ad ad

राजनीति


एमाले कञ्चनपुर : लेखराज भट्ट र निरु पालको टकरावले जुटेन सहमति

एमाले कञ्चनपुर : लेखराज भट्ट र निरु पालको टकरावले जुटेन सहमति

गोकुल जोशी
पुस २५, २०७८ आइतबार १६:२३, काठमाडौँ

नेकपा (एमाले)लाई कञ्चनपुरमा आफ्नो नेतृत्व छान्न सकस परेको छ। अध्यक्षका आकांक्षीबीच सहमति जुट्न नसक्दा सर्वसम्मतिमा नेतृत्व छान्न सकस परेको हो।

शुक्रबारदेखि महेन्द्रनगरमा सुरु भएको अधिवेशन अन्तर्गत शनिबारदेखि बन्द सत्र जारी रहेको छ। तर, आकांक्षीबीच सहमति जुट्न नसक्दा अब नेतृत्व चयन प्रक्रिया चुनावतर्फ मोडिन सक्ने एमाले कञ्चनपुरका एक नेताले बताए।

‘आकांक्षीबीच सहमतिको अन्तिम प्रयास जारी छ। सहमति जुट्ने सम्भावना कम हुँदै गएको देखिन्छ,’ ती नेताले भने, ‘त्यसो भयो भने चुनावबाट नेतृत्व छानिन्छ। आज बन्दसत्र सकेर भोलिदेखि निर्वाचन प्रक्रिया थाल्ने तयारी पनि छ।’

एमाले कञ्चनपुरको अध्यक्षका तीन जना दाबेदार छन्। वर्तमान अध्यक्ष वीरबहादुर थापा (पातल), सचिव तथा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट र वेदकोट नगरपालिका मेयर अशोक चन्दले अध्यक्षमा दाबी गरेका छन्।

उनीहरुमध्ये थापा र विष्ट एक जनाको नाममा सहमतिको प्रयास भइरहेको छ। 

अध्यक्षका आकांक्षी थापा माओवादी पृष्ठभूमिका हुन्। माओवादी र एमालेको तत्कालीन एकीकरणमा अध्यक्ष बनेका थापा पछि एमाले कञ्चनपुरको पनि अध्यक्ष रहेका थिए। 

एमालेको राष्ट्रिय महाधिवेशनबाट थापाले केन्द्रीय तहमा जाने र जिल्ला नेतृत्व हस्तान्तरण गर्ने तयारी गरेका थिए। तर, त्यो बेला उनको व्यवस्थापन हुन नसक्दा थापाले अध्यक्षमा पुनः दोहोरिन चाहेको एमालेका नेताहरु बताउँछन्।

‘नेतृत्वले पातल कमरेडको व्यवस्थापन गर्नु पर्दथ्याे। सम्मानजनक व्यवस्थापन भए जिल्ला नेतृत्व हस्तान्तरण गर्ने भन्नु भएको थियो। तर महाधिवेशनमा त्यो हुन सकेन,’ एक नेताले भने, ‘अहिले उहाँ जिल्ला मै दोहरिन चाहनु भएको छ। त्यसैले मिलाउन गाह्रो परेको हो।’

अहिले थापालाई एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टको साथ छ। माओवादी पृष्ठभूमिका अध्यक्ष थापाको उचित व्यवस्थापन भएको खण्डमा अध्यक्षका लागि बाटो खुल्ने आशामा रहेका सचिव सुरेन्द्र विष्ट पनि अहिले झमेलामा परेका छन्। 

एमाले कञ्चनपुर संगठनभित्र बलियो पकड जमाएका विष्ट अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन्। उनलाई अहिले ओलीकी विश्वासपात्र मानिने कञ्चनपुर इन्चार्ज निरु पालले साथ दिइरहेकी छन्।

‘पातलको माथि (केन्द्रमा) व्यवस्थापन नभएकाले लेखराज कमरेडले अहिलेका लागि जिल्लामै दाेहाेर्याउन चाहेका छन्। उता  निरु कमरेडले पनि सुरेन्द्र विष्ट मेयरसावलाई अध्यक्ष बनाउन खोजेकी छन्,’ एक नेताले भने, ‘त्यसैले उनीहरुको टकरावले नै सहमति जुट्न सकेको छैन।’

अध्यक्षका अर्का आकांक्षी चन्द तत्कालीन नेपाल समूहका हुन्। चुनाव भएको खण्डमा चन्दले पातललाई समर्थन गर्न सक्ने आकलन पनि भइरहेको छ। 

एमाले कञ्चनपुरमा माओवादी पृष्ठभूमिका नेता कार्यकर्ताको उपस्थिती कमजोर छ। त्यसैले थापाले चुनाव लड्ने सम्भावना कम रहेकोले सर्वसम्मतिमै जोडबल भइरहेको नेताहरु बताउँछन्।

थापाले चुनाव नलडे विष्ट र चन्दबीच चुनावी प्रतिस्पर्धा हुने छ।  पातलले अध्यक्षमा चुनाव लड्न तयार भए चन्द सचिवमा चुनाव लड्ने स्रोतको दाबी छ। 

नेकपा एमालेको केन्द्रीय र प्रदेश नेतृत्वले सर्वसम्मतिमा नेतृत्व छान्न तल्लो तहलाई निर्देशन दिएको छ। तर, सुदूरपश्चिममा सहमति नहुँदा अधिकांश ठाउँमा नेतृत्व चयन प्रक्रिया निर्वाचनमा गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .