नेपाली कांग्रेस प्रदेश २ को नेतृत्वक चयनका लागि आज (बुधबार) दिउँसो १ बजे चुनाव हुने भएको छ।
यसअघि बिहान आठै बजेदेखि मतदान गर्ने भनिएको थियो। तर उम्मेदवारी दर्तामा समय बढी लागेकाले तोकिएभन्दा मतदान सुरुवातको समय ५ घण्टा पर सारिएको कांग्रेस निर्वाचन अधिकृत प्रह्लाद गौतमका जानकारी दिए।
प्रदेश २ मा आफ्नो नयाँ कार्यसमिति चयन गर्न कांग्रेसले जनकपुरको गोपाल धर्मशालामा मंगलबार निर्वाचन प्रक्रिया थालेको हो।
प्रथम अधिवेशनअन्तर्गत आयोजित चु्नावी कार्यक्रममा हिजो मंगलबार उम्मेदवारी दर्ता गरिएको छ। मंगलबार दिउँसो १ः३० बजे सुरु भएको मनोनयन दर्ता राति ८ बजेसम्म चलेको थियो। जम्मा ७४ पदका लागि १८० जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत गौतमले जानकारी दिए।
उम्मेदवारी फिर्ता तथा दाबी–विरोधका लागि आज बिहान ७ः३० बजेसम्मको समय तोकिएको थियो।
अब उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारीमा रहेको गौतमले जानकारी दिए।
प्रदेश २ मा कांग्रेस सभापति बन्न रामसरोज यादव र रामकृष्ण यादव प्यानलसहित चुनावी मैदानमा छन्।
रामकृष्ण संस्थापन अर्थात् सभापति देउवा पक्षका हुन् भने र रामसरोज विमलेन्द्र निधि पक्षका।
रामसरोज प्रदेश २ कांग्रेसका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री हुन् भने रामकृष्ण यादव भने पार्टीको रौतहट जिल्ला सभापति।
रामसरोजलाई निधिसहित शेखर कोइराला र रामचन्द्र पौडेलको साथ छ। कृष्ण यादवलाई भने देउवा पक्षको मात्र साथ छ।
कृष्ण यादवको प्यानलबाट उपसभापतिमा प्रदेश २ का महिला तथा बालबालिका मन्त्री वीरेन्द्र सिंह (सर्लाही) र बाराका चन्द्रशेखर यादवले उम्मेदवारी दिएका छन् भने महामन्त्रीमा सिरहाका उपेन्द्र यादव र पर्साका वृहस्पतिकुमार श्रेष्ठ छन्।
यस्तै सहमहामन्त्रीमा बाराका जयनारायण यादव, सप्तरीका परशुराम चौधरी र सप्तरीकै रीता यादवले उम्मेदवारी दिएका छन्।
यस्तै रामसरोजको प्यानलबाट उपसभापतिमा रौतहटका धनलाल ठोकर र सर्लाहीका विनोद खनाल छन् भने महामन्त्रीमा सिरहाका नरेश यादव र सर्लाहीका हरेश महतोले उम्मेदवारी दिएका छन्।
यस्तै सहमहामन्त्रीमा पर्साका अरविन्द अमात्य, महोत्तरीको बलवा नगरपालिकाका नगरप्रमुख विनोद यादव र बाराकी निर्मला सुवेदी समेत रामसरोजको प्यानलबाट उम्मेदवारी दिएका छन्।
Shares
प्रतिक्रिया