ad ad

राजनीति


राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा एमाले-राप्रपा मिलेनन्, गठबन्धनले सजिलै जित्ने

अन्य प्रदेशमा राप्रपा मतदानमा सहभागी नहुने
राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा एमाले-राप्रपा मिलेनन्, गठबन्धनले सजिलै जित्ने

फाइल तस्बिर


नेपालखबर
माघ ११, २०७८ मंगलबार १३:५०, काठमाडौँ

प्रदेश १ को राष्ट्रियसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक्लै प्रतिस्पर्धा गर्ने भएको छ। 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय पदाधिकारीहरूको बैठकले प्रदेश १ को राष्ट्रियसभा निर्वाचनमा एक्लै लड्ने निर्णय लिएको हो। 

यही बुधबार हुने हुने राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश १ मा राप्रपाले आफ्ना उम्मेदवारहरू अम्बरबहादुर बिष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न निर्देशन दिने निर्णय लिएको केन्द्रीय सदस्य मोहन श्रेष्ठले नेपालखबरलाई जानकारी दिए।

श्रेष्ठका अनुसार अन्य प्रदेशहरूमा पार्टीको उम्मेदवार नभएकोले आफ्ना मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरिएको छ।

प्रदेश १ मा उम्मेदवारी दर्ताका क्रममा एमाले र राप्रपा तालमेल प्रयास भएको थियो। छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका राप्रपा र एमालेबीच तालमेलको कोसिस भए पनि सफल हुन नसकेको हो।

राष्ट्रिय सभा सदस्य जित्न प्रदेश १ मा एमाले र राप्रपाबीच सहकार्यले मूर्त रुप नलिएसँगै त्यहाँ गठबन्धनका उम्मेदवारहरू सजिलै विजयी हुने पक्का भएको छ। 

एमाले र राप्रपाबीच सहकार्य हुँदा पनि राष्ट्रियसभाका तीनै पद जित्ने सम्भावना कम थियो। प्रदेश १ मा एमालेले दुईटा लिएर आफूलाई एउटा दिए तालमेलका लागि  तयार रहेको जनाउ राप्रपाले दिएको थियो। 

तर एमाले अध्यक्ष केपी शर्मा ओली तालमेलका लागि तयार भएनन्। तालमेलका लागि यी दुई दलबीच केही चरण वार्ता पनि भएको थियो। 

तर दुई दल मिल्दा पनि ४४ मतभार कम हुने भएपछि तालमेलको अर्थ नहुने भन्दै पछि हटेका हुन्। राप्रपा केन्द्रीय सदस्य श्रेष्ठले पार्टीले आफ्नो अस्तित्व कायम गर्दै प्रदेश १ मा प्रतिस्पर्धा गर्ने निर्णय लिएको बताए।

'प्रदेश १ मा मात्रै हाम्रा दुई उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ। त्यहाँ हामी एक्लै लड्ने निर्णयमा पुगेका छौँ', उनले नेपालखबरसँग भने, 'अन्य प्रदेशमा हाम्रा उम्मेदवार नभएकाले हामी अन्य दलका उम्मेदवारलाई भोट हाल्दैनौँ।'

एकै जिल्ला झापाका एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष लिङ्देनबीच तालमेलबारे कुरा भए पनि जित पक्का नहुने भएपछि उनीहरु एक्ला एक्लै लड्ने भएका हुन्।

२०७४ को निर्वाचनमा झापाका दुई क्षेत्रमा राप्रपा-एमाले तालमेल भएको थियो। उक्त तालमेलले ओली र लिङ्देन दुवै विजयी भएका थिए। तालमेलकै कारण कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौला पराजित भएका थिए। 

प्रदेश १ मा तीन पदका लागि आठ जनाको उम्मेदवारी परेको थियो। एमालेले खुलातर्फ मोरङका गुरु बराल, महिलामा झापाकी सुमित्रा भण्डारी र अपांगता भएका वा अल्पसंख्यकतर्फ सोलुखुम्बुकी सोनाम ग्याल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले खुल्लातर्फ गोपाल बस्नेत, नेकपा एकीकृत समाजवादीबाट महिलातर्फ भोजपुरकी जयन्ती राई र जनता समाजवादीबाट भोजपुरकै हेमराज राईले अपांगता भएका र अल्पसंख्यकबाट प्रतिस्पर्धा गर्दैछन्। 

यस्तै झापा निवासी दुईजनाले राप्रपाबाट प्रतिस्पर्धा गर्दैछन्। खुलातर्फ अम्बरबहादुर बिष्ट र महिलातर्फ रञ्जु प्याकुरेल मैदानमा छन्। 

प्रदेश १ मा एमालेबाट राष्ट्रियसभा सदस्यहरू मोरङकी नैनकला ओझा, इलामका अगम बान्तावा र संखुवासभाका परशु मेघी गुरुङको कार्यकाल फागुन २० मा सकिँदैछ। 

एमालेले प्रदेश २ मा भने लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेल गरेको छ। तालमेल गर्दा पनि त्यहाँ पाँच दलीय गठबन्धन नै बलियो देखिएको छ। 

मतभार
राष्ट्रिय सभाका लागि प्रदेशको जम्मा मतभार ९ हजार ३ सय १२ रहेको छ। जसमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गठबन्धनमा ५० प्रदेश सांसद छन्। 

त्यस्तै १ सय २६ स्थानीय तह प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष पनि छन्। गठबन्धनको मतभार ४ हजार ६ सय ६८ रहेको छ। 

एमालेबाट ४१ जना प्रदेशसभा सदस्य र १ सय ४२ स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष छन्। जसको  मतभार ४ हजार ५ सय २४ छ। गठबन्धन र एमालेको मतभार फरक १ सय ४४ देखिन्छ। 

एमालेलाई एकजना सांसद फरार रहँदा पनि घाटा भएको छ। एमाले सांसद गुलेफुन खातुन उच्च अदालत विराटनगरले कीर्ते कागजात मुद्दामा दोषी ठहर गरेयता फरार छन्। यसबाट एमालेको मतभार ४८ घटेको छ। 

एमालेलाई तीनै सिट जित्न १९२ मतभार चाहिन्छ। राप्रपासँग तालमेल गर्दा पनि एमालेको पक्षमा १२० मतभार हुन्छ। 

सांसद खातुन पनि फरार सूचीमा रहेकाले तालमेल हुँदा पनि ७२ मतभार कम हुन्छ। यस्तोमा उसले गठबन्धनका २ जना प्रदेश सांसद र चारजना स्थानीय तहको मत लिन सक्नुपर्छ। तर यो सम्भावना पनि नरहेपछि तीनै सिटमा गठबन्धनले जित्ने निश्चित देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .