ad ad

राजनीति


चित्रबहादुरका विद्यार्थी तुलप्रसाद : जसले राजमोलाई राष्ट्रिय सभामा प्रवेश गराए

४६ वर्षभन्दा लामो छ राजनीतिक यात्रा
चित्रबहादुरका विद्यार्थी तुलप्रसाद : जसले राजमोलाई राष्ट्रिय सभामा प्रवेश गराए

राजमोबाट राष्ट्रियसभामा विजयी तुलप्रसाद विके 'राजेश'


सुदीप भण्डारी
माघ १२, २०७८ बुधबार २१:५२, रुपन्देही

तुलप्रसाद विश्वकर्मा ‘राजेश’को राजनीतिक यात्रा ४६ वर्षभन्दा लामो छ। विद्यालय पढ्दादेखि नै उनले राजनीतिमा चासो दिन थालेका थिए। 

गाउँको विद्यालयमा ४ कक्षासम्म पढेका उनी कक्षा ५ पढ्न बागलुङस्थित गलकोटको हरिचौर निमाविमा गए। 

त्यो विद्यालयमा राष्ट्रिय जनमोर्चाका वर्तमान अध्यक्ष चित्रबहादुर केसी प्रधानाध्यापक थिए। त्यहीँ पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सहायक प्रधानाध्यापक थिए। 

‘राजनीतिमा लाग्ने प्रेरणा उहाँहाँहरुबाटै पाएको हो, नियमित कक्षाबाहेक राजनीतिक सिकाइ पनि हुन्थ्यो,’ तुलप्रसादले सम्झिए, ‘झलनाथ खनालले विज्ञान पढाउनुहुन्थ्यो। उहाँलाई प्रहरीले गिरफ्तार गरेर लग्दा हामीले खोसेर ल्याएका थियौँ। पछि फेरि गिरफ्तारीमा पर्नुभएको थियो।’ 

दलित समुदायको भएकै कारण विश्वकर्माले बागलुङमा छोइछिटो, छुवाछुत, भेदभाव र अनेकौँ अत्याचार भोग्नुपर्यो। 

यही सामाजिक विभेदले उनलाई राजनीतिमा आउन प्रेरित गर्यो। उत्पीडित जातिलाई उत्थान गर्न कम्युनिष्ट राजनीति सही छ भन्ने उनले महसुस गरे। क्रमशः विद्यार्थी राजनीतिलाई अघि बढाउँदै लगे। 

२०३३ सालमा भारतको अयोध्यामा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको पाँचौं सम्मेलनमा विश्वकर्माले बागलुङबाट प्रतिनिधित्व गरेका थिए। 

२०३४ असार ७ गते नेकपा मालको राजतन्त्रविरोधी प्रसिद्ध पर्चा आन्दोलनका क्रममा उनी बागलुङमा गिरफ्तार भए। 

राजनीतिसँगै तुलप्रसाद शिक्षण पेशामा पनि थिए। ५ वर्ष पढाएका उनले २०३५ सालमा शिक्षण राजीनामा दिएर राजनीतिमा पूर्णकालिन भएका हन्। ‘देश र जनताको सेवा गरौँ भन्ने चाहनाले शिक्षकको जागिर छाडेर राजनीतिमा अझै सक्रिय भएँ,’ उनले भने। 

पूर्णकालीन राजनीतिमा आइसकेपछि तुलप्रसाद तीन वर्ष दक्षिण भारत र डेढ वर्ष दिल्लीमा रहेर पार्टी संगठनकर्ताको जिम्मेवारी निर्वाह गरे। 

भारतमा रहँदा उनी अखिल भारत वामपन्थी युवक मोर्चाको संयोजक बने। त्यसको प्रथम भेलाबाट महासचिव पनि बने।

२०४२ सालमा नेपालमा पञ्चायती चुनाव बहिष्कारको समर्थनमा दिल्लीमा मसालले १२ मई नामको आन्दोलन गरेको थियो। उक्त आन्दोलनमा गिरफ्तार भएर उनी ३ महिना दिल्लीको तिहाड जेलमा बसे। 

लामो समय नेकपा मसालको सांस्कृतिक मोर्चाको संयोजक भएर पनि उनले काम गरे। जनगायक जीवन शर्माभन्दा अगाडिदेखि नै तुलप्रसाद मसालको सांस्कृतिक मोर्चा तथा रक्तिम सांस्कृतिक अभियानमा रहेर सांगीतिक प्रस्तुति दिन्थे।  

२०४५ सालमा नेकपा मसालनिकट जातीय समता समाजको अध्यक्ष पनि चुनिए। अहिले पनि उनी त्यही पदमा छन्। केही वर्षयता उनी रुपन्देहीमा रहेर राजनीतिमा क्रियाशील छन्। 

चित्रबहादुर केसी पहिलोपटक सांसद हुँदा उनको स्वकीय सचिव रहेका विश्वकर्मा २०५६ सालमा रुपन्देही क्षेत्र नम्बर ३ बाट उमेदवार बनेका थिए। 

२०७० को संविधान सभा र २०७४ को आमचुनावमा समानुपातिकतर्फ उमेदवार बने पनि सांसद बन्न सकेनन्। 
अहिले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको समर्थनमा विश्वकर्मा राष्ट्रिय सभाको उमेदवार बन्दै विजयी पनि भएका छन्। 

अब संविधानको रक्षा, देश र जनताको हितमा काम गर्ने विश्वकर्माले सुनाए। 

‘प्रतिनिधि सभा विघटन भएर संविधानमाथि प्रहार भएको थियो। त्यसकै विरुद्धमा संविधानको रक्षा गर्ने एजेण्डासहित हाम्रो उम्मेदवारी थियो,’ उनले भने, ‘मुलुकमा उत्पीडन, असमानता लगायतका समस्या छन्। ती समस्या समाधान गर्न आफ्नो ठाउँबाट पहल गर्छौँ।’

माथिल्लो सभामा पहिलो पटक राजमो 
तुलप्रसादको विजयसँगै राष्ट्रिय सभामा जनमोर्चा पहिलो पटक प्रवेश गरेको छ। प्रतिनिधि सभा र संविधान सभामा यसअघि राष्ट्रिय जनमोर्चाले प्रतिनिधित्व गरेको थियो। 

संविधान सभाको माग गर्दै २०४८ को आम निर्वाचन बहिष्कार गरेको राष्ट्रिय जनमोर्चा पहिलो पटक २०५१ को निर्वाचनमा प्रतिनिधि सभामा पुगेको थियो। 

त्यो निर्वाचनमा प्युठानबाट नवराज सुवेदी र बाग्लुङबाट परी थापा प्रतिनिधि सभामा निर्वाचित भएका थिए।

पहिलो पटक प्रतिनिधि सभामा प्रतिस्पर्धा गरेको राजमोका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङ–२ मा पराजित हुन पुगेका थिए। उनी २०५६ र २०६४ मा भने बाग्लुङबाट निर्वाचित भए। 

२०५१ देखि प्रतिनिधि सभामा प्रतिनिधित्व भए पनि राष्ट्रिय सभामा भने यसअघि जनमोर्चा कहिल्यै पुगेन। २०७४ को आमनिर्वाचनमा वाम गठबन्धनमा सामेल उसलाई राष्ट्रिय सभा निर्वाचनमा एमाले र माओवादी केन्द्रले कुनै सिट दिएनन्। 

राष्ट्रिय सभामा प्रतिनिधि सभा र स्थानीय तहका जनप्रतिनिधिले मतदान गर्ने भएकाले जितका लागि आवश्यक मत संख्या नहुँदा राजमोको प्रतिनिधित्व हुन सकेको थिएन।

संविधान सभाबाट संविधान जारी भएपछि भएको राष्ट्रिय सभाको पहिलो निर्वाचनमा पनि एमाले–माओवादी केन्द्रले स्थान नदिएपछि जितका लागि राजमोसँग आवश्यक मत थिएन। दोस्रो निर्वाचनमा पनि वाम गठबन्धनबाट राजमोले कुनै सिट पाएन। 

नेकपा विभाजनपछि बनेको वर्तमान ५ दलीय सत्ता गठबन्धनले आफ्नो जित निश्चित मानिएको लुम्बिनीको दलित सिटमा राजमोका तुलप्रसाद विकलाई उम्मेदवार बनाएको हो। 

विश्वकर्मासँगै गठबन्धनबाट कांग्रेसका युवराज शर्मा र एकीकृत समाजवादीकी राज्यलक्ष्मी गैरे पनि विजयी भएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .