राजनीति


सेन्जेनमा वर्षमानसँग भेटेर चिनियाँ मन्त्रीले भने– वाम दल एक भएर अघि बढ्नू

ओली रुपान्तरण भएर आए सहकार्य गर्न सकिन्छ : पुन
सेन्जेनमा वर्षमानसँग भेटेर चिनियाँ मन्त्रीले भने– वाम दल एक भएर अघि बढ्नू

नेपालखबर
पुस १३, २०७८ मंगलबार १३:५०, काठमाडौँ

चीनको सेन्जेनमा उपचार गराइरहेका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य, पूर्व अर्थमन्त्री वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता भएको छ। 

स्वास्थ्य उचारका क्रममा चीनको सेनजेनमा रहेका नेता पुनले सोमबार चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री झाओसँग दुई पक्षीय भेटवार्ता गरेका उनको सचिवालयले जनाएको छ। 

चेन चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री हुन्। एक वर्षदेखि यो पदमा रहेका उनी चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग अन्तर्गतका पार्टी सदस्यहरूको सक्रेटरी पनि हुन्।  

उपमन्त्रीसहितको चिनियाँ टोलीसँगको भेटवार्ताका क्रममा पूर्व सभामुख तथा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती पनि सहभागि भएकी थिइन्। ​

काठमाडौँमा माओवादी केन्द्रको ८औँ महाधिवेशन चलिरहेको बेला सेन्जेनमा यो भेटवार्ता भएको हो। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको परामर्शमा चिनियाँ उपमन्त्रीसँग दुई देशबीचको सम्बन्धी, चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको सम्बन्ध विस्तार लगायतका विषयमा विस्तृत छलफल गरेको नेता पुनले बताए। 

‘उहाँहरुले माओवादीको ८औँ ​राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना दिनुभयो, अध्यक्ष प्रचण्डको नेतृत्वमा माओवादी अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै चिनियाँ कम्युष्टि पार्टी र नेकपा माओवादी केन्द्र सबैभन्दा नजिकका मित्र भएकाले आगामी दिनमा यो सम्बन्ध अझ बलियो बनाउने कुरा गर्नुभयो,’ नेता पुनले भने, ‘नेपालको समसामयीक राजनीति, वामपन्थीहरुबीचको सहकार्य र एकता, अगामी चुनावमा हुने तालमेल, तथा वाम घटकहरुका बीचको पार्टी एकताका विषयमा पनि चिनियाँ मन्त्रीले चासो राख्नुभयो।’

चिनियाँ पक्षको जिज्ञासाको जवाफमा नेता पुनले विचार मिल्ने तथा असल क्रान्तिकारी कम्युनिष्टहरुका बीचमा पार्टी एकता गर्ने, त्यो संभव नभए सहकार्य र गठबन्धन गरेर आगामी चुनाव र त्यसभन्दा पछिसम्म जानका लागि माओवादी तयार रहेको बताएका थिए। 

चिनियाँ मन्त्रीसँग ‘विगतमा एमाले अध्यक्ष केपी ओलीको संविधान विरोधी, पार्टीको विधान र सहकार्यको भावना विरोधी गतिविधिका कारण नेकपा एकताले निरन्तरता पाउने नसकेको र अहिले पनि ओलीकै कारण एमालेसँग सहकार्य संभव नभएको’ दाबी गरेका पुनले ‘ओली गुणात्मक रुपमा रुपान्तरण भएर आएमा सहकार्यका लागि छलफल गर्न सकिने’ बताएको उनको सचिवालयले जनाएको छ।  

चिनियाँ पक्षले नेपालका बामदलहरु एक भएर अघि बढुन् भन्ने शुभेच्छा व्यक्त गरेको नेता पुनले जानकारी दिए।

अहिलेको गठबन्धन आगामी चुनावसम्म जाने र त्यसपछि पनि सहकार्य गर्न तयार रहेको बताएका नेता पुनले चिनियाँ पक्षको एमसीसी परियोजनाबारेको जिज्ञासाको समेत जवाफ दिएका थिए।

एमसीसीबारे नेपालमा बहस चलिरहेको र गठबन्धनले समेत अध्ययनका लागि कार्यदल बनाएको प्रशंग उल्लेख गर्दै नेता पुनले कार्यदलको रिपोर्ट आएपछि राष्ट्रिय हित अनुकुल हुनेगरि मित्र राष्ट्रहरुको सहयोग स्वीकार गर्ने नेपालको नीति अनुरुप सरकार र गठबन्धन अघि बढ्ने बताएका थिए।

बैंककमा अपेक्षित सुधार नभएपछि थप उपचारका लागि चीन पुगेका नेता पुनको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि उनी द्धिपक्षीय भेटवार्तामा जुटेका हुन्। 

बंगाणुगत तथा विश्वमा विरलै देखिने जण्डिस रोगका कारण झण्डै ३ महिनादेखि उपचार गराईरहेका पुन माओवादीको आठौं राष्ट्रिय महाधिवेशन जारी रहँदा चीनमा उपचाररत छन्। उपचारका लागि केही परिक्षण थाती राखेर अधिवेशन उद्घाटन अघि नै नेपाल आउन चाहेका उनी  अध्यक्ष प्रचण्डसँगको परामर्शमा चिनियाँ नेतासँगको भेटवार्ताको समयसमेत तय भएकाले अनुपस्थित भएका थिए।

पुन अध्यक्ष प्रचण्डसँग दैनिक सम्पर्कमा रहेको र महाधिवेशन प्रतिनिधि र अन्य नेताहरुसँग पनि छलफल गरिरहेको सचिवालयले जनाएको छ।

चिकित्सकको सल्लाहपछि अब छिट्टै नेपाल फर्कने उनले जानकारी दिएका छन्। 

जण्डिस दोहोरिएपछि पुन असोज १३ गते बैंकक तर्फ लागेका थिए। उनको मंसिर १० गते यता चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेनमा उपचार भईरहेको छ। 

नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र यस अघि ग्राण्डी अस्पतालमा परिक्षण गराएका पुनको भारतको एपोलो अस्पतालमा पनि उपचार गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad