ad ad

राजनीति


पहिलो चरणमा जित्न देउवालाई रोके निधिले

पहिलो चरणमा जित्न देउवालाई रोके निधिले

नेपालखबर
मंसिर २८, २०७८ मंगलबार १०:४५, काठमाडौँ

कांग्रेस सभापतिका लागि पहिलो चरणमा भएको निर्वाचनमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाको हारका लागि आफ्नै समूहबाट विद्रोह गरेका नेताहरुको उम्मेदवारी निर्णायक हुन पुगेको छ । 

लामो समय देउवासँग निकट रहेका नेता विमलेन्द्र निधिले सभापतिको प्रतिस्पर्धामा जति मत प्राप्त गरेका छन्, त्यो मत प्राप्त गरेका भए देउवा सहजै पहिलो चरणको निर्वाचनबाटै सभापतिमा विजयी हुने थिए ।

पहिलो चरणको निर्वाचनमा देउवाले २ हजार २५८ मत प्राप्त गर्दा निधिले २ सय ४९ मत प्राप्त गरेका छन् । उता, सभापतिमा निर्वाचित हुन देउवालाई ८२ मत मात्र अपुग देखिएको छ । यस्तो स्थितिमा निधिले प्राप्त गरेको मत देउवाका लागि पर्याप्त हुने थियो ।

अर्काेतर्फ देउवाका निकटतम प्रतिद्वन्द्वी डा. कोइरालाले १ हजार ७२९ मत प्राप्त गर्दा संस्थापन समूहबाटै विद्रोह गरेका सिंहले ३७१ मत प्राप्त गरेका छन् । यस हिसाबले डा. कोइरालालाई सभापति निर्वाचित हुन ६११ मत अपुग देखिएको छ । 

सिंहले प्राप्त गरेको मत जोड्दा पनि पहिलो चरणको निर्वाचनमा डा. कोइरालाको विजयका लागि पर्याप्त हुने देखिँदैन।

सोमबार (२७ मंसिर) मा भएको पहिलो चरणको निर्वाचनमा ४ हजार ६८१ मत खसेका थिए । कांग्रेसको विधानअनुसार सभापतिमा विजयका लागि खसेको कूल मतमध्ये ५० प्रतिशत मत हासिल गर्नुपर्ने बाध्यात्मक प्रावधान छ । 

तर, संस्थापन पक्षमा रहेका निधिको उम्मेदवारीका कारण देउवाले पहिलो चरणमा ५० प्रतिशत मत प्राप्त गर्न सकेनन् । संस्थापन इतर समूहबाट पनि सिंहको उम्मेदवारीका कारण डा. कोइराला देउवा भन्दा ५२९ मतले पछि परे । 

लामो समयसम्म देउवा निकट रहेका निधिले आफूलाई १३ औँ महाधिवेशनमै १४ औ महाधिवेशनको सभापति जिताउने सहमति गरेको बताउँदै आएका थिए ।

देउवाले सो सहमति स्वीकार नगरेपछि निधिले सभापतिमा उम्मेदवारी दिए । देउवाले निधिको शक्ति बुझ्न नसक्दा पहिलो चरणमा विजय हासिल गर्ने अवसरबाट चुके । प्रधानमन्त्री भएका बेला पहिलो चरणमा ५० प्रतिशत मत प्राप्त गर्न नसक्नु देउवाका लागि चुनौति हो । 

१३ औँ महाधिवेशनको पहिलो चरणको निर्वाचनमा देउवालाई विजयका लागि ११ मतमात्र अपुग भएको थियो । तर,  निधिको उम्मेदवारीका कारण अहिले ८२ मत अपुग हुन पुग्यो । 

डा. कोइराला भन्दा ५ सय बढी मत प्राप्त गरेकाले दोस्रो चरणमा निर्वाचित हुन देउवालाई सहज त छ । तर, पहिलो चरणको निर्वाचनअघि नै निधिले देउवाका प्रतिद्वन्द्वीलाई समर्थन गर्ने बताएकाले देउवामाथिको चुनौती कायमै छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .