मंसिर १४ मा हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ ‘क’ मा सत्तारुढ नेकपाले देवीप्रसाद (डीपी) ढकाललाई टिकट दिएपछि जिल्लाका नेता तथा कार्यकर्ता असन्तुष्ट बनेका छन्।
प्रदेशसभा सांसदको उम्मेदवारका लागि प्रदेश कमिटीले रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ, नारायणी फुयाँल र देवीप्रसाद ढकाल (डीपी)को नाम सिफारिस गरेको थियो। जिल्ला कमिटीले फुयाँलबाहेक अन्यको नाम सिफारिस गरेको थियो। श्रेष्ठ र बुढाथोकीमध्ये एकले टिकट पाउने अपेक्षा धेरैले गरेका थिए।
तर, आइतबार बसेको नेकपा सचिवालय बैठकले पूर्वमाओवादी केन्द्रका नेता ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेपछि भक्तपुरका सांसददेखि जिल्ला नेतासमेत आक्रोशित भएका हुन्। श्रेष्ठ र बुढाथोकी दुवै पूर्वएमाले हुन्।
जिल्ला अध्यक्ष वचन देउजासहित सांसद महेश बस्नेत, सोम मिश्र लगायतले नेकपा अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल र नेता वामदेव गौतमलाई भेटेर निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।
‘डिपीजीको बारेमा हाम्रो कुनै कमेन्ट छैन। तर, उहाँ स्थानीय तहमा घुलमिल हुनुभएको छैन, त्यो क्षेत्रमा कार्यकर्ताको मतले मात्रै चुनाव जितिँदैन, केही तटस्थ मत ल्याउन नसक्ने हो भने जित्न गाह्रो हुन्छ भनेर गुनासो सुनायौं,’ नेकपा केन्द्रीय सदस्य तथा चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रले नेपालखबरसँग भने। तर नेताहरुले पार्टीको निर्णयलाई स्वीकार गरेर जानु पर्नेमा जोड दिएका थिए।
असन्तुष्ट पक्षले सोमबार बिहान जिल्ला पार्टी कार्यालय भक्तपुरमा तालाबन्दी नै गरिदिएका थिए।
दुई वर्षअघिको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा माओवादी केन्द्रको भागमा परेको सो क्षेत्रमा ढकाल उम्मेदवार बन्ने चर्चा भएपछि एमाले पक्ष असन्तुष्ट बनेको थियो। पछि सो क्षेत्रबाट एमालेको भाग पारियो र एमालेका तत्कालीन जिल्ला कमिटी उपाध्यक्ष हरिशरण लामिछाने उम्मेदवार बने। तर, ढकालले लामिछानेलाई सघाएनन् । उनले उम्मेदवारी फिर्ता लिएनन्। ढकालले गोलाकारभित्रको हसियाँ हथौडा चिन्हमा करिब ७ सय मत प्राप्त गरे।
सांसद लामिछानेको हृदयघातबाट मृत्यु भएपछि उक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो। मंसिर १४ गतेलाई तोकिएको उपनिर्वाचनमा फेरि ढकाललाई उम्मेदवार बनाउने निर्णय भएपछि पार्टीको जिल्ला नेतृत्व असन्तुष्ट बनेको हो। साेही असन्तुष्टि अहिले ढकालमाथि पाेखिँदा उनी अप्ठ्याराेमा परेका छन्।
ढकालले भने असन्तुष्टि व्यक्त गर्ने नेता तथा कार्यकर्ताहरुसँग छलफल गरेर यो विषय टुंग्याइसकेको दाबी गरे।
‘असन्तुष्ट हुनु भएको साथीहरुसँग पनि मेरो कुराकानी भइसक्यो। भोलिसम्म हामी सबै विषयलाई टुंग्याएर चुनावी अभियानलाई तीव्र बनाउँछौं,’ ढकालले नेपालखबरसँग भने, ‘यो क्षेत्रमा हामी कमजोर छैनौँ। सबै नेता तथा कार्यकर्ताहरु एकजुट भएर लाग्ने हो भने चुनाव सहज रुपमा जित्न सकिन्छ भन्ने विश्वास छ।’
तर उनका विपक्षीहरु ढकाललाई स्वीकार्ने पक्षमा छैनन्। किन त? ‘लामो समय राजनीति गरे पनि न त राजनीतिक रुपमा उनलाई कसैले चिन्छ, न त उनमा सांगठनिक क्षमतै छ,’ भक्तपुरका एक नेताले भने।
अर्काे कारण, २०७४ को प्रदेशसभा निर्वाचनमा उनले गठबन्धनका उम्मेदवार लामिछानेलाई सहयोग नगरेको इख पूर्व एमाले खेमाका नेता कार्यकर्ताले भुल्न सकेका छैनन्।
अध्ययनशील नेताको रुपमा चिनिएका ढकाल अहिले प्रदेश ३ सचिवालयका सदस्य तथा भक्तपुर जिल्ला सचिव छन्। यो पटक भने पार्टीको सहयोग पाएर विजयी हुनेमा उनी आशावादी छन्।

प्रतिक्रिया