राजनीति


अफगानिस्तानमा सहयोग पठाएर नेपालले तालिबान सरकारलाई मान्यता दिएको हो?

अफगानिस्तानमा सहयोग पठाएर नेपालले तालिबान सरकारलाई मान्यता दिएको हो?

आइतबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री डा. नारायण खड्का। तस्बिर : विक्रम राई/नेपालखबर।


नेपालखबर
माघ २, २०७८ आइतबार ८:५७, काठमाडौँ

संकटग्रस्त अफगानिस्तानका लागि नेपालका तर्फबाट १४ टन मानवीय सहायतासम्बन्धी सामग्री लिएर आज (आइतबार) सरकारी टोली जहाजमार्फ काबुल (अफगानिस्तानको राजधानी) उडेकाे छ। 

यस विषयमा बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन्। 

‘गत अगस्टमा तालिबान सत्तामा आएपछि अफगानिस्तानका जनता ठूलो मानवीय संकटबाट गुज्रिएरहेकाले नेपालले मानवीय सहायता पठाउन लागेको हो’, परराष्ट्रमन्त्री नारायण खड्काले भने। 

लत्ताकपडा र औषधि गरी करिब १४ टन मानवीय सहयोग हस्तान्तरण गरिने मन्त्री खड्काले बताए।

पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. खड्कालाई पत्रकारले सोधे– नेपालले तालिबान सरकारलाई मान्यता दिएको हो र!

जवाफमा परराष्टमन्त्री खड्काले नेपालले अहिलेसम्म अफगानिस्तानको तालिबान सरकारलाई वैधता नदिएको, विशुद्ध त्यहाँ संकटमा नागरिकलाई मानवीय सहायता मात्रै दिन लागिएको बताए। 

त्यसैले ‘नेपाली टोलीले सहायता सामग्री सिधै तालिबान सरकारलाई हस्तान्तरण नगरी काबुलस्थित संयुक्त राष्ट्रसंघीय वरिष्ठ अधिकारीको जिम्मा लगाउने’ मन्त्री खड्काको भनाइ छ। 

गत अगस्टमा अफगानिस्तानमा तालिबान सत्तामा आएयता विभिन्न मुलुकले मानवीय सहायता सामग्री पठाइरहेका छन्। एक महिनाअघि भारतले पनि अफगानिस्तानमा राहत सामग्री पठाएको थियो।

हिमालय एयरलाइन्सको जहाजले सरकारी टोलीसहित सहायता सामग्री निःशुल्क अफगानिस्तान लगिदिने भएको हो। बिहान ९:१५ मा काठमाडौंबाट जहाज उड्नेछ र  र साढे ३ घन्टामा काबुलस्थित विमानस्थलमा पुग्नेछ।

परराष्ट्र मन्त्री खड्काका अनुसार अफगानिस्तानका २ करोड ७० लाख मानिस मानवीय सहयोगको पर्खाइमा छन्। तीमध्ये ३० लाख बालबालिका कुपोषणबाट ग्रस्त छन्। 

‘अफगानी जनताका लागि अन्तर्राष्ट्रिय सहयोग यतिबेला ठप्प भएको अवस्थामा नेपालले मानवीय सहयोग पुर्‍याउनुपर्छ भनेर विशेष जहाजबाट आज सामग्री पठाउन लागेका हौं’, मन्त्री खड्काले भने, ‘सरकारलाई कुनै व्ययभार नपारी निजी क्षेत्रकै सहयोगबाट हामीले इतिहासमै पहिलोपटक जहाजै चार्टड गरी सहयोग गर्न लागेका हाैँ।’

प्राकृतिक प्रकोपका बेला नेपालले विभिन्न देशबाट सहयोग लिएको उल्लेख गर्दै उनले परेका बेला नेपालले पनि सहयोग गर्न सक्ने सन्देश दिन पनि सहयोग पठाइएको बताए। 

अफगानिस्तान जाने सरकारी टोलीलाई आइतबार बिहान बिदाइ गर्दै परराष्ट्रमन्त्री खड्का।

गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानका तत्कालीन राष्ट्रपति असरफ गनी देशै छाडेर भागेका थिए।

अहिले उनी सपरिवार यूएईको शरणमा बसिरहेका छन्।  त्यसयता अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएको छ। 
अफगानिस्तान सार्कको सदस्य राष्ट्र तथा नेपाल अध्यक्ष भएकाले पनि उसलाई सहयोग गर्न आवश्यक भएको परराष्ट्रमन्त्री खड्काले बताए। 

अफगानिस्तानमा तालिबानको सरकार बनिसके पनि अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको छैन।

परराष्ट्रमन्त्री डा. खड्काले गरेको पत्रकार सम्मेलन हेर्नुहोस् तलको भिडिओमा–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad