ad ad

राजनीति


दुई पटक हारेकी मुक्ताकुमारी कांग्रेसको ‘म्यान अफ दी इलेक्सन’

दुई पटक हारेकी मुक्ताकुमारी कांग्रेसको ‘म्यान अफ दी इलेक्सन’

उजिर कार्की
पुस ६, २०७८ मंगलबार १७:३०, काठमाडौँ

नेपाली कांग्रेसकी नेतृ मुक्ताकुमारी यादव १४ औं महाधिवेशनमा ‘म्यान अफ दी इलेक्सन’ भएकी छन्। 

१२ औं र १३ औं महाधिवेशनमा लगातार पराजित यादवले मंगलबार सम्पन्न मधेसी महिलातर्फको केन्द्रीय सदस्यमा सबैभन्दा बढी ३ हजार ९ सय ६० मतसहित निर्वाचित भएकी हुन्। 

१२ औं र १३ औं महाधिवेशनमा पनि उनले मधेसी महिलातर्फकै कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी थिइन्। तर दुवै पटक केन्द्रीय सदस्य बन्ने उनको सपना पूरा भएन। 

‘१२ औं र १३ औंमा पनि केन्द्रीय सदस्यमा निर्वाचन लडेकी थिएँ। तर जितनजिक पुगेर पनि सफल हुन सकेकी थिइँन। यसपटक सफल भएँ’, निर्वाचित भएपछि उनले नेपालखबरसँग भनिन्। 

१४ औं महाधिवेशनमा डा. शेखर कोइराला र सभापति शेरबहादुर देउवा दुवै प्यानलमा उनलाई राखिएको थियो। 

चारजना विजयी हुने यो समूहमा पाँच जनाबीच प्रतिस्पर्धा हुँदा उनैले सबैभन्दा लोकप्रिय मत पाइन्। 

चारजना निर्वाचित हुने मधेशी महिलातर्फ मुक्तासँगै मिनाक्षी झा ३ हजार १२, मन्जुकुमारी यादव २ हजार ८ सय ८३ र नागिना यादव २ हजार ८ सय ४६ मत ल्याउँदै निर्वाचित भएका छन्। 

धनुषा क्षेत्र नम्बर २ की मुक्ता २०७० सालको निर्वाचनपछि समानुपातिक सभासद बनिन्। २०७४ सालमा उनी राष्ट्रिय सभामा निर्वाचित भइन्। संसदीय राजनीतिमा अवसर पाए पनि पार्टीभित्र सधैँ पराजित भइन्। 

यसपटक केन्द्रीय समितिमा पुग्ने उनको धोको मात्रै पूरा भएको छैन, लोकप्रिय मतको ‘रेकर्ड’ नै कायम गरिन्।

मधेशी महिलातर्फको मतपरिणाम आएसँगै डा. शशांक कोइरालाको सर्वाधिक मतको ‘रेकर्ड ब्रेक’ भएको छ। 

कोइरालाले ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा ३ हजार ८ सय ३६ मत पाएका छन्। उनले भन्दा मुक्ताले एकसय बढी मत पाएकी हुन्। 

डा. शशांकलाई जस्तै मुक्तालाई पनि दुवै प्यानलको साथ थियो। शशांकले खुला केन्द्रीय सदस्यमा सर्वाधिक मत पाउँदा देउवा प्यानलकै एनपी साउदले दोश्रो लोकप्रिय मत ल्याएका छन्। उनले शशांकले भन्दा ८९९ मत कम पाए। 

साउदले ३ हजार ९ सय ३९ मत पाएको निर्वाचन समितिले जानकारी दिएको छ। शशांकले सुरुमा सभापतिमा दाबी गरेका थिए। 

तर देउवा इतर समूहमा उम्मेदवारबीच सहमति नहुँदा उनी पछि हटेका थिए। त्यसपछि शेखर कोइरालाको प्यानलमा पनि नखुलेका शशांकलाई देउवा, शेखर र प्रकाशमान सिंहले पनि आफ्नो प्यानलमा राखेका थिए।  

१४ औं महाधिवेशनमा सबैभन्दा बढी मतान्तरसहित महामन्त्री गगनकुमार थापा निर्वाचित भएका छन्। थापाले ३ हजार २३ मत ल्याउँदा प्रतिस्पर्धीसँग एक हजार ३९ मतान्तर छ। यो अरु कुनै पनि पदका उम्मेदवारको भन्दा बढी मतान्तर हो। 

थापा १३ औं महाधिवेशनमा उनी महामन्त्री पदमै पराजित भएका थिए। तर पछि उनलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो। यही महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित अर्का उम्मेदवार विश्वप्रकाश शर्माले १ हजार ९ सय ८४ मत पाएका छन्।

कांग्रेसको निर्वाचन भएको ११ दिनसम्म पनि सबै सदस्यको मत परिणाम आइसकेको छैन। 

अझै पनि विभिन्न क्लस्टर तर्फका केन्द्रीय सदस्यको मतपरिणाम आउन बाँकी छ। बुधबार सम्ममा सबै मतपरिणाम सार्वजनिक गरिसक्ने निर्वाचन समितिका सचिव जगनाथ श्रेष्ठले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .