राजनीति


एमाले अधिवेशन : प्रदेश १ मा दसबुँदे पक्षधरको बिजोग!

एमाले अधिवेशन : प्रदेश १ मा दसबुँदे पक्षधरको बिजोग!

कृष्ण बहाब
पुस २८, २०७८ बुधबार १६:३७, इटहरी

नेकपा एमालेको जिल्ला अधिवेशन चलिरहँदा प्रदेश १ मा दस बुँदे पक्षधर कमजोर देखिएका छन्। 

पार्टी विभाजनमा माधव नेपाललाई साथ नदिएर एमालेमै बसेका दस बुँदे पक्षधर नेताहरुले प्रदेश १ मा आफ्नो छाप छाड्न असफल भएका हुन्।

असार २७ गते राति भएको दस बुँदे लागु गर्न प्रदेश १ का २ जिल्लामा रस्साकस्सी परेका थियो। 

दस बुँदे सहमतिका लागि भूमिका खेलेका दुई नेता भीम आचार्य र योगेश भट्टराईकै गृह जिल्लामा जेठ २ अघिको अध्यक्ष बनाउन विवाद चलेको थियो।

लामो विवादमा फसेका दुईमध्ये भट्टराईको गृहजिल्ला ताप्लेजुङमा निर्वाचनबाटै नेतृत्व टुंगिएको छ। जहाँ दसबुँदे पक्षधर नेता बलबहादुर साम्सोहाङ पराजित भए। उनलाई केपी शर्मा ओलीनिकट भूपेन्द्र थेबेले हराएका हुन्।

तर यता सुनसरीमा भने एमालेभित्रको दृश्य अलिक फरक देखिएको छ । निर्वाचनबाट नेतृत्व चयन गर्ने प्रदेश १ का ताप्लेजुङ र इलामपछि सुनसरी पनि भएको छ। 

सुनसरीमा तीनजना अध्यक्षको दौडमा छन्। अध्यक्षसहित अधिकांश पदाधिकारीका लागि मंगलबार निर्वाचन भएको थियो। त्यहाँ भर्खर मतगणना थालिएको छ।

अध्यक्षमा संस्थापननिकट तीन उम्मेदवार रेवतीरमण भण्डारी, खेमराज पोख्रेल र द्वारिकालाल चौधरीबीच प्रतिस्पर्धा भएको छ। संस्थापनबीचकै प्रतिस्पर्धामा दस बुँदे समूहले खेमराज पोख्रेललाई सहयोग गरेको छ। त्यही लाइनबाट उपसचिव र उपाध्यक्ष लिएर दस बुँदे पक्ष निर्वाचनमा गएको हो।

दस बुँदे सहमतिका एक साक्षी भीम आचार्यले समेत पोख्रेलको प्यानलबाट आफूनिकट नन्द बस्नेत र लोकेश निरौलालाई उमेदवार बनाएका छन्। त्यहीकारण आचार्यले अघि सारेका उम्मेदवारका रुपमा पोखरेललाई हेरिएको छ।

दसबुँदेहरु कमजोर! 
नेकपा एमालेको जिल्ला अधिवेशनबाट प्रदेश १ का १२ जिल्लाको नेतृत्व चयन भइसकेको छ । १४ मध्ये सुनसरी र संखुवासभाको मात्रै परिणाम आउन बाँकी छ।

यी दुई जिल्लाको परिणामलाई पर्खिँदा प्रदेश १ को जिल्ला अधिवेशनमा एमालेमा दसबुँदे पक्षधर कमजोर देखिएका छन् । सुनसरी र संखुवासभाका आकांक्षीसमेत दश बुँदे पक्षधरबाट प्रमुख पदमा प्रतिस्पर्धी छैनन्।

१२ जिल्लाको अधिवेशन सकिँदा भोजपुरमा मात्रै १० बुँदे पक्षधरका नेता अध्यक्ष बनेका छन्। 

प्रदेश १ का पूर्व मुख्यमन्त्री एवम् एमाले स्थायी कमिटी सदस्य शेरधन राईको गृह जिल्ला भोजपुरमा उनलाई सहज हुने गरी दसबुँदे पक्षधर शरण राई अध्यक्ष बनेका हुन्। 

शेरधन मुख्यमन्त्री बनेका बेला उनका प्रमुख स्वकीय मक्कर खड्का संस्थापनबाट अध्यक्षका दाबेदार थिए।

संस्थापनका खड्का सचिवबाट अध्यक्षमा फड्को हान्ने तयारीमा थिए। तर, आफूलाई बलियो बनाउन पूर्व मुख्यमन्त्री राईले शरणलाई सर्वसम्मत चयन गरे।

भोजपुरबाहेक अन्य जिल्लामा दसबुँदे पक्षका नेताहरू अध्यक्ष बनेनन्। यसअघि जिल्लाको नेतृत्व गरेका दसबुँदे पक्षधर नेता पनि पाखा लागिसकेका छन्। 

तेह्रथुमका निवर्तमान अध्यक्ष लक्ष्मण तिवारी दोहोरिन चाहेका थिए। तर, उनले जिल्ला नेतृत्व लिन सकेनन्। तिवारीको ठाउँमा तेजमान कन्दङ्वा सर्वसम्मत अध्यक्ष बने।

ताप्लेजुङमा भूपेन्द्र थेबे निर्वाचित भएका छन्। योगेश भट्टराईनिकट बलबहादुर साम्सोहाङलाई ५६ मतले पछि पार्दै थेबे अध्यक्ष बनेका हुन्। थेबेले ३ सय २९ र साम्सोहाङले २ सय ७३ मत प्राप्त गरेका थिए।

कुन जिल्लामा को?
एमाले प्रदेश १ का अध्यक्ष तुलसी न्यौपानेका अनुसार १२ जिल्लाको परिणाम आइसकेको छ। सुनसरीमा मतगणना जारी छ। संखुवासभामा छलफल चलिरहेकाले नेतृत्व चयन भएको छैन।

झापा, मोरङ, धनकुटा, खोटाङ, तेह्रथुम, भोजपुर, सोलुखुम्बु, पाँचथर र उदयपुरमा सर्वसम्मत नेतृत्व चयन हुँदा इलाम, ओखलढुंगा, ताप्लेजुङ र सुनसरीमा निर्वाचन भएको हो।

प्रदेश कमिटी अध्यक्ष न्यौपानेका अनुसार मोरङ अध्यक्षमा ऋषिकेश पोखरेल, झापा अध्यक्षमा दीपक कार्की, खोटाङ अध्यक्षमा रामप्रसाद दंगाल, धनकुटा अध्यक्षमा इन्द्रमणि पराजुली, तेह्रथुम अध्यक्षमा तेजमान कन्दङ्वा, पाँचथरमा राजकुमार भण्डारी, भोजपुरमा शरण राई, उदयपुरमा परमानन्द घिमिरे, ओखलढुङ्गामा शंकर कटुवाल र सोलुखुम्बुमा डुफकुमार बाँस्तोला चयन भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .