्रचण्डले कार्यकारी अध्यक्षका रुपमा पार्टीको र ओलीले निरन्तर सरकारको नेतृत्व गर्ने सहमती भएको थियो।

तीन महिनासम्म त्यो सहमती कार्यान्वयन नहुँदा पार्टीभित्र अन्योल बढेको थियो। तर पछिल्लो समय पार्टी र सरकारसँग सम्बन्धित धेरै विषय टुंग्याएर मृगौलाको थप उपचारका लागि विदेश जाने तयारीमा रहेका ओली अन्ततः प्रचण्डलाई कार्यकारी अध्यक्षको अधिकार दिन तयार भएका नेकपाका उच्च स्रोतहरूले जनाएका छन्।

एमाले र माओवादी केन्द्र एकता भएर नेकपा बनेपनि कालान्तरमा पार्टीको नेतृत्व कसले हत्याउने भन्ने होडबाजी चलिरहेको छ। त्यस क्रममा ओली, प्रचण्ड र माधवकुमार नेपालबीच गठबन्धन बन्ने र टुट्ने पनि भइरहेको छ।

प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने निर्णय यदि शुक्रबार भयो भने संभवतः पार्टी एकतापछि त्यसलाई संस्थागत गर्ने यो सबैभन्दा महत्वपूर्ण निर्णय हुनेछ, जुन सरकारको स्थायित्वसँग पनि जोडिएको छ।

यस्तो निर्णय लिनुअघि बुधबार प्रधानमन्त्री ओलीले बरिष्ठ नेता नेपाललाई बालुवाटार निम्त्याएर चार घण्टा छलफल गरेका थिए। एक व्यक्ति एक पदको सिद्धान्त अनुसार पार्टी चल्नु पर्ने भन्दै नेपालले पार्टीमा फरक मत नै राख्दै आएका छन्।

*शुक्रबार बिहान बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अध्यक्षद्वयको कार्यविभाजनबारे अनौपचारिक छलफलहरू चलिरहेका छन्। सचिवालय बैठक शुक्रबार बस्ने नबस्ने टुंगो छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad