कला


‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि प्रदर्शन हुँदै

‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि प्रदर्शन हुँदै

नेपालखबर
कात्तिक १९, २०७६ मंगलबार ९:१२,

साहित्यकार झमककुमारी घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शन हुँदैछ। उक्त कृतिमा आधारित रही चलचित्रमा निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेटेकी छन्।

विष्ट ब्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा÷संवाद तथा घिमिरे र प्रकाश सिवाकोटीका गीत छन् जसमा जुनु गौतमको स्वर छ। गौतम चलचित्रको सहनिर्मातासमेत हुन्। चलचित्रको प्रिमियर सो अष्ट्रेलियाको भियनामा गरिसकिएको छ।

साहित्यकार घिमिरेले अपाङ्गता भएकै कारण बाल्यकालमा भोग्नुपरेको सामाजिक, पारिवारिक घृणा र तिरस्कारको विषय चलचित्रमा प्रस्तुत गरिएको छ । घिमिरेको जन्मस्थान धनकुटा, धरानको बिपी मेमोरियल अस्पताल र काठमाडौँको रातो बङ्गलामा चलचित्र छायाङ्कन गरिएको छ । शिशुदेखि ज्येष्ठ नागरिकसम्मले मन पराउने अपेक्षा गरिएको चलचित्रले घिमिरेको सङ्घर्षले धेरै मानिसलाई प्रेरणा दिने उद्देश्य राखेको निर्देशक विष्टले बताए।

चलचित्रमा घिमिरेको बाल्यकालको भूमिकामा अवस्था थापा, युवावस्थामा रोजिता बुद्धाचार्य र बहिनीको भूमिकामा सारिका घिमिरे, पिताका भूमिकामा किशन सुनार र मातामा उमा गिरी छन्। अन्य कलाकारमा स्वीकृति शर्मा, टीका सुवेदीलगायत ३० भन्दा बढी छन्। यसअघि निर्देशक विष्टले ‘प्रेम प्रतीक्षा’, ‘रणसङ्ग्राम’ र ‘म कसरी भनूँ’ जस्ता चलचित्र निर्माण÷निर्देशन गरेका छन्।

शारीरिक तथा मानसिकरूपमा अशक्त मानिसले पनि सामाजिक विकासमा योगदान गर्न सक्छन् र उनीहरूलाई समाजले अवहेलना गर्नुहुँदैन भन्ने सन्देश दिनका लागि चलचित्रले दर्शकलाई प्रभाव पार्ने विश्वास गरिएको छ। शारीरिकरूपमा असामान्य मानिसको घरका सदस्यलाई पर्ने असजिला पक्ष तथा ती सदस्यले राम्रो गर्दागर्दै पनि पीडितलाई हुन जाने मनोविज्ञान व्यावहारिकरूपमा समेटिएको चलचित्रको लागत करीब रु ८० लाख छ।

विसं २०३७ असार २१ धनकुटाको कचिंडेमा बुबा कृष्णबहादुर र आमा आशादेवीकी छोरीका रूपमा जन्मिएकी घिमिरेले रचना गरेका कृतिमा ‘सङ्कल्प’, ‘आफ्नै चिता अग्निशिखातिर’, ‘मान्छेभित्रका योद्धाहरू’, ‘झमक घिमिरेका कविताहरू’ र ‘क्वाँटी’ कवितासङ्ग्रह छन्। उनले प्राप्त गरेका पुरस्कारमा राम बाल साहित्य प्रतिभा पुरस्कार २०५५, अस्वीकृत विचार साहित्य पुरस्कार २०५६, मदन पुरस्कार २०६७ र लैनसिंह वाङ्देल पुरस्कार २०७२ छन्।

मस्तिष्क पक्षाघातले गर्दा हातगोडा लुला भएका उनले कुनै पाठशाला र गुरुबाट औपचारिक शिक्षा लिएकी छैनन् र गोडाको बूढीऔँलाले कखरा सिक्दै प्राप्त गरेको सफलता सबैका लागि प्रेरणादायी बनेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad